बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – अमेरिकी नेता मार्टिन लुथर किङमाथि गोली प्रहार

शनिबार, २२ चैत २०७६, १० : २६
शनिबार, २२ चैत २०७६

आज ४ अप्रिल , १९६८ मा अमेरिकाका लोकप्रिय नेता मार्टिन लुथर किङ जुनियरको टेनिस्से राज्य, मेम्फिसस्थित एक होटलमा गोली हानी हत्या भएको थियो । १५ जनवरी १९२९ मा जन्मिएका मार्टिन लुथर आफ्नो हत्या हुनअघिसम्म समानताको पक्षमा आन्दोलन गरिरहेका थिए । अमेरिकामा अश्वेत जातिलाई अधिकार दिलाउन अहिंसात्मक आन्दोलनमार्फत उनले गरेको योगदान अतुलनीय छ ।

प्रत्यक्षदर्शीका अनुसार लोराईन होटलको दोस्रो तल्लामा बसिरहेका मार्टिन लुथरमाथि गोली प्रहार गरेलगत्तै अभियुक्त सडकमा हाम्फालेर नजिकैको गेस्टहाउसतर्फ लागेका थिए । घटनास्थल नजिकै भेटिएको राईफल र बाइनोकुलरमा देखिएको फिंगरप्रिन्टका आधारमा दुई महिनापछि लण्डनबाट एक व्यक्ति पक्राउ परे ।

जेम्स अर्ल रे नामका यी व्यक्ति पहिले पनि धेरै पटक आपराधिक घटनामा मुछिएको खुल्यो । यद्यपी, मार्टिन लुथर किङको हत्या सुनियोजित थियो र रे यसमा बलीको बोको बने भन्ने तर्क पनि छ । मार्टिनका छोरा मार्टिन लुथर किङ तेस्रोले नै यसबारे प्रश्न उठाएका छन् । ‘कसैले गोली हानेर हत्या गरेपछि , बन्दूक छाडेर हिँड्छ ? त्यो हतियार हत्यामा प्रयोग भएको हतियार नै होइन,’ उनले भनेका थिए ।

रेले सुरुमा अपराध स्वीकारे पनि पछि अस्वीकार गरे । राउल नामक व्यक्तिले आफुलाई बन्दुक किनिदिएको र कहिले यता त कहिले उता गएर कोठामा बस्न निर्देशन दिने गरेको उनले बयानका क्रममा बताएका थिए ।

रेका अनुसार, यही क्रममा राइफल बोकेर गेस्ट हाउसमा बस्न राउलले नै निर्देशन दिएका थिए । मार्टिन लुथर किङको हत्या हुनभन्दा केही घण्टाअघि गेस्ट हाउसमा राउललाई नै बन्दुक छाडेर आफु हिंडेको उनले बताएका थिए ।  तर, यो उनको एकमात्रै बयान थिएन । हत्यामा संलग्नता पुष्टि भएर तत्काल फैसला आउँदा उनीमाथि फाँसी पनि हुनसक्थ्यो, त्यसैले उनले बयान फेरिरहे । हत्याको मुख्य नाइके अरु नै रहेको र आफु राउल नामका व्यक्तिमार्फत नै प्रलोभनमा परेर फसेको उनको दाबी थियो । तर, राउल को हुन् भन्ने विषय न उनले स्पष्ट बताउन सके, न प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो ।

१९९३ मा लोराईन होटल नजिकको रेस्टुरेन्टका सञ्चालकलोयड जोवर्सले पनि हत्या सुनियोजित रहेको दाबी गरेका थिए । उनले हत्यामा संलग्न धेरैमध्ये आफु पनि एक रहेको दाबी गरे । माफिया र तत्कालीन सरकार नै घटनामा संलग्न रहेको उनको आरोप थियो । मेम्फिसका पुलिस अधिकारीइर्ल क्लार्कले गोली हानेको रयोजनामुताबिक नै रेलाई फसकाइएको उनले दाबी गरे । यी सबै घटनाक्रमका बाबजुद हत्या आरोपबाट रे उम्कन सकेनन् । उनले एकपटक जेल पनि तोडेर भाग्ने कोसिस पनि गरेका थिए, जुन असफल भयो । त्यसपछि जेल सजाय (सुरुमा ९९ वर्ष) एक वर्ष बढाएर १ सय वर्ष पु¥याइयो । १९९८ मा ७० वर्षको उमेरमा जेलमै उनको मृत्यु  भयो ।

अन्य महत्वपूर्ण घटनाक्रम

– १४६० मा स्विजरल्यान्डमा बसेल विश्वविद्यालय स्थापना ।

– १९०५ मा पञ्जाव प्रान्तको (अहिले हिमाञ्चल प्रदेश) काँगडामा ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प आउँदा १ लाख घरमा क्षती, २० हजारभन्दा धेरैको मृत्यु ।

– विश्वव्यापी विरोधका बाबजुद १९७९ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई आजैका दिन जनरल जिया उल हक नेतृत्वको सरकारले फाँसी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप