केन्द्रीय संस्करण
लकडाउन डायरी

गगन थापाको लकडाउन डायरी : खोज्छन् दुई सयबढी समस्याको हल

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline1

कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा चैत ११ गतेदेखि जारी लकडाउनले राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको दैनिक जीवनमा प्रभाव पारेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापा सदन र सार्वजनिक मञ्चमा सरकारका गलत कदमविरुद्ध गर्जिरहने नेताका रुपमा चिनिन्छन् । यतिबेला कोरोनाभाइरस विरुद्धको लडाइमा रहेको सरकारप्रति भने पूर्व स्वास्थ्यमन्त्रीका हैसियतले थापाबाट बढी सुझाव र कम प्रश्न तेर्सिएको पाइन्छ । जनतालाई सुसूचित र सरकारलाई उत्तरदायी बनाउन लागि परेको बताउने थापाले रातोपाटीसँग यसरी सुनाए आफ्नो लकडाउन डायरी :

लकडाउनको पहिलो दिन परिवार नै अत्तालिएको जस्तो थियो । के गर्ने, कसो गर्ने भन्ने एक खालको अन्यौल थियो । दोस्रो दिनबाट घरबाट काम गर्न थालियो । बिहानदेखि साँझसम्म पहिलो दुई–चार दिन मैले साथीहरुलाई फोन गर्ने, कुरा बुझ्ने काम गरेँ । तर मैले जब मेरो निर्वाचन क्षेत्र (काठमाडांै–४) का मतदाताका लागि केही प¥यो भने समन्वय गर्छु भनेर टेलिफोन नम्बरमा सार्वजनिक गरेँ । त्यो मेरो जिम्मेवारी पनि थियो ।

त्यो क्षेत्रभित्र मात्र सीमित रहेन । नेपाल बाहिरसम्म पुग्यो । अहिले दिनमा मैले मात्र डेढ, दुई सयबढी फोन उठाउँछु । सचिवालयका साथीहरुलाई आउने फोनको हिसाब गर्ने हो भने त त्योभन्दा धेरै हुन्छ । सबैभन्दा बढी भारतबाट फोन आइरहेको छ ।

भर्खरै माहुरीपालक कृषकहरुले आफ्नो समस्या सुनाउनु भएको थियो । त्यसबारे मैले वाणिज्य मन्त्रालयका साथीहरुसँग कुरा गरेपछि तपाईँसँग कुरा गर्दैछु । अब (शुक्रबार) म आफ्नो वडा कार्यालयमा जान्छु । त्यहाँ राहत वितरण सुरु गर्न लागिएको छ । केही दिन म लकडाउनले म पनि घरभित्रै थिएँ । अहिले काम विशेषमा कहिलेकाहीँ बाहिर पनि निस्कन्छु । त्यति बाहिरफेर हिँडडुल गर्न नपाए पनि मेरो दिनचर्यामा व्यस्तता भने घटेको छैन ।

अहिलकति फुर्सद निस्किए संसारमा नयाँ कुरा के भइरहेको छ, कोरोनाभाइरसबाट जोगिन संसारले कस्तो उपाय अपनाउँदैछ भन्ने बारेमा विभिन्न न्यूज पोर्टल, अन्तर्राष्ट्रिय सञ्चार माध्यम र खोज–अनुसन्धानलाई अध्ययन गरिरहेको छु । आफूलाई अपडेट गर्ने कोशिस गरिरहेको हुन्छु । आफ्ना कुराहरु सामाजिक सञ्जालबाट बाहिर ल्याइरहेको हुन्छु । त्यसका लागि तयारी पनि हुनुपर्छ । मेरो अधिकांश समय टेलिफोन, टेलिफोनबाट आउने काम र त्यो कामलाई हल गर्ने कोशिसमा बितिरहेको छ । 

आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल ट्वीटरबाट पाल्पा अस्पतालले त्यहाँको बिरामीलाई लिन नमानेको खबर आयो । मैले साढे ५ बजे त्यहाँ फोन गरेँ । सबै कुरा बुझेँ । बाहिर आएजस्तो रहेन छ । त्यसबाट मेरो दैनिकी सुरु भएको हो । अनि त्यसको केही समयपछि भारतबाट फोन गरेका दुई जनासँग कुरा गरेँ । यस्तै काठमाडौंको घट्टेकुलो बस्ने बाजुराका एक जना भाइले आफ्नो भाइ लकडाउनका कारण भारतमै रोकिएको भन्दै नेपाली दूतावासलाई भनिदिनुप-यो भनेर फोन गर्नुभयो ।

एउटा जना मिर्गौला प्रत्यारोपण गरेका मान्छेले औषधि नपाएकोबारे फोन आएको थियो । यस्ता कति फोन आए–आए, यी त मैले केही मात्र सुनाएको हुँ । यस्ता खालका समस्या आउँछन् । यिनलाई कति सकिन्छ, हल गर्ने कोशिस गरिहेको हुन्छु ।

लकडाउन अघि प्रत्यक्ष भेटघाटमा गरिने कुराकानी अहिले फोनबाट गरिरहेको छु । खाली घरबाहिर निस्किएको छैन भन्नेमात्र हो, कामचाहिँ घरबाट उत्तिकै गरिरहेको छु । यस्तै, घरमा बस्दाको अनुभव पनि खास त्यस्तो केही छैन । काठमाडौं मै घर भएकाले पहिले दौडधुपका बाबजुद पनि अधिकांश समय घरमै हुन्थेँ ।

त्यहाँ बुबा–आमा, दुई छोरी र श्रीमतीसँग बस्ने भएकाले मलाई घरमा बस्दा त्यस्तो कुनै नौलो अनुभूति भएको छैन । परिवारका लागि गाह्रै भए पनि समय निकाल्थेँ ।

सार्वजनिक जीवनमा आइसकेपछि यति लामो समय लगातार घर–परिवारसँग बसेको पहिलो पटक हो । लकडाउन नभएको भए १०÷११ दिन सम्ममा कुनै न कुनै ठाउँमा यात्रा गरिसकेको हुन्थेँ अथवा मैले रात बाहिर बिताइसकेको हुन्थेँ । यति घण्टा घरभित्र परिवारसँग हुँदै हुँदैन थिएँ । काठमाडौंमै भए पनि यति दिनसम्म ५० पटक बाहिर गइसकेको हुन्थें। घरमा खानाखाने मौका थोरैमात्र मिल्थ्यो । धेरैपछि लकडाउनले गर्दा दुवै छाक घरमै खान पाइएको छ । कित मेरो घरमा टन्न मान्छे हुन्थे, भीडभाड हुन्थ्यो । त्यो हिसाबले अहिले एकदम फरक छ ।


तर लकडाउनले मेरो रुटिनमा खासै फरक परेको छैन । प्रायः म राति १० बजे सुत्छु, बिहान ५ बजे उठ्छु । घरमा मैले आमा, बुवा र बच्चाहरुलाई आफ्नो रुटिन अनुसार चलौ हैँ भनिरहेको हुन्छु । त्यसैले पनि व्यायाम गर्ने, खाने जस्ता नर्मल कामहरुमा अनुशासन कामय गरिरहेका हुन्छौँ ।

पहिलापहिला बिहानै घरबाट निस्किनु पर्ने थियो । सुरुमा मलाई र मेरो परिवारको मान्छेलाई लकडाउनभर म घर हुन्छु भनेपछि पुरै एभिलेबल हुन्छु भन्ने थियो । तर त्यसो हुन सकेन ।

मेरी छोरीहरु बेला बेलामा कम्प्लेन पनि गर्छन् । घरमा बस्ने भन्ने मात्र हो भनेर भनिरहेका हुन्छन् । मलाई पनि लागेको थियो, यत्रो समय घरमै बस्दा दैनिक ५÷७ घण्टा परिवारसँग समय बिताउन र लेखपढ गर्न व्यथित हुन्छ होला भनेर । लकडाउनमा फुर्सदिलो भइन्छ, धेरै किताब पढ्नु पर्छ भन्ने सोच अरुमाजस्तै ममा पनि थियो । तर त्यस्तो भएन ।

यता गर, उता गर, त्यो पनि कामजस्तै भयो । तर पनि परिवारसँग उपलब्ध हुने कुरा मेरा लागि पनि नयाँ अनुभव हो । यत्रो लामो समय घरभित्र बसेको मलाई थाहा छैन । तर पनि म फिजिकल्ली मात्र यहाँ छु । एक छिनमा म पाल्पा पुगेको हुन्छु, एकछिनमा म अर्को ठाउँमा पुगेको हुन्छु, अर्को ठाउँमा पुगेको हुन्छु... फोनले सबै ठाउँमा घुमाइराखेको छ ।

अहिलेको मेरो चासो नेपाली जनतालाई कसरी सुसूचित बनाउन सकिन्छ भन्नेमा छ । जनतालाई सुसूचित र सरकारलाई उत्तरदायी बनाइयो भने हामी यस महामारीसँग लड्न सक्छौं ।

यसैले आवश्यक पर्दा राज्यका निकाय र आम नागरिकका समस्याबीच समन्वय पनि गरिरहेको छु । यो सबै मसँग टिम भएकाले गर्दा भएको हो ।

हामी अहिले रिमोट्ली काम गरिरहेका छौँ । त्यसमा हामी करिब ८÷९ जना छौँ । हिजो (बिहीबार) स्थानीय तहले कोरोना रोकथाम र नियन्त्रणका लागि खेलेको भूमिकाबारे केही कुरा सेयर गरेको थिएँ । स्थानीय तहले यस्तो बेलामा अग्रभागमा बसेर काम गरेको छ । त्योसँग सँगै उहाँहरुले नयाँ भूमिका पर्ने ठाउँमध्ये केही कुराहरु सेयर गर्ने भन्ने लाग्यो । अनि साथीहरु बस्यौँ र कार्यविभाजन ग¥यौँ ।

कोही साथीले सरकारको निर्णय खोजे । कोही साथीले अर्को कुरा खोजे । हाम्रो ग्रुपमा त्यो विषयमा छलफल पनि भयो । त्यसकारणले सजिलो भएको छ ।

पारिवारिक सचेतना
हाम्रो घरमा बाहिरबाट आएको कोही नभएकाले होम क्वारेन्टाइनमा बस्ने गरिएको छैन । तर म फाट्टफुट्ट बाहिर निस्किने भएकाले बाहिर दुरी मेन्टेन गरेको छु । 

साथै परिवारको अन्य सदस्य अत्यावश्यक सामान किन्नमात्र बाहिर जान्छ । त्यहाँ पनि दुरी मेन्टेन गरिने गरेको छ । मेरो श्रीमती आफैँ पनि चिकित्सक भएकाले हाम्रो परिवारमा अत्यन्तै सजगता छ । यो सबैका लागि आवश्यक पनि छ । लकडाउन केही दिनपछि खुकुलो बनाउनु पर्ने अवस्था आउँला तर सामाजिक दूरी कायम गर्ने जीवनशैली भने धेरै लामो समय अपनाउनु पर्ने देखिन्छ ।

विश्वमा फैलिँदै गएको संक्रमण र ती मुलुकले अपनाएका सुरक्षा विधि पनि यो भन्दा पृथक छैन । त्यसैले म घरका सदस्यहरुलाई मनोवैज्ञानिक तयारीका लागि अभ्यस्त बनाउँदै छु । 

मनोवैज्ञानिक रूपमा तयारी राख्नका लागि बुवा–आमा, श्रीमती र बच्चाहरुलाई अभ्यस्त बनाउने काम गरेको छु ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 4, 2020, 5:58 p.m. Kul Mani Acharya
    भन्न सजिलो छ, गर्न गाह्रो छ /
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.