शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न ध्यानाकर्षण

सोमबार, २४ चैत २०७६, १९ : ४८
सोमबार, २४ चैत २०७६

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको सङ्क्रमणको सङ्कट एवम् जोखिमपूर्ण स्थितिमा र लकडाउनको विषम परिस्थितिमा पनि जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेश समितिका महासचिव श्रीजन झाले आज एक विज्ञप्तिमार्फत सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि विद्युत्, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था तथा लकडाउन अवधिमा प्रकाशन आबद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी गर्न माग गरे ।

साथै पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचार र जोखिम मोलेर कार्यक्षेत्रमा खटिने श्रमजीवी पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्रीसहित  तत्काल राहत प्याकेज घोषणा गर्दै  सहजता प्रदान गर्न सरकारको ध्यानकर्षणसहित माग गरिएको छ ।

नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखापरेको सन्दर्भमा उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाई अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील प्रदेश समिति आबद्ध र सबै सञ्चारकर्मीमा उनले कृतज्ञता व्यक्त गरे  ।

महासङ्घको प्रदेश समितिले मुलकमा देखिएको यस चुनौतीपूर्ण अवस्थामा पनि आत्मविश्वास र मनोबलसहित  आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील हुँदै जनताको सूचना र समाचार प्राप्तिको हकलाई  जीवन्त राख्न  पत्रकारिताजगत्ले दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी खेलेको भूमिका स्वागतयोग्य रहेको जनाएको छ । 

महासचिव झाले प्रदेश समिति आबद्ध एवम् सम्पूर्ण सञ्चारकर्मीलाई आफू सुरक्षित रही कोरोनाको सङ्क्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्व पूरा गर्दै सजग रहनसमेत आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप