मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एक डाक्टरको नोट : कोरोनाका कारण मृत्यु हुनेमा पुरुष किन बढी ?

सोमबार, २४ चैत २०७६, १६ : ०५
सोमबार, २४ चैत २०७६

काठमाडौं । ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरस लैङ्गिक जीवाणु हो ? यसको संक्रमणबाट मृत्यु हुनेमा महिलाको तुलनामा पुरुष बढी देखिएका कारण यस्तो प्रश्न स्वाभाविक रुपमा उठ्न थालेको छ ।

कोरोनाभाइरसको संक्रमण सबैभन्दा पहिला देखिएको चीनको तथ्यांक विश्लेषण गर्दा संंक्रमित पुरुषहरुको मृत्यु दर २.८ प्रतिशत पाइएको छ भने महिलामा यो दर १.७ प्रतिशतमात्र पाइन्छ ।

कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानीय क्षति व्यहोरेको इटलीमा भने संक्रमित पुरुषको मृत्यु दर ७.२ प्रतिशत र महिलाको ४.१ प्रतिशत पाइएको छ ।

कोरोनाभाइरस संक्रमणको व्यापक परीक्षण गरिएको दक्षिण कोरियामा पनि संक्रमितमध्ये महिलाको तुलनामा पुरुष नै बढी पाइएको छ । सार्वजनिक रिपोर्टअनुसार त्यहाँ संक्रमितमध्ये ५४ प्रतिशत पुरुष पाइएको छ ।

भाइरसजन्य संक्रमणले लैङ्गिक असमानता देखाएको यो पहिलो पटक होइन । यसअघि ‘सार्स’ र ‘मेर्स’ जस्ता संक्रमणबाट पनि पुरुष नै बढी प्रभावित भएका थिए ।

महिलाको तुलनामा पुरुषलाई कोरोनाभाइरसले किन बढी असर गरिरहेको छ भन्ने प्रश्नको प्रष्ट जवाफ वैज्ञानिकहरुले दिन सकेका छैनन् । यद्यपि यसका केही सैद्धान्तिक विषय भने प्रकाशमा आएका छन् ।

जीवन शैली

पुरुषहरुको जीवनशैलीमा स्वास्थ्यको प्रतिकुल आदत बढी पाइन्छ । यसले दीर्घरोगलाई निम्त्याउने गर्दछ ।

हालसम्म संकलित तथ्यांकअनुसार कोरोनाभाइरसबाट गम्भीर रुपमा पीडित हुनेमा रक्तचाप, हृदय रोग, फोक्सोसम्बन्धी समस्या जस्ता स्वास्थ्य समस्या भएका मानिस बढी देखिएका छन् । पुरुषको जीवनशैली यस्ता रोग विकसित गर्नेखालको पाइन्छ । जस्तो कि, मदिरा तथा सूर्तीजन्य पदार्थ सेवन गर्नेमा पुरुष बढी पाइन्छ । जसका कारण रक्तचाप, हृदय रोग, फोक्सोसम्बन्धी समस्या पुरुषलाई बढी हुने गर्दछ ।

सन् २०१५ मा विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित एक तथ्यांक अनुसार महिलाको तुलनामा पुरुषले पाँच गुणा बढी मदिरा पिउने गरेको पाइन्छ । यस्तै, धुम्रपानमा पनि महिलाको तुलनामा पुरुष झण्डै पाँच गुणा नै बढी छन् ।

धुम्रपान गर्नेहरुमा श्वास प्रश्वास, निमोनिया जस्ता स्वास्थ्य समस्या देखा पर्दछ । यस्ता व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण भएमा खतरनाक अवस्था निम्तिन सक्छ । यस्तै धुम्रपान गर्ने क्रममा मुखसम्म बारम्बार हात पुग्ने गर्दछ । हातमा भाइरस आइपुगेको रहेछ भने धुम्रपानका क्रममा उक्त भाइरस मुख हुँदै शरीरभित्र प्रवेश गर्ने सम्भावना अधिक रहन्छ । यस्तै एउटै चुरोट पालैपालो दुई वा बढी मानिसले प्रयोग गर्दा पनि संक्रमण एक अर्कामा सर्ने सम्भावना अधिक रहन्छ ।

यस्तो जीवनशैलीमा महिलाको तुलनामा पुरुष बढी संलग्न रहने भएकाले पनि कोरोना भाइरसको संक्रमण र मृत्युदरमा पुरुष अधिक पाइएको हुन सक्छ ।

चीनमा गरिएको अध्ययन अनुसार महिलाको तुलनामा पुरुष बढी धुम्रपान गर्दछन् । उक्त अध्ययनअनुसार कुल जनसंख्याको ५० प्रतिशत पुरुष र तीन प्रतिशत महिला धुम्रपान गर्ने गर्दछन् । लैंगिक असमानताका विषयमा धुम्रपान पहिलो र मुख्य विषयका रुपमा देखा पर्दछ ।

अन्य मुलुकबाट पनि यस्ता तथ्यांक प्रकाशमा आइरहेका छन् । जस्तो कि, इटलीमा ७ मिलियन पुरुष धुम्रपान गर्दछन् भने धुम्रपान गर्ने महिला साढे ४ मिलियन छन् । अन्य देशको तुलनामा त्यहाँ धुम्रपानको सवालमा धेरै लैंगिक असमानता देखिदैँन ।

हात धुने

कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि साबुनपानीले राम्रोसँग हात धुनु एउटा भरपर्दो उपाय मानिएको छ । भाइरसको संक्रमणबाट बच्न नियमित रुपमा साबुनपानीले हात धुनुपर्ने आवश्यकता यतिबेला जनचेतनाका रुपमा विकास गराइएको छ ।

यस दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने पनि पुरुषको हातको स्वच्छता महिलाको तुलनामा खराब हुने निष्कर्ष अध्ययनहरुले देखाएका छन्, जसका कारण पनि कोरोना संक्रमणले पुरुषलाई बढी प्रभावित पारेको हुन सक्छ ।

सन् २००९ मा अमेरिकी अध्ययनले देखाएअनुसार केवल ३१ प्रतिशत पुरुषमात्र सार्वजनिक शौचालय प्रयोग गरेपछि आफ्नो हात धुने गर्दछन् । जबकि सार्वजनिक शौचालय प्रयोग गरेका ६५ प्रतिशत महिलाले आफ्नो हात धुने गरेको पाइएको छ । हात धुने क्रममा धेरैजसो महिलाले साबुन प्रयोग गरेको पाइन्छ भने धेरैजसो पुरुष हात धुने क्रममा पानीमात्र प्रयोग गर्दछन् ।

यद्यपि कोरोना संक्रमित महिला र पुरुषको संख्या लगभग बराबर पाइएको छ । तर संक्रमित महिलाको तुलनामा पुरुषको मृत्यु दर बढी पाइएका कारण हातधुने विधि र बानीका कारण मात्र मृत्युदरको यो भिन्नता आधारित छैन ।

सहयोगको आवश्यकता

पुरुषको तुलनामा महिलाहरु सहयोगको अपेक्षा बढी नै गर्दछन् । स्वास्थ्यसम्बन्धी चिन्ता पनि महिलामा बढी नै हुने गर्दछ ।

उदाहरणका लागि महिलामा सामान्य स्वास्थ्य समस्या देखिए पनि उनीहरु उपचारका लागि मद्दत लिन जाने गर्दछन् । तर पुरुषमा यस्तो स्वभाव पाइँदैन । पुरुषहरु आफू गम्भीर अवस्थामा नपुगुन्जेलसम्म यस्तो सहयोग लिन जाने गर्दैनन् ।

कोरोना संक्रमणबाट महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुनुमा महिला र पुरुषको जीवनशैली र स्वभावमा देखिने यो भिन्नतालाई पनि एउटा कारक मान्न सकिन्छ । कोरोनाभाइरसको संक्रमणबाट महिला र पुरुष लगभग एउटै हाराहारीमा पीडित भएको अवस्थामा महिलाहरु चाँडै उपचारका लागि पुग्ने र पुरुष आफूमा गम्भीर लक्षण देखा नपर्दासम्म उपचारका लागि नजाने गरेका कारण पनि मृत्यु दरमा पुरुषको संख्या बढेको हुन सक्ने निष्कर्षमा पुग्न सकिन्छ ।

प्रतिरक्षा प्रणाली

विभिन्न अध्ययनहरुका अनुसार पुरुषको तुलनामा महिलामा रोग प्रतिरक्षा प्रणाली अधिक पाइन्छ । यसको अर्थ पुरुषको तुलनामा महिलामा भाइरससँग लड्ने क्षमता बढी हुने गर्दछ ।

महिलामा इम्युन सिस्टम बलियो हुने भएकाले पनि उनीहरु कोरोना संक्रमणका बाबजुद पुरुषको तुलनामा कम हानिकारक अवस्थामा रहन्छन् । जबकि पुरुषलाई संक्रमणले बढी असर गर्दछ ।

हार्मोन

महिला र पुरुषबीच प्रतिरक्षात्मक प्रणालीको अन्तरका लागि हार्मोनको भूमिका पनि मुख्य मानिन्छ । विभिन्न अध्ययनअनुसार मासिक धर्म चक्र, गर्भावस्था लगायतका शारीरिक अवस्थामा महिलाहरुको हार्मोनमा परिवर्तन देखिन्छ । हार्मोनमा हुने परिवर्तनका कारण पनि भाइरसको संक्रमणले गर्ने असर महिलामा कम देखिने अनुसन्धानहरुको निष्कर्ष छ ।

सन् २००२/२००३ मा सार्सको प्रकोपका क्रममा जनावरमा गरिएको अध्ययनले यो सैद्धान्तिक पक्षलाई उजागर गरेको पाइन्छ । मुसामा गरिएको अनुसन्धानमा शोधकर्ताहरुले एस्ट्रोजन उत्पादन गर्ने अण्डासयलाई हटाएका थिए । परिणामस्वरुप त्यस्ता मुसामा मृत्युदर बढी पाइएको थियो । यसको निष्कर्ष भनेकै एस्ट्रोजनको भूमिका सार्स संक्रमित मुसामा सुरक्षात्मक आधारका रुपमा देखिएको थियो ।

एक्स क्रोमोजोम

महिलाको प्रतिरक्षा प्रणालीले विभिन्न काम गर्न सक्नुमा उनीहरुमा रहेको ‘एक्स क्रोमोजोम’ पनि एउटा आधारका रुपमा देखिएको छ ।

महिलामा दुईवटा ‘एक्स क्रोमोजोम’ पाइन्छ जबकि पुरुषमा एक (एक्स वाई) क्रोमोजोम हुन्छ । शरीरको प्रतिरक्षालाई नियमित तुल्याउन ‘एक्स क्रोमोजोम’ महत्वपूर्ण मानिन्छ । महिलामा यस्तो क्रोमोजोम दुई वटा हुनुको फाइदा उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

यद्यपि अझै पनि कोरोना संक्रमणबाट पुरुषको तुलनामा महिला किन बढी प्रभावित भए भन्ने बारे ठोस निष्कर्ष आइसकेको छैन । इम्युनोलोजी र एन्टीबडी अध्ययनले नै यसबारे अधिक जानकारी प्राप्त गर्न सकिन्छ ।

संक्रमणले लैंगिक असमानतलाई कतै आधार बनाएको छ भने जीवनशैली, व्यवहार, प्रतिरक्षात्मक हार्मोन, अनुवांशिक कारणहरुको संयोजनकै सेरोफोरोमा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

स्रोत अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप