शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

“अब बाँचिने भो सरकार !”

आइतबार, २३ चैत २०७६, ११ : ३१
आइतबार, २३ चैत २०७६

कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहेका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । 

तारालाई आफन्तले चामल, नुन र  तेल पैँचो दिए । केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन् । सरकारले लकडाउन थप गरेपछि अन्य वादी समुदायले ताराको जस्तै पीडा भोग्नुप¥यो । 

जहान परिवार पाल्न बादी समुदायले साहु महाजनबाट आफूसँग भएको पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए । “केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्यौं, हातमुख जोर्न पाइएन”, कलम वादीले पीडा सुनाए । 

शनिबार नारायण नगरपालिकाले वितरण गरेको खाद्यान्न पाउँदा तारा र कलम खुशी भए । पहिला घरमा एक छाक चामल नहुँदा रोगभन्दा भोकले मरिने चिन्ता थियो । “चामल पाएपछि अब त बाँचिन्छ कि भन्ने लागेको छ सरकार !”, ताराले खुशी व्यक्त गरे ।

तारा र कलम मात्र होइनन्, ती जस्तै ६५ घरपरिवार वादी समुदायमा यो समस्या हिजोसम्म ठूलो थियो । नगरको राहत वितरणपछि भने सबैको मुहारमा चमक छाएको छ । राहत वितरणपछि यो समुदाय स्थानीय सरकारको गुनगान गाउन थालेको छ ।

“नेपाल सरकारले घरबाट बाहिर नआउनू, रोग लाग्छ भनेपछि हामीे घरमै बस्यौँ तर रोगभन्दा छिटो हाम्रो बस्तीमा भोक आयो । लकडाउनसँगै बजार बन्द हुँदा बादी समुदायले काम गर्न नपाउँदा छाक टार्न समस्या भएको थियो, अब ढुक्क भयौंँ”, कलमले बताए, “बजार बन्द हुँदा कमाइ हुँदैन थियो । के खाने भन्ने चिन्ता लागेको थियो । हाम्रो सरकारले पीडा बुझिदियो, अब चिन्ता छैन । अब घरमै बसेर सरकारले ल्याएको लकडाउनलाई सहयोग गर्छौँ ।”

उमेरले तीन बीस कटेका धनकला वादी पनि औधि खुशी हुनुहुन्छ । “अब सरकारले अन्नपानी सबै दियो । घरमै बसीबसी खानू भनेको छ, त्यही गर्नुप¥यो । सबै दिएपछि बाहिर निस्कने काम छैन”, उनले भने,“ बन्द भएपछि बिहान खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने भन्ने चिन्ताले निद्रासमेत लाग्न छाडेको थियो । अब कानमा तेल हालेर सुत्छौँ, हाँस्दै धनकलाले भने  । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले नेपालभरि लकडाउन लगाउँदा प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर जीविका चलाउने परिवारमा परेको पीडा खाद्यान्न वितरणबाट शान्त  हुने पत्रकार भक्तबहादुर शाहीले बताए । नारायण नगरपालिका जस्तै अन्य १० स्थानीय सरकारले लगत संकलन गरी खाद्यान्न वितरण गर्दा ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएकालाई सुविस्ता हुने र लकडाउनको पालन हुने उनले बताए ।
 
 लकडाउनको प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर खाने वादी समुदाय परेकाले  नगरपालिकाले शनिबार राहत वितरण गरेको  नगरपालिका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । 

“हामीले नगरपालिकाका ९५४ विपन्न परिवारलाई साबुन, दाल, नुन र २५ किलो चामल वितरण गरेका छौंँ । बाहिरी जिल्लादेखि काम गर्न आएका ५६ जनालाई राहतस्वरुप खाद्यान्न दिएका छौं । पहिलो चरणमा १५९ घरधुरीलाई खाद्यान्न दियौँ, बाँकी घरधुरीमा क्रमशः दिँदै जान्छौँ”, नगर प्रमुख खड्काले भने । खाद्य सामग्री हस्तान्तरण गर्दै खड्काले भने, “तपाईँहरु सबै लकडाउनको पालना गरी घरमै बस्नुहोला । घरआँगनमै स्थानीय सरकार भएकाले तपाईंहरु  भोकै बस्नुपर्दैन ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप