शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री करिश्मा मानन्धरको लकडाउन डायरी : २० वर्षपछि घरको काममा फर्किएँ

मङ्गलबार, २५ चैत २०७६, १० : ०९
मङ्गलबार, २५ चैत २०७६

सुटिङका विभिन्न लोकेसनमा सधैँ ‘एक्सन–कट’मा ब्यस्त रहने अभिनेत्री हुन् करिश्मा मानन्धर । कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’का कारण पछिल्लो दुई सातायता उनको त्यो दैनिकीमा परिवर्तन आएको छ । उनी यतिबेला घरको चारकुनामा सीमित भएर बसेकी छन् । कोरोनासँग लड्ने यो भन्दा राम्रो उपाय अन्य नभएको बुझेकी उनी यस्तो अवस्थामा घरै बस्नु सुरक्षित ठान्छिन् । यो परिस्थितिले उनलाई नयाँ कुराको अनुभव समेत गराएको छ रे । त्यसको अलवा करिव २० वर्षपछि आफु घरको काममा समेत फर्किएको उनले सुनाइन् । करिश्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री तथा निर्माता पनि हुन् । नेपाली रजतपटमा उनी सबैभन्दा सुन्दर अभिनेत्री र सदाबहार ब्युटीको रुपमा समेत परिचित छन् । लकडाउनमा मानिसको महत्व, पारिवारिक जिम्मेवारी बुझेको बताउने करिश्माकै शब्दमा उनको लकडाउन डायरीः
 
यो लकडाउनको समय मैले दुई स्थान (गोदावरी र बूढानीलकन्ठ)मा बिताइरहेकी छु । अगाडिका ७/८ दिन मैले गोदावरी घरमा बिताएँ । अहिले भने बूढानीलकन्ठमा छु । यहाँ (बूढानीलकन्ठमा) घरमा मेरो बच्चा एक्लै भएकाले पास बनाएर आएको ७ दिन भयो । यहाँ मेरो बच्चाको साथीसमेत बाहिरबाट आएका छन् । उनीहरुलाई खाना बनाउन नआउने र यहाँ स्टाफ पनि नभएकोले म आएकी हुँ ।

अहिले घरको सबै काम आफै गरिरहेकी छु । त्यसैले पनि बिहानदेखि साँझसम्मै म बिजी हुन्छु । खाना बनाउने, लुगा धुनेदेखि भाँडा माझ्नेसम्म मेरो दैनिक काम हो ।

समय मिलाएर एक्सरसाइज गर्ने, किताव पढ्ने, देशविदेशका समाचार हेर्ने र सामाजिक सञ्जाल चलाउनेसमेत गर्छु ।

म हरेक दिन बिहान ५ बजे उठ्छु । उठ्नेबित्तिकै तातो पानी खान्छु र आफूले दिनभरी गर्नुपर्ने कामको लिष्ट हेर्छु । सो लिष्ट मैले बेलुका नै तयार पारेकी हुन्छु ।

त्यसपछि सबैभन्दा पहिले घरको छतमा गएर एक्सरसाइज गर्छु । त्यसका लागि युट्युवका एक्सरसाइजका भिडियो मेरा सहयोगी हुने गरेका छन् ।

करिव डेढ घन्टा एक्सरसाइज गरेपछि ब्रेकफाष्ट बनाएर बच्चाहरुलाई खुवाउँछु र आफु पनि खान्छु ।

ब्रेकफाष्टपछिको पहिलो काम भनेकै लञ्चको तयारी हो । लञ्चपछि लुगा धुने, त्यसपछि डिनरको तयारीमा दिन बित्छ । 

घरको काम सबै आफैले गर्नुपर्ने भएकोले अध्यायनतिर ध्यान दिन सकेकी छैन । देशमा के भइरहेको छ, घर बाहिर, देश बाहिरको अवस्था के छ भन्नेतिर मन जाँदो रहेछ । त्यसैले किताबभन्दा पनि बढी समाचारको माध्यम फलो गर्छु ।

पढ्छु भनेर ११ कक्षाको ४/५ वटा किताब पनि ल्याएकी थिएँ । जाँचसमेत आएकोले भ्याएसम्म कोर्सका किताब पनि अध्ययन गरिरहेकी छु ।

चलचित्र हेर्छु 
यो समय म धेरै चलचित्र हेरिरहेकी छु । त्यसमा पुराना÷नयाँ, हिन्दी, नेपाली, अंग्रेजी सबै प्रकारका छन् । करिव दिनको २/३ वटासम्म फिल्म बच्चाहरुसँग बसेर हेर्छु ।

यो लकडाउनको समय गरेकोजस्तो घरभित्रको काम मैले अहिलेसम्म गरेको थिइनँ । त्यसैले पनि मेरो यो समय नयाँ कुरातिरभन्दा पनि घरभित्रको काममा बितिरहेको छ ।

घरभित्र काम गर्नेको आफ्नै प्लानिङ र ब्यस्तता हुँदो रहेछ । त्यो अहिले आएर बुझेँ ।  एकपछि अर्काे काम गर्दैमा दिन बित्दो रहेछ भन्ने थाहा पाएँ । 

मानिसको महत्व बुझें
यो लकडाउनमा मैले पहिलो त मानिसको महत्व बुझेँ । चैते दशैँको दिन गोदावरीको घर मिस गरेँ । मेरो त्यहाँका स्टाफहरुलाई मिस गरे । स्टाफहरुको कामको महत्व, ब्यस्तता र थकान जानेँ ।

अर्काे कुरो श्रीमान् बिनोदजी घरमा २४ घन्टै खटिने मानिस हुन् । उहाँ घरको सिनियर ब्यक्ति भएकोले घरमा काम पनि अह्राउनु हुन्थ्यो । 


अहिले उहाँले दिएको माया, उहाँको काम सबैको महशुस भयो । उहाँको खटाई सम्झिएँ । बिनोदजीको मप्रतिको विश्वास बुझेँ । स्वर्थविनाको माया गर्ने ब्यक्ति उहाँ हुनुहँुदो रहेछ भनेर चिनेँ । बुढाबुढीहरुका लागि घरमा बुढ्यौलीका समय कति कठिन हुँदो रहेछ भन्ने थाहा पाएँ ।

यो लकडाउनजस्तो परिस्थितिको सामना मेरो जीवनमा पहिलो चोटी हो । सायद धेरैको पनि यही होला । यसलाई हामीले सकारात्मक रुपमा पनि लिनुपर्छ । यसले धेरै कुरा सिकाएको पनि छ ।

हामीले बिजी सेड्युलका कारण आफूलाई बिर्सिसकेका थियौँ । किनभने अहिले म जुन काम गरिरहेकी छु, त्यो काम नगरेको करिब २० बर्ष भएको थियो । हामी जुन ठाउँबाट फड्को मारेका थियौँ, हामीलाई त्यही ठाउँमा ल्याएर उभ्याएको छ । हामीलाई आफू र आफन्तको बारेमा सोच्न समय दिएको छ ।

यो परिस्थितिमा सबैजना सचेत हौँ, सुरक्षित बसौँ र अरुलाई पनि सुरक्षित हुन मद्दत गरौँ भनेर सबैलाई आग्रह गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप