बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सीमा क्षेत्रका गाउँ पहिला बेपरवाह, अहिले खतराको घण्टी

लुम्बिनी आसपासका गाउँमा पनि भारतको झट्का
आइतबार, २३ चैत २०७६, १६ : ३२
आइतबार, २३ चैत २०७६

बुटवल । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’का कारण देशभरको जनजीवन प्रभावित हुँदा पनि नेपाल–भारत सीमावर्ती रुपन्देहीको मर्चवार क्षेत्रमा यसको प्रभाव देखिएन । खुला सीमाना रहेको यो ठाउँमा नेपाल र भारत दुवैतिर लकडाउन हुँदा पनि मानिसहरु साईकलमा आउ–जाउ गरिरहेको पाइन्छ । स्थानीय तहले पनि अन्य ठाउँको तुलनामा यहाँ खासै ध्यान दिएको छैन ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने मर्चबारमा अन्य क्षेत्रको तुलनामा क्वारेन्टाइन निर्माण पनि निकै ढिलामात्र भएको थियो । हरेक स्थानीय तहले विदेशबाट आएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने भए पनि मर्चबार क्षेत्रमै पर्ने समरीमाई गाउँपालिकाले त्यस्ता मानिस क्वारेन्टाइनमा बस्न नमानेको भन्दै २ दिनमा छाडिदिएको थियो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा लामो समयदेखि बेपरवाह रहँदै आएको यो क्षेत्रमा यतिबेला भने ठूलो झट्का लागेको छ । सीमावर्ती भारतीय गाउँमा ६ जना कोरोना संक्रमित भेटिएपछि स्थानीय तहका जनप्रतिनिधिहरु झस्किएका छन् ।

शनिबार रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भेटिएको भारतीय गाउँ कोल्हुईबाट नेपाली भूभाग मर्चवारीमाई गाउँपालिका पैदल पुग्न १० मिनेटमात्र लाग्दछ । समरीमाई गाउँपालिका पनि २५ किलोमिटर दुरीमा पर्दछ । 

मर्चवारीमाईका अध्यक्ष केशवनन्दन बानियाँले सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएको जानकारी पाएसँगै मर्चवार क्षेत्र पूरै त्रसित बनेको बताए । अहिले सो क्षेत्रमा कोही पनि घरबाहिर ननिस्किएको उनको भनाइ छ ।

कोल्हुई मर्चवारवासीको प्रमुख बजार हो । कोरोना संक्रमणको सन्दर्भमा शुक्रबारसम्म बेपरवाह देखिएका स्थानीयबासी र स्थानीय तहका प्रतिनिधि, कर्मचारी अहिले भने सम्भावित जोखिमलाई लिएर चिन्तित हुन थालेका छन् ।

लुम्बिनी आसपास पर्ने गाउँहरु अहिले सीमावर्ती भारतीय क्षेत्रमा संक्रमित पाइएसँगै धेरै आत्तिएको समरीमाई गाउँपालिकाका बासिन्दा निरज पाठकले रातोपाटीलाई बताए ।

यसरी पत्ता लाग्यो संक्रमण 
सीमावर्ती भारतीय गाउँ कोल्हुईमा कोरोना संक्रमितहरु हालै दिल्लीबाट आएको पाइएको छ । उनीहरू दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएकाहरू रहेको बताइएको छ । उनीहरूलाई भारतीय प्रहरीले गत बुधबार नियन्त्रणमा लिएर बिआरडी मेडिकल कलेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो ।

नेपालजस्तै भारतमा पनि लकडाउन छ । शनिबार बिहान रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको र परिवारका सदस्यहरूलाई पनि क्वारेन्टाइनमा राखिएको भारतीय अधिकारीहरूले बताएका छन् । ६ जनामा कोरोना भएको बताए पनि उनीहरुको पुरै विवरण भने अझै खुलाइएको छैन । उनीहरुसँगै रुपन्देहीको मर्चवार क्षेत्रका गाउँमा पनि थप जोखिम बढेको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

सुस्त काम 
रुपन्देहीको सीमावर्ती क्षेत्रमा नेपालीहरु शुक्रबारसम्म आफ्नै धुनमा मस्त थिए । लकडाउन भए पनि भारतबाट आउ–जाउ भइरहेको थियो । लकडाउनको अवधि मै केही मानिसहरु भारतबाट आएको स्थानीय जनप्रतिनिधिहरु नै बताउँछन् । 

अन्यत्र कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइन तथा अन्य सतर्कताका उपाय अपनाइदासमेत यस क्षेत्रमा आवश्यक तयारी तथा सतर्कताका काम सुस्त नै थिए । स्थानीय प्रशासनले भारततर्फको आउजाउ पूर्ण रुपमा रोक्न सकेनन् भने खुला सीमामा सामान्य अवस्थाका जस्तै गतिविधि भइरहे । 

यहाँसम्म कि समरीमाई गाउँपालिका–१ मा निर्माण गरिएको क्वारेन्टाइनमा २४ जनालाई  राखिए पनि २ दिनमै छाडियो । गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला क्वारेन्टाइन व्यवस्थापन गर्न कठिन भएकोले उनीहरुलाई निगरानीमा बस्ने शर्तमा छाडिएको बताए ।

रातोपाटीसँग गाउँपालिका अध्यक्ष शुक्लाले भने, ‘ठाउँ पनि सानो भयो, असुविधाको गुनासो आयो अनि सबैलाई घरमै बस्न भनेर पठाइयो ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने आफूहरूले व्यवस्थापन गर्न असहज भएकाले नेपाली सेनालाई क्वारेन्टाइनको जिम्मा दिएको नगरप्रमुख मनमोहन चौधरीले बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका भारतीय सीमासँग जोडिएको तथा बुद्ध जन्मस्थल लुम्बिनी रहेको क्षेत्र हो । 

समरीमाई गाउँपालिकाको वार्ड नम्बर २ र ३ भारतसँग जोडिएका छन् । गाउँपालिकाले स्थानीय स्तरमा सावुन, सेनेटाईजर, मास्क आदिको व्यवस्थामा ध्यान नदिएको समरीमाईका स्थानीय युवा निरज पाठकले रातोपाटीलाई बताए । नजिकैको सीमावर्ती क्षेत्रमा कोरोना संक्रमण देखिएपछि त्रास बढेको उनले बताए ।

बल्ल कडाइ गर्न थालियो 
सुनौली नाका पर्ने रुपन्देही प्रशासनलाई खुला सीमानाका कारण भारत आउजाउ रोक्न सकस नै छ । मर्चवारका दर्जनभन्दा धेरै साना नाकामा आउजाउ रोक्न सामान्य प्रयासले सम्भव देखिदैँन ।

सीमावर्ती भारतीय गाउँमा कोरोना संक्रमित भेटिएसँगै रुपन्देही प्रशासनले सीमा क्षेत्रमा कडाइ गर्न थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनले सीमा क्षेत्रमा एकले अर्कोलाई देख्ने गरी सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।

सीमा क्षेत्र पूर्ण रुपमा बन्द गर्न थप सशस्त्र प्रहरी ल्याएर खटाइने उनको भनाइ छ । उनले स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर सीमा पूर्ण रूपमा बन्द गराउन आग्रह गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप