बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनबाट आयो खुसीको खबर– क्लिनिकल ट्रायलका क्रममा भ्याक्सिन लगाएकाहरु स्वस्थ अवस्थामा

शनिबार, २२ चैत २०७६, १८ : २६
शनिबार, २२ चैत २०७६

एजेन्सी – कोरोना भाइरसको ‘सम्भावित परीक्षण भ्याक्सिन’ लगाएकामध्ये पहिलो समूहका  १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् ।

 उनीहरुले स्वास्थलाभ गरिरहेको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम डेली मेलले जनाएको छ ।

अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी सबै स्वयंम्सेवकलाई आगामी ६ महिनासम्म निगरानी गर्नेछ र एन्टीबडिज परीक्षणका लागि उनीहरुको ब्लड स्याम्पल लिनेछ । 

वैज्ञानिकहरुले भ्याक्सिनको प्रभावकारीता प्रमाणित गर्न विदेशमा थप व्यक्तिमा परीक्षण गर्ने योजना रहेको बताएका छन् । १७ मार्चमा चीनले पहिलोपटक सम्भावित कोरोना भाइरस भ्याक्सिनका लागि ‘क्लिनिकल ट्रायल’ सुरु गरेको थियो, चीनका शीर्ष सैनिक बायो– वारफेयर विज्ञ चेन वी नेतृत्वको टोलीले यस्तो भ्याक्सिनको विकास गरेको हो ।

परीक्षण यसरी 
१८ देखि ६० वर्ष उमेर समुहका कुल १ सय ८ स्वस्थ व्यक्तिलाई यस्तो भ्याक्सिन लगाइएको थियो । उनीहरुलाई तीन समुहमा विभाजन गरेर फरक मितिमा विभिन्न परिमाणका भ्याक्सिन लगाइएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।

यसपछि अवस्था निगरानीका लागि उनीहरुलाई उहान स्पेशल सर्भिस हेल्थ सेन्टरस्थित आइशोलेसनमा राखियो । फरक मितिमा इन्जेक्सन लगाइएकाले फरक मितिमै उनीहरुको मेडिकल परीक्षण पूरा हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

‘मेरो स्वास्थ यो अवधीमा पूर्ण ठिक रह्यो । मैले कहिल्यै बिरामी वा पीडादायी अनुभव गरिँन,’ निगरानी अवधी समाप्त भएपछि निस्कदैं गरेका पहिलो समूहका एक सहभागीले पियर भिडियोमार्फत भनेका छन्, ‘मलाई जहाँ इन्जेक्सन लगाइएको थियो, त्यहाँ सुरुका केही दिन हल्का दुख्यो । म यस भ्याक्सिनलाई लिएर पूर्णत विश्वस्त छु । मलाई आशा छ यो छिट्टै सार्वजनिक हुनेछ ।’

अर्का एक सहभागीले आफु दैनिक जीवनमा फर्किइसकेको र सबै सामान्य रहेको बताएका छन् । ‘नियमित सुईभन्दा यो फरक थिएन । लामखुट्टेले टोकेजस्तो महसुस भयो,’ जिन गुआनपिङले साउर्थन मेट्रोपालिस डेलीसँग भनेका छन् । 

अनुुसन्धानकर्ताहरुले पहिलो परीक्षणको नतिजा सकारात्मक  आएमा अन्तर्राष्ट्रिय रुपमै यसलाई बिस्तार गरिने जनाएका छन् । ‘यदी सुरुवाती नतिजाले भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी देखाएमा हामी अन्तर्राष्ट्रिय सहकार्यमार्फत विदेशमा पनि यसको प्रभावकारीताबारे जाँच गर्नेछौं,’ चेन वेईले भनेकी थिइन् । 

चाइना डेलीले यसको क्लिनिकल परीक्षण अप्रिलमा प्रकाशित गर्ने जनाएको थियो । इबोलालगायत भ्याक्सिनहरुबारे महिना दिनभन्दा लामो समयसम्म अध्ययन र अनुसन्धान गेपछि ‘रि कम्बिनेन्ट नोबेल कोरोनाभाइरस भ्याक्सिन’ विकास गरिएको थियो । 

को हुन् वी ?


५४ वर्षीय चेन वी जेनेटिक इन्जिनियरिङ भ्याक्सिनबारे चीनकी अग्रणी विशेषज्ञ हुन् । यसअघि सार्स महामारीको समय २००३ मा मेडिकल स्प्रे विकास गरेका थिए । चीनको सरकारी मिडिया रिपोर्टका अनुसार यस स्प्रेले झन्डै १४ हजार स्वास्थकर्मीलाई भाइरसको संक्रमणबाट जोगाएको थियो ।

यी वैज्ञानिक चीनमा ‘टर्मिनेटर अफ इबोला’ भनेर पनि चिनिन्छिन्  । उनको टोलीले यस प्राणघातक रोगको भ्याक्सिन बनाएको थियो । उनी चिनियाँ जनमुक्ती सेनाकी मेजर जनरल हुन् । ‘यो महामारी सैन्य अवस्थाजस्तै हो । इपिसेन्टर र युद्धमैदान बराबर हो,’ नोबेल कोरोना भाइरसको लडाँइबारे चेनले भनेकी छिन् । 

यसअघि अमेरिकाको एक टोलीले पनि मुसामा कोरोनाको सम्भावित भ्याक्सिन परीक्षण गरेको थियो । यस  टोलीले परीक्षणलाई सार्वजनिक रुपमा उपलब्ध गराउन कम्तिमा १२ देखि १८ महिना लाग्ने जनाएको छ । यसक्रममा हरेक दिन दशौं हजार डोज भ्याक्सिन उत्पादन गर्नुपर्ने टोलीले जनाएको थियो । यो टोलीले मानिसमा पहिलो परीक्षण गर्नका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासनसँग अनुमति लिदैंछ र केही महिनाभित्रै परीक्षण सुरु गर्ने आशा व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप