केन्द्रीय संस्करण
लकडाउन डायरी

वरिष्ठ पत्रकार भैरव रिसालको लकडाउन डायरी : श्रीमान् लेख्ने, श्रीमती टाइप गर्ने

सरकारलाई प्रश्न : मान्छेको ज्यान बाजी राखेर पैसा कमाउने ?

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline0

 नागरिकहरु केही दिनदेखि ‘लकडाउन’भित्र बाँधिएका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि ११ चैतबाट सरकारले मुलुकमा लकडाउन गरेको छ ।

रातोपाटीले जिउँदो इतिहासका रुपमा परिचितवरिष्ठ पत्रकार भैरव रिसालको लकडाउन दैनिकी र कोरानाले निम्त्याएको महासंकटबारे दृष्टिकोण समेटेको छ । आफ्नो दैनिकी साविक बमोजिम रहेको सुनाउने उनी सरकारको दैनिकीप्रति भने असन्तुष्ट देखिए ।

बाँकी रिसालकै शब्दमाः 
लकडाउनपछि पनि मेरो दैनिकी साविक बमोजिम नै छ । कोरोनाभाइरसले बाहिर चोकसम्म जान पनि बन्द भयो । अरु साविक बमोजिम नै छ । म साढे ४ बजे उठ्छु, नुहाउँछु । थेरापी गर्दै रेडियो सुन्छु । त्यो साढे सात बजेसम्म जान्छ । त्यतिबेलासम्म अखबार आउँछ । त्योबीचमा औषधि खान्छु । चिया, रोटी–बिस्कुट पनि खान्छु । यताउता फोन गर्छु । त्यसपछि ९ बजे हामी भात खान्छौँ ।

अनि साढे १० बजे लेख–पढ सुरु हुन्छ । मेरो श्रीमती टाइप गर्छिन् म लेख्छु । दिउँसो २ बजे औषधि खानुपर्छ । त्यसका लागि केही खाने कुरा खानुपर्छ । त्यसपछि फेरि केही लेख्ने–पढ्ने काम हुन्छ । अनि बेलुका साढे ७ बजेतिर खाना खान्छौँ । साढे ९ बजे सुत्ने गरिन्छ । मेरो दैनिकी यसरी नै चलिरहेको छ ।

मेरो दैनिकी लेखाइ र पढाइमै बित्छ । नागरिक पत्रिकाले प्रायः आइतबार मेरो आर्टिकल छाप्छ । एउटा हिमालखबर पत्रिकाले छाप्छ । भक्तपुरबाट निस्किने नेमकिपाको पत्रिका मजदुरमा मंगलबार आर्टिकल छापिन्छ ।
सामान्यतया हप्तामा तीन वटा मेरो आर्टिकल छापिन्छ । हिमालमा (पुराना) उहिलेका कुरा लेख्न थालेको दुई वर्ष भयो । नागरिक र मजदुरमा समसामयिक र राजनीतिक विषयमा लेख्छु । यो लकडाउनलाई कसरी उत्पादक बनाउने भनेर ममा एउटा विचार आएको छ । मान्छे घरबाट निस्कन पाउँदैन । जसको कलम छैन, जसले लेख्न जान्दैन, त्यसको अलग कुरा भयो । जसले लेख्न जान्दछ, त्यसले यसको पूर्ण सदुपयोग गरेर यसलाई उत्पादक, सिर्जनात्मक बनाउँ भन्ने मेरो दृष्टिकोण हो ।

लेख्न–पढ्न जान्ने मान्छेले आफ्ना विगतको भोगाइ मात्र लेखे पनि एउटा किताब बन्छ । यसो गर्दा मान्छेमा कोरोनाको चिन्ता पनि कम हुन्छ । साथै नेपाली साहित्य पनि समृद्ध हुन्छ । यो समयमा मान्छेहरुले पहिलो, दोस्रो र तेस्रो पुस्तासँग गफगाफ गर्दा राम्रो हुन्छ । त्यो पनि एउटा मौखिक इतिहास पुस्तान्तरण हुन्छ ।

व्यवहारिक सरकारको खाँचो
कोरोनाभाइरसबाट बच्न लकडाउन अनिवार्य कुरा नै हो । म यसको पक्षमा छु । तर राज्यले लकडाउन गर्नुअघि जुन तयारी गर्नुपर्ने थियो, त्यो गरेन । अकस्मात लकडाउन घोषणा ग¥यो । त्यो गड्याङगुडुङ चट्याङ परेजस्तो भयो । मान्छेले तयारी गर्न पाएन । अनि ज्यालामा बाँच्ने मान्छेलाई सरकारले हेर्न भ्याएन वा हेर्न सकेन । त्यो राज्यको उत्तरदायित्वपूर्ण काम भएन ।

लकडाउन गरेको केही दिनपछि मात्र राहतको कुरा आयो । काम अझै भएको छैन । कुराले पेट भरिँदैन । काम एकदम ढिलो भइरहेको छ । सरकार जति तयारीमा हुनुपथ्र्यो, त्यति तयारीमा रहेन । सरकार सरकारजस्तो देखिनुप-यो । सरकार औपचारिक रुपमा मात्र भएन, व्यवहारिक रुपमा सरकार हुनुप-यो । सरकार भनेको सबैको हो, सबैको हुनुप¥यो । 

यो एउटा कुरा भयो । अर्को कुरा, चीनबाट सामान आयो । चीनबाट सामान आउँदा बदमासी हुँदैन भन्ने हामीलाई लागेको थियो । चीन सरकारले सामान नदिएर त्यहाँको एउटा कम्पनीले सामान दिएको सुन्छु म । अनि रातारात निर्णय गरेर एउटा ओम्नी भन्ने कम्पनीमार्फत सामान ल्याए रे । त्यो धेरै गुना महँगोमा ल्याइयो भन्ने कुरा सुन्छु । अब यो बेलामा रोगसँग खेलेर पैसा कमाउने, मान्छेको ज्यान नै बाजी राखेर पैसा कमाउने कुरा सभ्य र उत्तरदायी सरकारको काम भएन । यस्तो अवस्थामा पनि औषधि किन्दा भ्रष्टाचार गर्ने, सामान किन्दा कमसल ल्याउनु भनेको घोर अपराध हो ।


यसमा जो–जो दोषी छ, तिनीहरुलाई कारबाही हुनुप-यो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्दा उहाँको ठूलो छवि विकास भयो भनेर मैले केही समय अघि लेखेको थिएँ । तर कोरोना रोकथाम र नियन्त्रणमा राम्रो भूमिका देखिएन । रोगको नियन्त्रण गर्ने र अहिलेको जस्तो अवस्थामा पनि भ्रष्टाचार गर्नेमाथि कारबाही गरेर जनविश्वास जित्नु प¥यो । हाम्रोमा हामीले पत्याउने नेता–नेतृत्व भएन । सबैजना ‘हाहा–हुहु’मा लाग्यो भने नेतृत्व कसले गर्ने ? यो त नेतृत्वको विकास गर्ने बेला पनि हो । 

कोरोना बन्यो भाग्ने बाटो
२००७ सालयताका दुई सरकार पूर्णबहुमतका भए । २०१५ सालको चुनावपछि बीपी कोइराला नेतृत्वमा दुई तिहाइको सरकार थियो । त्यसले नेपाललाई रुपान्तरण गर्न सकेन । त्यो बेलामा सर्वभौम सत्ता राजामा थियो । संसदमा थिएन ।

डेढ वर्षमै त्यो सरकार विघटन गरियो । अन्य कुरा भयो । त्यतिबेला त्यो राजनीति वा नेपाली काँग्रेसको नेतृत्व ‘हामी गथ्र्यौँ, तर पाएनौँ’ भनेर उम्कियो । भाग्ने बाटो भयो ।

अहिलेको सरकार पनि पूर्ण बहुमत, झण्डै दुई तिहाईको छ । यसको योग्यता दक्षता जाँच्ने बेला थियो । यो कोरोना नआएको भएदेखि यो सरकार समातिन्थ्यो । पाँच वर्ष राज्य गर्दा के ग¥यो, के गरेन, कति रुपान्तरण ग-यो यो मुुलुकको आर्थिक र सामाजिक क्षेत्रमा भन्ने हिसाब हुन्थ्यो । कोरोनाका कारण यो सरकार आफ्नो योग्यता क्षमता नदेखाइकन उम्किने भयो । यो सरकारले अवसर पायो । नेपालको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्छ कि सक्दैन, योग्यता राख्छ कि राख्दैन भन्ने गम्भीर प्रश्न छ । यो ००७ सालदेखिकै कुरा हो । 

अहिलेसम्म यी (राजनीतिज्ञ) विभिन्न कारणले उम्किएका थिए । गिरिजाबाबुले ०४८ सालमा राम्रो बहुमत ल्याउनु भएको थियो । साढे तीन वर्ष हुन आँटेपछि अब बर्वाद भयो । मुलुकको रुपान्तरण भएन । वैदेशिक सहायतामा मित्र राष्ट्रले दिएका उद्योग पनि बेचियो । अब जनताले भोट दिँदैन भनेर आफैँले आफ्ना सांसदहरु ७४–३६ मा विभाजन गराएर मध्यावधिमा जानुभयो । जनताले लोप्पा खुवाइदिए ।

यतिबेला सरकारमात्र होइन, हाम्रो राजनीति, मुलुकको आर्थिक, सामाजिक सांस्कृतिक रुपान्तणका लागि योग्य छ कि छैन भन्ने गम्भीर प्रश्न थियो । कोरोनाले यो जाँच नहुने भयो । मलाई लाग्छ कोरोनाले सरकार र राजनीतिलाई भाग्ने अवसर मिल्यो ।

सचेतना र पुराना कुरा
कोरोनाको सन्त्रास विश्वभर छ । हामीले धैर्य गर्नुपर्छ । निराश हुनु हुँदैन । अनुशासित भयो भने यो लडाइँ जित्न सकिन्छ । असन्तुष्ट मात्र नहुने । त्यो अनुुसारको जीवन शैली अपनाउने गर्नुपर्छ जस्तो लाग्छ । यो कुरा मैले पनि सय प्रतिशत लागू गर्न सकेको छैन । ८० प्रतिशत जति मैले मेरो जीवनमा लागू गरेको छु । हामीले हाम्रो सोचाइको परिधि फराकिलो बनाउनुपर्छ ।

हामी पाको उमेर भएका मान्छेमा मैले भनेको सबै कुरा ठीक हो भन्ने हठ हुन्छ । मैले गरेको मात्र ठीक हो भन्ने हुँदैन । हामी हठ केही पनि नगरौँ । अरुको कुरा सुनौँ । तर्क गरौँ । त्यो गर्दा जीवन सजिलो पनि हुन्छ । त्यसो गर्दा मान्छेले यो घमन्डी पनि भन्दैन । हामी जस्तोले यतातिर लाग्नुपर्छ ।

हाम्रो पुरातन संस्कारमा पानीले हात खुट्टा धोएरमात्र खाना खाने भन्ने छ । अहिले साबुन पानीको कुरा छ । त्यसमा हामीले जोड दिनुपर्छ । खाने कुरामा हामी गरम मसला हाल्छौँ । पहिला बेसार, अदुवा, हिङ, सयपत्री, पिल्ला, ल्वाङ इत्यादि हाल्थ्यौँ । जसले गर्दा हाम्रो शरीरको पचाउने क्षमता सशक्त थियो । हामी भोगटे साँधेर खान्थ्यौँ जो कि संसारका कम मुलुकमा मात्र खाइन्छ । त्यसैले गर्दा हामीसँग रोग प्रतिरोधी शक्ति बलियो हुन्थ्यो भन्ने लाग्छ । नेपालमा त्यो ढंगले अहिले कोरोनाभाइरस नफैलिएको पनि यही कारणले होला । यसलाई आयुर्वेदले के भन्छ भनेर मैले खोज्न लागेको छु । उपयुक्त पात्र भेटाएको छैन ।

अहिले अभिनन्दनका लागि ‘नमस्ते’ गर्नु उत्तम भन्ने आएको छ । हाम्रो पूर्वीय दर्शनमा साष्टाङ्ग दण्डवत भनेर खुट्टामा ढोग दिने चलन छ । हाम्रो सभ्यता संस्कृतिमा मान्य मान्छेलाई अभिनन्दन गर्दा नमस्ते मात्र थिएन । नमस्ते अहिलेका लागि मिल्यो । टाढा बसेर गर्न मिल्यो । मान्छेले साष्टाङ्ग दण्डवतलाई हेरेन । यसमा पनि छलफल हुनुप¥यो भन्ने मेरो दृष्टिकोण छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.