शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन !

आइतबार, २३ चैत २०७६, १७ : २०
आइतबार, २३ चैत २०७६

सरकारले कोरोना भाइरस कोडिभ (१९) संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना कोरोना संक्रिमत पत्ता लागेसँगै विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको हो ।

तीन महिनाको अवधिमा ९ जना कोरोना संक्रमित मध्ये ८ जना विदेशबाट संक्रमित भएर आएको पुष्टि भएको छ । तर शनिबार भने कैलालीस्थित घरमै बसेकी एक महिला  कोरोना संक्रमित भएको पत्ता लागेसँगै नेपाल लोकल ट्रान्समिसन अर्थात् कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती संक्रमित महिलाको यात्रा विवरण छैन । उनी दुबईबाट आएका चौथो संक्रमित व्यक्तिको नातेदारसमेत भएको मन्त्रालयको भनाइ छ । नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेसँगै लकडाउनले मात्रै संक्रमण नियन्त्रण तथा रोकथाम हुन नसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी बताउँछन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै अर्को चुनौतीको घण्टी बजेको पूर्वनिर्देशक डाक्टर मरासिनीको भनाइ छ । यस भाइरसले महामारीको रुप लिएको खण्डमा कोरोनाभाइरस नियन्त्रणमा नआउन सक्ने अवस्था पुग्ने उनी बताउँछन् । सन् २०१२ मा फैलिएको सार्स अहिलेसम्म पनि पूर्णरुपमा नियन्त्रणमा नआएको हुँदा सरकार र जनता गम्भीर भएर कोरोनाभाइरस नियन्त्रणमा लाग्नुको विकल्प नभएको डाक्टर मरासिनी बताउँछन् । 

नेपालभर दुई सातादेखि लकडाउन गरे पनि कतिपय जनतालाई लकडाउन के हो र किन गरेको भन्नेसम्म थाहा नभएको डाक्टर मरासिनी बताउँछन् । ‘कोरोना संक्रमण नियन्त्रणका लागि मुख्य कुरा जनताहरुमा जनचेतना फैलाउन पर्छ,’ उनले भने, ‘लकडाउन र कोरोनाभाइरस भनेको के हो भनेर बुझाउनुपर्छ ।’

सरकारले विगत १ सय दिनदेखि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘सरकारले यस १ सय दिनको अवधिमा देशभरका ५० हजार स्वयम्सेविकालाई कोरोना भाइरस के हो, कसरी सर्छ, सावधानी कसरी अपनाउने भनेर परिचालन गर्नुप¥थ्यो,’ डाक्टर मरासिनी भन्छन् ‘अझै पनि केही बिग्रिएको छैन स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरे हुन्छ ।’

सञ्चारमाध्यमको भरपुर प्रयोग गरेर स्थानीय भाषामा समेत कोभिड–१९ को संक्रमणको बारेमा सुदुरपश्चिमका विकट गाउँदेखि हिमालीपहाडि क्षेत्रका दूरदराजसम्मका जनताहरुमा जनचेनता फैलाउन जरुरी भएको उनले बताए । उपत्यका लगायत शहरी क्षेत्रका जनताले मात्रै लकडाउन के हो भन्ने बुझेर कोरोनासंक्रमण नियन्त्रण नहुने डाक्टर मरासिनीको भनाइ छ ।

यस्तै कोरोनाभाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै परीक्षण गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्ने उनी बताउँछन् । स्वास्थ्यकर्मीको मनोबल बढाएर व्यक्तिगत सुरक्षात्मक उपकरण व्यवस्थापन गरी स्थानीय तहको हेल्थपोष्टदेखि अस्पतालहरुलाई परीक्षणको  व्यवस्था मिलाउनुपर्ने उनी बताउँछन् । कोरोनाभाइरसको संक्रमण रोकथामका लागि प्रहरीलाई समेत स्थानीय स्तरमा जनचेतनाका लागि खटाउनुपर्ने उनी बताउँछन् ।

कस्तो हुन्छ कोरोनाभाइरस संक्रमणका चरणहरु :

नेपाल अहिले कोरोनाभाइरस संक्रमणको दोसो चरणमा प्रवेश गरेको छ । कोरोनाभाइरस संक्रमणको पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा कस्तो–कस्तो अवस्था आउँछ ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुन भन्छन्,

पहिलो चरण : नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो चरणमा ८ जना भेटिए । कोरोनाप्रभावित राष्ट्रबाट संक्रमित भएर आएकालाई संक्रमणको पहिलो चरण हो । ती ८ कोरोना संक्रमित आयातित भएको पहिलो चरण हो ।

दोस्रो चरण : कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा भनेको लोकल ट्रान्समिसन हो । यस चरणमा प्रभावित क्षेत्रबाट आएका व्यक्तिबाट अर्का स्थानीय व्यक्तिमा कोरोना  संक्रमण हुनुलाई लोकल ट्रान्समिशन भनिन्छ । जस्तै कैलालीस्थित घरमै बसेकी एक महिलालाई कोरोना भाइरस देखिनु लोकल ट्रान्समिसन वा दोस्रो चरण  हो ।

तेस्रो चरण : कोरोना भाइरस कोभिड–१९ को संक्रमणको तेस्रो चरण भनेको एक व्यक्तिबाट धेरै व्यक्तिमा सर्ने अवस्था हो । कोरोना भाइरस संक्रमणको तेस्रो चरणमा कन्ट्याक्ट ट्रेसिङ गर्न कठिन हुने अवस्था हुन्छ ।

चौथो चरण : कोरोनाभाइरसको चौथो चरण भनेको नियन्त्रणभन्दा बाहिर जानु हो । यस अवस्थामा कोरोनाभाइरस संक्रमणको महामारी कहिलेसम्म रहन्छ भन्ने स्थिति थाहा हुँदैन । चीन, इटालीमा जस्तै परिस्थीति नियन्त्रण भन्दा बाहिर जानुलाई महामारीको चौथो चरण भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप