शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राहत वितरणको फोटो खिच्न नपाइने !

सोमबार, २४ चैत २०७६, १९ : ३६
सोमबार, २४ चैत २०७६

स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो । 
जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने÷खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ । 
 संदेनशील घडीमा मानवीय संवेदनलाई मध्येनजर राख्ने भन्दै सो निर्णय गरिएको हो । 

समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकारमाथि ठाडो हस्तक्षेत रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएको हो । 

वालिङ नगरपालिकाको नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन–२०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनेको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ स्थानीय तहलाई आवश्यक कार्यविधि निर्माण गरी लागू गर्ने  अधिकार दिइएको छ । 

कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति तथा लकडाउनका कारण दैनिक गुजारा चलाउन नसकेका ब्यक्तिहरुलाई लकडाउन अवधिमा जीवनयापनका लागि अत्यावश्यक दैनिक खाद्य सामग्री, जिन्सी, राहत प्याकेज उपलब्ध गराउँदा अब कार्यविधिअनुसार हुनेछ । 
 
राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वासनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण तथा व्यवस्थापन कार्यविधि मार्गदर्शक हुने वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए । 

कार्यविधिमा भनिएको छ, ‘नगरभित्रका १४ वटै वडा अध्यक्षको संयोजकत्वमा गठित समितिले आ–आफ्नो वडामा रहेका गरिब, विपन्न परिवार र दैनिक ज्यालादारी गरेर बिहान–बेलुका छाक टार्ने परिवार र व्यक्तिहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले सिफारिस गरी नगरपालिका कार्यालयमा पठाउनेछ । नगरपालिकामा उपलब्ध गराएपश्चात नगरपालिकाले दैनिक खाद्य सामग्री सहितको एकमुष्ठ प्याकेजको कुपन वडालाई उपलब्ध गराउने छ ।’


नगरपालिकाबाट प्राप्त भएको कुपन वडाले सम्बन्धित ब्यक्ति वा परिवारलाई उपलब्ध गराउने र कुपन प्राप्त गर्ने ब्यक्ति वा परिवारले नजिकको पायक पर्ने पसलमा कुपन दिई कुपनमा उल्लेख भए बमोजिमको खाद्य सामग्री प्राप्त गर्ने ब्यवस्था मिलाईएको छ ।

किराना ब्यावसायीले खाद्य सामग्री उपलब्ध गराएपछि एकमुष्ठरुपमा कुपन नगरपालिका कार्यालयमा बुझाएर नगद प्राप्त गर्न सक्नेछन् । वालिङ नगरपालिका, वालिङ उद्योग वाणिज्य संघ र ब्यवसायीहरुबीचको संयुक्त छलफलले नगरपालिकाभित्र खाद्यान्न ब्यापारीलाई खाद्यान्न स्टक राखी वितरण गर्ने ब्यवस्था मिलाउने सहमति पनि भएको छ ।

नगरप्रमुख खाँणले भने, ‘हुने खानेलाई होइन, हुँदा खानेलाई राहत वितरण गर्नेछौं । राहत वितरण गर्दा घरबास नभएको, घर परिवारमा कुनैपनि सदस्यको जागिर नभएकोलाई पहिलो प्राथमिकतामा राख्छौं ।’

घर भएको, घर भाडामा नलगाएको, जग्गा जमिन नभएको र परिवारको कुनैपनि सदस्य रोजगारी नभएको, दैनिक ज्यालादारीमा कम गरी खाने परिवार वा ब्यक्तिलाई दोस्रो प्राथमिकतामा राखेर राहत वितरण गर्ने उनले बताए । 

यसैगरी बैठकले दैनिक उपभोग्य बस्तुको दरभाउ निर्धारण गरेको छ ।

कोभिड–१९ राहत कोषमा सावा १६ लाख संकलन

यसैबीच कोरोना संक्रमण, नियन्त्रण तथा व्यवस्थापनका लागि स्थापित ‘कोभिड–१९ राहत कोष’ मा १६ लाख १५ हजार ७ सय २५ रुपैयाँ संकल भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोरोना संक्रमण र प्रभावबाट गुज्रिरहेको सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा सोमबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. १६ लाख १५ हजार ७ सय २५ संकलन भएको हो ।

वालिङ नगरपालिकाको कोभिड–१९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप