बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरका कोरोना संक्रमित व्यक्ति अवैध बाटो हुँदै नेपाल प्रवेश गरेको खुलासा

शनिबार, २२ चैत २०७६, १६ : ४१
शनिबार, २२ चैत २०७६

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । 

संक्रमित हुनेहरुमा २१ र ४१ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन् ।  मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।  यस्तै कैलालीकी ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।  ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । 

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

चैत २ गते कञ्चनपुरको वेदकोटबाट ४१ वर्षीय ती पुरुष भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।

उनीसँग काम गर्ने ११ जना एउटै टेण्टमा बस्थे । सबैजना रातिमा लाइनसँग सुत्थे । उनीहरुको पकाउने चुल्हो समेत एउटै रहेको पाइएको छ । 


विश्वभर कोरोनाको महामारी फैलिएसँगै त्रासले गर्दा नेपाल फर्किने सोच बनाए । कोरोनाको त्रास फैलिएसँगै उनी चैत १३ गते अवैध बाटो हुँदै नेपाल आइपुगे ।  

महाकाली नदीबाट ट्युब तरेर नेपाल प्रवेश 
ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ । 

अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । 

लगत्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

त्यसपछि...
सशस्त्र प्रहरीले त्यसपछि ती पुरुषलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाइएको प्रहरीले जनाएको छ । 

सोही दिन राति १० बजे उनीसहित अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइन घरमा राखेर खाना खुवाएको पाइएको छ । बेदकोट नगरपालिकाले बनाएको त्यही सुन्दरपुर क्वारेन्टाइनमा उनलाई राखिएको थियो । 

अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो । 

परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो । 

कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्समा राखेर लगिएको थियो । हाल उनको उपचार भइरहेको छ । 

भारतबाट आएका अन्य व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप