शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्योलमा नेकपा बैठक : सरकार र पार्टीमाथि लगातार ‘हमला’, नेतृत्व मौन !

आइतबार, २३ चैत २०७६, १२ : ३४
आइतबार, २३ चैत २०७६

काठमाडौँ । कोरोना भाइरसको उपचार, रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमहरु विवादितरहित बन्न सककेका छैनन् । कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को त्रासका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका केही निर्णयलाई लिएर पार्टी नेताहरुबाटै पनि भिन्नभिन्न मत आइरहेका छन् ।

सत्तारुढ दलभित्रका केही र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका धेरैजसो नेताले कोरोना भाइरस विरुद्धका औषधि उपकरण खरिद प्रक्रियाको विषयलाई लिएर सरकारमाथि औँला ठड्याएको मात्र नभई एक हिसाबको हमला नै गरिरहेका छन् ।

सरकारले प्रभावकारी कदम चाल्न नसकेको  प्रश्न र गुनासो आइरहे पनि सत्तारुढ दल नेकपाले यसबारेमा आफ्नो पार्टी कमिटीमा कुनै छलफल गरेको छैन ।

सतहमा आएका विषयबारे पार्टीले स्पस्ट पार्नुपर्ने भए पनि बैठक बोलाउन नै जाँगर नदेखाएर नेकपा नेतृत्वले सरकार र पार्टीमाथि उठेका प्रश्नहरुबारे बेवास्ता गरेको कतिपय नेताहरुको गुनासो छ ।  नेकपाका शीर्ष नेताहरुले नै बैठक नबोलाउनुको कारण बुझ्न सकेका छैनन् ।

‘किन बैठक नबोलाइएको हो मैले नै बुझ्न सकेको छैन । बैठक राख्नुपर्ने, बोलाउनुपर्नेहरुले आवश्यकता नठानेकैले बैठक बस्न ढिला भएको हो,’ वरिष्ठ नेता झलनाथ खनालको भनाइ छ । यस्तो महामारी भएका बेला पार्टी र सरकारले गर्ने र गर्नुपर्ने कामका बारेमा छलफल गर्नुपर्ने भए पनि पार्टी नेतृत्वले चासो नदेखाएको खनालको गुनासो छ । ‘बैठक बोलाउनुपर्छ भनिरहेका छौँ तर सुनिएको छैन,’ खनालले रातोपाटीसँग भने ।

नेता खनालले मात्रै होइन, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठक बोलाउन नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन् । कोरोनाविरुद्धको औषधि उपकरण खरिदमा अनियमिताको प्रसङ्ग उठेपछि पार्टी प्रवक्ता श्रेष्ठले अध्यक्षलाई टेलिफोन गरेर बैठक बोलाउन आग्रह गरेका थिए । तर आफूले यस्तो आग्रह गरेको तीन दिन वित्न लाग्दासमेत बैठक बस्ने छाँटकाँट नदेखिएको उनले बताए । 

प्रवक्ता श्रेष्ठ पार्टी र सरकारका बारेमा उठेका प्रश्नलाई बैठक बसेर स्पष्ट पार्न जरुरी रहेको बताउँछन् । ‘मैले त बैठक राख्नुपर्यो भनेर माग नै गरिसकेको छु । तर किन बस्न सकेको छैन, त्यो थाहा भएन’, प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने, ‘सचिवालयमा छलफल गर्नुपर्ने महत्त्वपूर्ण विषय भनेको कोभिड–१९ का विरुद्ध सरकार र पार्टीले अहिले चालेका कदमको विश्लेषण र आगामी दिनमा चाल्नुपर्ने कदम तथा रणनीतिका बारेमा छलफल नै हुन् । यस महामारीविरुद्ध कसरी प्रभावकारी र सशक्त भएर अघि बढ्न सकिन्छ भन्ने नै प्रमुख विषय हो ।’

नेकपाको सचिवाल बैठक पछिल्लो पटक गत ५ गते बसेको थियो । त्यसयता घटनाक्रमहरु धेरै विकसित भए पनि त्यस्ता घटनाक्रमको विश्लेषणका लागि उक्तपार्टीले बैठक बसाउन सकेको छैन । 
महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि मात्रै सचिवालय बैठक बस्ने बताउँछन् । ‘पहिला दुई अध्यक्षबीच छलफल हुन्छ । त्यसपछि मात्रै सचिवालय बैठक बस्छ’, महासचिव पौडेलले भने, अबको केही दिनमा बैठक बस्न सक्छ ।

यता प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै राष्ट्रिय सहमतिको सरकार र मध्यावधि निर्वाचनको माग गर्न थालिसकेका छन् । काँग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठन र अर्का नेता डा. प्रकाशशरण महतले मध्यावधि निर्वाचनको माग गरेका हुन् ।

काँग्रेस नेताहरुका मागलाई सत्तारुढ र विश्लेषकहरुले भने बेमौसम र बेकारको माग भनेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिलेको मुख्य कार्यभार कोभिड–१९ विरुद्ध एकताबद्ध भएर लड्ने उपायबाहेक अरू सोच्नै नमिल्ने बताउँछन् । श्रेष्ठ भन्छन्, ‘अहिले सहमतिको सरकार र मध्यावधि निर्वाचन भन्ने जे हल्ला गरिएको छ । यो बेकारको कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप