शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भानुआतुमा प्राकृतिक विपत्ति निम्तिने खतरा

सोमबार, २४ चैत २०७६, १४ : ४४
सोमबार, २४ चैत २०७६

पोर्टभिला । प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् । 

ह्यारोल्ड नाम दिइएको यस आँधीका कारण गत साता सोलोमन द्वीपमा २७ जनाको ज्यान गएको थियो । भानुआतुको जलवायू विज्ञान विभागले गएराति भानुआतुमा आँधीको स्तर पाँचमा पुगेको जनाएको छ । यो आँधी २३५ किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा रहेको छ । भानुआतुका धेरै भागमा आपतकालीन स्थितिको घोषणा गरिएको छ । 

आँधीका कारण सोमबार बिहान दुर्गम पूर्वी तटीय एस्पिरिटु सान्टोमा पहिरो गएको र त्यहाँबाट आँधी भानुआतुको दोस्रो ठूलो शहर लुगानभिल्लेमा प्रवेश गरेको थियो । यो शहरमा १६ हजार ५०० को बसोबास छ । यो आँधी मंगलबार राजधानी पोर्ट भिलाहुँदै उत्तरतर्फ लाग्ने अनुमान गरिएको छ । 

भानुआतुका अधिकारीहरुले ठाउँठाउँमा बाढी आउने तथा विशाल समुद्रमा तैरिरहेका डुंगाहरुलाई किनारामा ल्याएर राम्रोसँग राख्न अनुरोध गरेका छन् । 

उता, कोरोनाभाइरसका कारण भानुआतुका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुका साथै मानिसहरुलाई ठूलो समूहमा भेला नहुन आदेश जारी गरिएको छ । भानुआतु रेडक्रसका विपद संयोजक अगस्टाइन गाराले कोविड–१९ सँग जुध्नु परेको भानुआतुले फेरि आकस्मिक सामुद्रिक आँधीको विपद् खेप्नु परेको बताए । 

यसअघि सन् २०१५ मा आएको पाम नामकरण गरिएको आँधीका कारण भानुआतुमा अन्तर्राष्ट्रिय सहायता परिचालन गर्नु परेको थियो । यसपटकको ह्यारोल्ड आँधीबाट प्रभावितका लागि राहत उपलब्ध गराउनु परेको खण्डमा कोरोनाभाइरस पनि सँगै भानुआतु भित्रिने आशंका स्थानीय अधिकारीमा रहेको छ । –एएफपी/Photo:BBC
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप