केन्द्रीय संस्करण
अन्तरवार्ता

कोरोना नियन्त्रण गर्न ‘मास टेस्टिङ’ जरुरी छ : डा. अमर नागिला (अन्तरवार्ता)

person explore access_timeचैत २४, २०७६ chat_bubble_outline0

थाइल्यान्डको मोइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका प्रयोगशालाविद् डा. अमर नागिला पोखरा विश्वविद्यालयमा प्राध्यापन गर्छन् । गण्डकी मेडिकल कलेजमा पनि प्राध्यापकको  रूपमा काम गरिसकेका डा. नागिला पोखरास्थित फिस्टेल हस्पिटलको प्रयोगशाला विभाग प्रमुख समेत हुन् । प्रस्तुत छ, गण्डकी प्रदेशको एक मात्र ‘क श्रेणीको प्रयोगशाला, लाइफ केयर डाइग्नोस्टिक’का सञ्चालक समेत रहेका डा. नागिलासँग कोरोना भाइरस (कोभिड–१९)को सम्बन्धमा गरिएको अन्तरवार्ताको सम्पादित अंश :

कोरोनाको टेस्ट जुन गतिमा जानुपर्ने हो गएको छैन, किन होला ?
तपाईंले सोधेझैँ टेस्टको गति सुस्त भएको सत्य हो । तर यसो हुनुको पछाडि केही कारण छन् । कोरोना भाइरस (कोभिड–१९) विश्वभर नै तीव्र सङ्क्रमणको  रूपमा फैलिएपछि सोको पूर्वतयारी हाम्रोजस्तो विकासोन्मुख मुलुकमा हुने कुरै भएन । टेस्ट गर्ने काम नै ढिला सुरु भयो । सुरु गरेपछि पनि राज्यसँग स्रोतसाधनको अभाव भयो । भएका विज्ञ तथा स्रोतसाधनको पनि सही पहिचान र परिचालनको कमीले नमुना जाँच यथेष्ट मात्रामा हुन सकिरहेको छैन । तर हामीले जति ढिला गर्छौैँ त्यति नै सङ्क्रमणको जोखिम बढ्दै जान्छ । त्यसबाट जोगिने उत्तम उपाय नै ‘मास टेस्टिङ’ अर्थात् बृहत परीक्षण हो ।

हामीसँग मेनपावरको कमी हो कि प्राविधिक हिसाबले कमजोर हौँ ?
प्राविधिक हिसाबले हामी कमजोर नै हौँ । डब्लूएचओले मान्यता दिएको एक मात्र कोरोना परिक्षणको विधि आरटी– पीसीआरहो । सुचारु रहेको आरटी– पीसीआर राष्ट्रिय स्वास्थ्य प्रयोगशाला, टेकुमा मात्रै थियो ।

पोर्टेबल आरटी– पीसीआर केही दिनअघि मात्रै नेपालमा भित्रिएको हो । रिसर्च सेन्टर र केही प्राइभेट स्तरमा आरटी– पीसीआर रहेका छन् । दक्ष जनशक्तिको भने अभाव होइन । तर उनीहरु राज्यको निकायसँग कम आबद्ध छन् । यस्तो बेला राज्यले सरकारी तथा गैरसरकारी दक्ष जनशक्तिको उचित परिचालन गर्नुपर्छ ।

हरेक स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बेला हो यो र सरोकारवालाले स्वास्थ्यकर्मीलाई साधनस्रोत उपलव्ध गराई उच्च सम्मानसहित मनोबल बढाइदिनुपर्छ । 

अहिले टेस्टको दायरा फराकिलो बनाउन -यापिड किटको प्रयोग गर्ने कुरा छ, यसको विश्वसनीयता कति हो ?
कोरोना भाइरसको सङ्क्रमण जाँच गर्ने विभिन्न विधि छन् । संसारभर प्रयोग गरिएको विधि आरटी– पीसीआर हो, जसले भाइरसको दुईदेखि चारवटा ‘जिन डिटेक्ट’ गर्दछ । अर्को विधि IgM/IgG एन्टीबडीहरु परीक्षण गर्ने हो । -यापिड किट टेस्टमा IgM/IgG एन्टीबडी जाँच गरिन्छ । कोभिड–१९ को सङ्क्रमण भएपछि बिरामीको प्रतिरक्षात्मक प्रणालीले क्ष्नःरक्ष्नन् एन्टीबडीहरु पैदा गर्दछन् । IgM पहिलो एन्टिबडी हो, जसले सङ्क्रमण गरेको करिब १० देखि २१ दिनसम्म पैदा हुन्छ भने IgG सङ्क्रमण भएको १४ दिनमा पैदा भई लामो समयसम्म शरीरमा रहन्छ । 

रगतमा IgM/IgG एन्टिबडीको जाँच गर्ने सरल तरिकाको विधि नै ¥यापिड किटको प्रयोग गर्ने हो । यस ¥यापिड किटलाई डब्लूएचओले मान्यता दिएको छैन र कोभिड–१९ को सङ्क्रमण सुरुमै पत्ता लगाउन यस -यापिड किटको उपयोगिता र विश्वसनियता दुवै छैन ।

अनि यो अहिलेको ‘पोर्टेबल पीसीआर’ मेसिनबाट एक घण्टामा एउटा मात्र परीक्षण हुने रहेछ, त्यही मेसिनको प्रयोगबाट कसरी टेस्टको सङ्ख्या बढाउन सकिन्छ ?
सकिँदैन । पोर्टेबल पीसीआर मेसिन विशेषतः कोभिड–१९ जाँच गर्न बनाइएको तुलनात्मक  रूपमा उपयोग गर्न सजिलो छ र यसको कमजोरी भनेको एक पटकमा एक मात्रै नमुना जाँच गर्न सकिन्छ । यस मेसिनबाट दिनमा करिब २० वटा मात्रै जाँच गर्न सकिन्छ ।

सरकारले ल्याएको ५ वटा यो मेसिनबाट दिनभरमा एक सय मात्रैको टेस्ट हुन्छ । यसको दाँजोमा ९६ वेल प्लेट आरटी– पीसीआर मेसिनले एकै पटकमा ९६ वटा नमुना जाँच गर्न सक्दछ, जसबाट दिनमा सयौँ मात्रामा टेस्ट गर्न सम्भव हुन्छ । अहिलेको परिस्थितिमा बृहत परीक्षण गर्नका लागि ९६ वेल प्लेट आरटी– पीसीआर मेसिन नै देशको विभिन्न ठाउँमा सञ्चालनमा ल्याउनु अति आवश्यक छ ।

गण्डकी प्रदेशको सन्दर्भमा पुरानो मेसिनलाई पनि प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि आएको छ, यसमा कति सत्यता छ ?
तपाईंले सोधेको मेसिनमा समस्या देखिएको कारणले पोर्टेबल आरटी–पीसीआर ल्याइएको हो । म आफैँ संलग्न रहेको समितिले मेसिनबारेको जानकारी गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई गराएको हो । टेस्टको दायरा बढाउनको लागि उक्त मेसिन बनाएर प्रयोग गर्दा धेरैको नमुना जाँच गर्न सकिन्छ । उक्त ९६ वेल प्लेट आरटी–पीसीआर मेसिन उच्च दक्ष जनशक्तिले मात्रै प्रयोग गर्न सक्छन् र यसको गुणस्तरीयता विश्वसनिय छ । 

कोरोना नियन्त्रण गर्न स्वास्थ्यमा प्रभावशाली मानिएका देशहरु पनि चुकिरहेका छन्, किन होला ?
दक्षिण कोरिया, सिङ्गापुर, ताइवान, जर्मनीजस्ता विकसित राष्ट्रहरु कोरोनाको नियन्त्रण गर्न तुलनात्मक  रूपमा सफल देखिएका छन् । उनीहरुले उच्च प्रविधि र दक्ष जनशक्तिको परिचालन गरी भाइरस सङ्क्रमणको परीक्षण हजारौँ मात्रामा गरी यसको चेनलाई तोडेको बुझियो ।

तर अमेरिका, इटली, स्पेन, फ्रान्सजस्ता विकसित राष्ट्रहरुले समयमै सावधानी अपनाएको देखिएन । खुला समाजको परिचायक र मानव अधिकारको रक्षाजस्ता कुराहरुलाई ध्यानमा राखेर मानिस–मानिस बीचको सम्पर्कको कडी तोड्ने प्रयासमा ढिलाइ भयो । यद्यपि उनीहरुसँग रहेको उच्च दक्ष जनशक्ति र स्रोतसाधनको प्रयोग गरी दैनिक हजारौँ टेस्टहरु गरेका छन्, जसले सङ्क्रमित पत्ता लगाई ‘आइसोलेट’ गरेर भाइरसको सङ्क्रमण नियन्त्रण गर्दैछन् ।  
  
नेपालमा टेस्ट बढाउन र रोकथामका लागि के–के गर्नुपर्ला ?
रोग विज्ञानको मान्यता अनुसार कन्टेन्टमेन्ट, डिले, रेस्पोन्स र मिटिगेट्जस्ता चरणमा प्रभावकारीता काम भएको खण्डमा मात्र यस भाइरसको सङ्क्रमणको चुनौतीसँग मुकाबिला गर्न सक्छ । कन्टेन्टमेन्ट चरणमा सङ्क्रमण व्यक्तिव्यक्तिबाट समुदाय तहमा भएको छ वा छैन भन्ने जानकारी लिने गरिन्छ । नेपालको सन्दर्भमा मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा परीक्षण जरुरी छ । 

नेपालमा कोभिड–१९ को सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । सङ्क्रमण समाजमा नफैलियोस् भनेर धेरैभन्दा धेरै टेस्ट गरी बेलैमा सङ्क्रमितको पहिचान गरी आइसोलेसनमा राख्नुपर्छ । अहिलेको लकडाउनको मर्म जतिसक्दो धेरै टेस्ट गरी सङ्क्रमितलाई पहिचान गर्नु हो । नेपालको सन्दर्भमा लक्षण भएका बिरामीलाई मात्र टेस्ट नगरी सम्भावित सबैको टेस्ट गर्न जरुरी देखिन्छ । विकसित राष्ट्रहरुले टेस्टको दायरा बढाई घरघरमा स्वास्थ्यकर्मीले नमुना सङ्कलन र परीक्षण गरी सङ्क्रमितलाई अस्पताल पु-याएको देखिन्छ  । 

नेपालमा पनि सरकारी, गैरसरकारी र प्राइभेट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको संयुक्त प्रयासमा टेस्टको सङ्ख्या बढाउन सकिने देखिन्छ । जसअनुसार ९६ वेल प्लेट आरटी–पीसीआर  मेसिन देशको विभिन्न संस्थाहरुमा सुचारु गर्न सके मात्र दैनिक हजारौँ टेस्ट गर्न सम्भव हुन्छ ।

स्वास्थ्य जनशक्तिको साथ, उच्चतम प्रविधिको प्रयोग, नेतृत्वको इमानसहितको दृढ सक्रियता, नागरिकको अनुशासन र सहयोगबाट नै यो महामारीलाई जित्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.