शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ डा. भोला रिजालको लकडाउन डायरी

सोमबार, २४ चैत २०७६, १५ : २२
सोमबार, २४ चैत २०७६

काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा चैत ११ गतेदेखि जारी लकडाउनले सबै व्यक्तिलाई प्रभाव पारेको छ । सधैँ सर्वसाधारणको स्वास्थ्य उपचारमा खटिने डा. भोला रिजालको दैनिकीसमेत यो लकडाउनले फेरिएको छ । 
डा. भोला रिजाल भर्सनटाइल व्यक्तित्व हुन् । त्यसैले उनका परिचय अनेक छन् । धेरैले उनलाई चिकित्सकका रूपमा चिन्छन् । उनको अन्य परिचय गीतकार, साहित्यकार र फिल्म निर्माता पनि हो ।चिकित्सा पेसामा ठूलो योगदान दिएका डा. रिजाल लकडाउनले मानिसलाई जिउने तरिका सिकाएको समेत बताउँछन् ।

यो पूरै अवधि घरमै बिताइरहेको डा. रिजालले रातोपाटीसँग यसरी सुनाए आफ्नो लकडाउन डायरीः

लकडाउनका हरेक दिन म घरमै बिताइरहेको छु । यसले मेरो दैनिकीमा खासै असर पारेको छैन । विगत ६, ७ महिनादेखिको मेरा क्रियाकलाप अहिले पनि त्यस्तै छन् । म हरेक दिन बिहान ५ बजे उठ्छु । नुहाउने लगायत नित्यकर्म सक्छु ।

झन्डै ७ महिना अगाडि मेरो स्पाइनल सर्जरी भएको थियो । सो सर्जरी गरेर आएपछि बिहान म करिब एक घण्टा मर्निङवाक नियमित गर्थें । कोरोनाको कारण लकडाउन भएपछि भने करिब १५, २० मिनेट घरको वरिपरि हिँड्छु ।

मर्निङवाक सकिएपछि बिहानको नास्ता लिन्छु । त्यसमा कहिले साबुदाना, कहिले दूध र पाउरोटी तथा कहिले अन्डा र रोटी खान्छु ।

मेरो पहिले बिहान सधँै सबै पत्रपत्रिका पढ्ने बानी थियो । कोरोनाको कारणले अहिले पत्रपत्रिका घरमा ल्याउन बन्द गर्दिएको छु । अहिले विभिन्न अनलाइन समाचार पढ्छु । त्यसबाट देशको अवस्था, कोरोनाको अवस्था, जनताको अवस्था र राजनीतिक गतिविधि थाहा हुन्छ । 

अनलाइन समाचार हेरेपछि करिब ९ बजेतिर म फिजियो थेरापीतिर लाग्छु । मेरो फिजियो थेरापी सिकाउने गुरु घरमा आउनु हुन्थ्यो । कोरोनाको कारणले लकडाउन भएपछि आउन अब्ठ्यारो हुने भएकाले नआउनु भनिदिए ।


अहिले आफै करिब डेढ घण्टा फिजियो थेरापी गर्छु ।

त्यसपछि श्रीमान् श्रीमतीसँगै बसेर गफ गर्छाैं । केही नयाँ विषय छन् भने चर्चा गर्छाैं । देश विदेशबाट आएका फोन रिसिभ गर्छु । 

बिहानको खाना म करिब १२, १ बजे खान्छु । खाना खाएपछि घाममा बसेर विभिन्न खबर हेर्छु । सुनेका, कसैले भनेका, गरेका र इन्ट्रेस्टिङ विषयमा श्रीमतीसँग चर्चा गर्छु ।

त्यसरी चर्चा गर्दा करिब ५ बजेतिर आफ्नो कोठातिर लाग्छु । कोठा मिलाउँछु र त्यसपछि करिब आधा घण्टा जस्तो फिजियो थेरापीको लागि साइक्लिङ गर्छु ।

करिब ७ बजेतिर म टेलिभिजन खोलेर नयाँ खबर, जल्दोबल्दो खबर र इन्ट्रेस्ट लाग्ने च्यानल हेर्छु । च्यानलमा गीतसङ्गीत, गायक गायिका लगायत कलाकारको अन्तवार्ता समेत हेर्छु । 

मेरो ३ जना छोराहरु विदेशमै छन् । एउटा लन्डनमा छ, एउटा यूकेमा र एउटा क्यानडामा छ । उनीहरुको फुर्सदको समय मिल्यो भने गफ गर्छु । क्यानडामा हुने छोरासँग बिहान र बेलुका गफ हुन्छ । 

लन्डन र यूके बस्नेसँग दिनको १ बजेतिर र साँझ गफ हुन्छ । अहिले पनि केही लेख्नु पर्यो भने, पढ्नु छ भने साँझतिर नै गर्छु । अहिले कोरोनाको समय भएकाले यस विषयमा नयाँ अपडेटका कुराहरुमा चासो लिन्छु । करिब १० देखि ११ बजेभित्र म सुत्छु । 

आफूले गर्दा अरू पनि बाँच्छन् 
पहिले म धेरै नै व्यस्त भएँ । तर स्पाइन सर्जरी भएपछि मैले आफ्नो बिजी सेडुल घटाएको थिएँ ।

म बेलाबेलामा नेपाल मेडिकल कलेज, हेम्स अस्पताल पनि जान्थँे । ती अस्पतालमा पनि अहिले २५ प्रतिशत मात्र समय दिने गरेको छु ।

त्यसैले पनि म पछिल्ला दिनका धेरै समय घरमा बिताउँथे । त्यसले गर्दा यो कोरोनाको समयले पनि त्यति अब्ठ्यारो महसुस भएको छैन । तर एउटा कुरो के भने परिवारका सदस्यसँग धेरैभन्दा धेरै समय बिताउने, बिहान बेलुकाको खानासँगै खाने अवसर भने मेरो सर्जरी र यो कोरोनाको कारणले मिलेको छ ।

जीवनको प्लान
मेरो एउटा अनुभव के रह्यो भनेदेखि कोरोनाले यो संसारलाई तहसनहस बनाए पनि नेपालमा थोरै भए पनि सास फेर्ने ठाउँ छ ।

भोलिको अवस्था कस्तो हुन्छ, थाहा छैन । तर आफ्नो बचावटले गर्दा अरू पनि बाँच्छन् भन्ने एउटा राम्रो सन्देश लकडाउनले दिएको छ । 

त्यही कारणले पनि म सामाजिक दूरी कायम राखेर बाहिर निस्किएको पनि छैन । बाहिरको मानिसलाई घरमा आउन दिएको पनि छैन ।

यो अवस्था काम गर्ने केटाबाहेक म र मेरी श्रीमती बिहान, दिउँसो, बेलुका अधिकांश समय सँगै हुन्छाँै । पहिले डिसाइड नभएका कुरा अहिले छलफल गरेर बिस्तार डिसाइड गर्र्र्दैछौँ । पछिका जीवन लागि पनि के गर्ने भन्ने किसिमको थोरै भए पनि प्लान बनाइरहेका छौँ ।

कोरोनाले एउटा पारिवारिक पृष्ठभूमिमा सँगै राख्ने काम गरेको छ । आध्यात्मिक चिन्तन नभएका हामी भौतिकवादीहरुलाई पनि कोरोनाले एउटा ठूलो अवसर दिएको छ । यसले फरक तवरले जिउने तरिका सिकाएको छ ।

म होइन हामी भन्न बाध्य गराएको छ । पारिवारमा समेत यसले सौहार्दपूर्ण वातावरण सिर्जना गरेको मैले अनुभव गरेको छु ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप