मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी शान्त, घरभित्र हिंसाः लकडाउनले अचानक बढायो संसारभरी महिला हिंसा

शनिबार, २२ चैत २०७६, १० : ४३
शनिबार, २२ चैत २०७६

कुनै व्यक्तिका लागि सबैभन्दा सुरक्षित उसको घर हुन्छ । यो कुरा कोरोनाको संकटकालमा त झन् अझै फिट हुन्छ । तर बाहिर कोरोनाको खतरा छ र तपाईं घरभित्र पनि सुरक्षित हुनुहुन्नँ भने तपाईं कहाँ जाने ? लकडाउनका बीच घरभित्र वास्तवमै के भइरहेको छ सायद तपाईंलाई थाहा नहोला ।

अहिले संसारका थुप्रै देश लकडाउन गरिएका छन् । हालसम्म संसारभरीका १० लाख बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ५९ हजार बढीको मृत्यु भइसकेको छ । अचम्मको कुरा के हो भने यो महामारीद्वारा संक्रमित व्यक्तिको आँकडा साढे दुई लाख पुग्न ८० दिन लागेको थियो तर पछिल्लो १३ दिनमा साढे सात लाख व्यक्ति कोरोना भाइरसद्वारा संक्रमित भइसकेका छन् ।

नेपालमा आज लकडाउनको १३ औं दिन हो । कतिका लागि यो लकडाउनको समय वरदान साबित भएको होला त कतिका लागि अभिषाप पनि बनेको होला । तर बिडम्बना नै भन्नुपर्छ लकडाउनको क्रममा घरेलु हिंसाको घटना तीब्र रुपमा बढिरहेको छ । र संसारभरी यस्तै भइरहेको छ ।

यतिबेला संसारभरीका करिब ३ सय करोड जनता लकडाउनका छन् अर्थात् आफ्नो घरभित्र बन्द छन् । यो आफ्नो परिवारसँग समय बिताउने राम्रो मौका हो । एकअर्कालाई राम्रो तरिकाले बुझ्ने समय पनि हो यो । एक–अर्कालाई प्रेमको आभाष दिलाउने मौका पनि हो तर घरभित्र बन्द भएका मानिसहरु एक–अर्कासँग झगडा गरिरहेका छन् र अहंकारको लडाईं हिंसामा परिवर्तन भइरहेको छ ।

लकडाउनका कारण करोडौं मानिस घरमा बन्द छन्, सडकमा गाडी गुडिरहेका छैनन्, कलकारखाना पनि बन्द छन् । यो शान्तिका कारण पृथ्वीको सतहमा ध्वनी कम्पन कम महसुस भइरहेको छ ।

तर पृथ्वीलाई शान्त बनाउने मानिसको मनमा हिंसाको भाव पैदा भएको छ र यसले मानिसहरुको मन र शरीर दुबैलाई घाइते बनाइरहेका छन् । यद्यपि, लकडाउनको क्रममा सोसल मिडियामा तपाईंले श्रीमान्–श्रीमती मिलेर भान्छाको काम गरेको, श्रीमान्ले घरको सर–सफाई गरिरहेको, परिवारका सबै सदस्य खुसी भएर एकसाथ समय बिताइरहेको तस्बिर देख्नुभएको होला तर हिंसाको तस्बिर सार्वजनिक हुँदैनन् । यसमा मानसिक र शारीरिक दुबै प्रकारको हिंसा समावेश छन् ।

संसारभरी घरेलु हिंसाको घटना तीब्र रुपमा बढिरहेको छ । यसमा भारत पनि समावेश छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लकडाउनको क्रममा महिला हिंसाको ऊजुरीमा दोब्बरको वृद्धि भएको छ । राष्ट्रिय महिला आयोगमा मार्चको पहिलो हप्तामा जम्मा १ सय ११ ऊजुरी परेको थियो जुन मार्चको अन्तिम हप्तासम्म आइपुग्दा २ सय ५७ पुग्यो । यतिबेला पुलिसले पनि आफ्नो पूरा संयन्त्र लकडाउन पालना गर्नका लागि लगाएका कारण घरेलु हिंसाको मुद्दामा खासै ध्यान दिन सकेको छैन । यी त रिपोर्ट गरिएका घटना भए, यस्ता हज्जारौं महिला होलान् जसले आफूमाथि भइरहेको घरेलु हिंसा चुपचाप सहेर बसिरहेका छन् ।

यस्तै घरेलु हिंसाका घटना फ्रान्समा पनि बढिरहेको छ । फ्रान्स १७ मार्चदेखि लकडाउनमा छ । यहाँ पछिल्लो एक हप्तामा घरेलु हिंसाका घटनामा ३२ प्रतिशतको वृद्धि भएको छ । राजधानी पेरिसमा घरेलु हिंसामा ३६ प्रतिशतको वृद्धि भएको छ ।

साथै, स्पेन १४ मार्चदेखि लकडाउनका छ । त्यहाँ घरेलु हिंसाबारे जानकारी दिन सरकारी हेल्पलाइन नम्बरमा अचानक फोनको घन्टी बज्न थालेका छन् । लकडाउनको पहिलो दुई हप्तामा १२ प्रतिशत बढी फोन आयो । हेल्पलाइनको वेबसाइटमा अनलाइन कन्सल्टेशनमा २७० प्रतिशतको वृद्धि भएको छ ।

इटलीका अधिकारकर्मीका अनुसार त्यहाँको हेल्पलाइन नम्बरमा इमर्जेन्सी फोन त कम आइरहेको छ तर उनीहरुले डर र बेचैनीले भरिएको टेक्स्ट मेसेज र इमेल पाइरहेका छन् । महिला घरबाट फोनमा कुरा गर्न डराउने भएकोले मेसेज र इमेल पठाइरहेको उनीहरुले बताएका छन् ।

कोरोना भाइरसको पहिलो केन्द्र चीनको हुबेई प्रान्तमा लकडाउनको क्रममा घरेलु हिंसाको घटना पछिल्लो वर्षको तुलनामा ४७ बाट बढेर १६२ पुगेको छ ।

अमेरिकाको राष्ट्रिय घरेलु हिंसा हटलाइनमा दैनिक २ हजार फोन आइरहेका छन् । यीमध्ये करिब ९ सय ५० वटा कलमा कोरोना भाइरसका कारण आफू घरेलु हिंसामा परेको जानकारी दिइएको छ । अमेरिकाको सिएटलमा घरेलु हिंसामा २१ प्रतिशत वृद्धि भएको छ ।

ब्राजिलमा महिला अधिकार कार्यकर्ताले पछिल्लो एक महिनामा घरेलु हिंसाको मामलामा ४० बाट ५० प्रतिशतको वृद्धि भएको जानकारी दिएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले लकडाउनका बेला सहयोगको माग गर्दै गुगल सर्चमा ७५ प्रतिशतको वृद्धि भएको जानकारी दिए । क्याटालोनियामा लकडाउनको केही दिनमै महिला हेल्पलाइन नम्बरमा इमर्जेन्सी कलमा २० प्रतिशतको वृद्धि भएको छ । यस्तै, साइप्रसमा कोरोनाको पहिलो संक्रमण भेटिएको एक हप्तामा नै महिला हेल्पलाइन नम्बरमा इमर्जेन्सी कलमा ३० प्रतिशतको वृद्धि भएको छ ।

घरेलु हिंसा सामना गर्नेहरुका लागि केही देशहरुले केही उपायसमेत अवलम्बन गरेका छन् ।

फ्रान्समा घरेलु हिंसा पीडित होटलमा बसेको खर्च सरकारले उठाउनेछ । फ्रान्समा मेडिकल स्टोर्स र सुपरमार्केट्समार्फत् घरेलु हिंसा पीडितका लागि एक इमर्जेन्सी वार्निङ सुरु गर्ने योजना छ ।

यो तरिका सबैभन्दा पहिले स्पेनमा लागू गरिएको थियो । यहाँ यदि हुनै महिलाले घरेलु हिंसाबारे जानकारी दिनुपरे उनले नजिकैको मेडिकल स्टोरमा गएर मास्क–१९ कोडवर्ड भन्नुपर्छ, त्यसपछि उक्त मेडिकल स्टोरबाट तुरुन्त सिस्टमलाई अलर्ट गरिन्छ ।

जर्मनीमा घरेलु हिंसा पीडित महिलाका लागि खाली होटल र गेस्ट हाउसलाई सेफ हाउसको रुपमा प्रयोग गरिने बताइएको छ ।

इटलीमा घरेलु हिंसा पीडितले नभई घरेलु हिंसा गर्ने व्यक्तिले तुरुन्त घर छोड्नुपर्ने बताइएको छ ।

बेलायतमा लकडाउनको क्रममा घरेलु हिंसा पीडितलाई घरबाट सुरक्षित निकाल्न प्रहरीलाई विशेष शक्ति दिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप