शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउन पछिको कार्ययोजना बनाउन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन

शुक्रबार, २१ चैत २०७६, २२ : ११
शुक्रबार, २१ चैत २०७६

एजेन्सी । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन पछिको लागि कार्ययोजना बनाउन सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । यहि अप्रिल १४ तारिखसम्म तोकिएको लकडाउन नलम्बिएमा १५ तारिखदेखि गर्ने कामको बारेमा योजना बनाउन उनले शुक्रवार निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री योगीले ‘चुनौतीपूर्ण अवस्था’ को सामना गर्न विषेश योजनाको आवश्यकता रहेकोमा जोड दिएका छन् । आफ्नो सरकारी निवासमा आयोजित ‘टिम ११’ को बैठकमा उनले अप्रिल १५ मा लकडाउन खुलेमा त्यसपछिको अवस्था निकै चुनौतीपूर्ण हुने बताए । 

त्यतिबेला सामाजिक दुरी कायम गर्दै अन्य कामहरु गर्न कठिन हुने उनको भनाइ छ । ‘त्यसैले विद्यालय, कलेज, बजार, मललगायत खुलेको अवस्थामा कसरी काम गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा विषेश कार्ययोजना बनाउनुहोस्,’ उनले भने ।

मुख्यमन्त्री योगीले अत्यावश्यक खाद्यपदार्थ र सबै प्रकारको सहयोग नागरिकलाई सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिए । त्यसका लागि गैरसरकारी संस्थाहरूको सहयोग लिनु उपयुक्त हुने उनको भनाइ छ ।  उनले भावी कार्ययोजना र रणनीति तत्कालका लागि र भविष्यका लागि गरेर दुई प्रकारको बनाउनु पर्नेमा जोड दिए । उनले हरेक जिल्लामा सामुहिक भोज सन्चालन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री मोदीले घोषणा गरेको २१ दिने देशव्यापी लकडाउन यही अप्रिल १४ सम्म कायम रहने छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन गत मार्च २४ देखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो । 

भारतमा कारोना भाइरसका कारण शुक्रवारसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३०१ पुगेको छ भने ५६ जनाको मृत्यु भएको छ । सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या पछिल्ला दिनमा झन् बढदै गएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङकले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप