शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४५ हजार परिवारलाई घरघरमै राहत सामग्री

मङ्गलबार, २५ चैत २०७६, १२ : १६
मङ्गलबार, २५ चैत २०७६

झापा । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । आठ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई राहत बाँड्ने तयारी भएको छ । कतिपय स्थानीय तहले  विपन्न परिवारका लागि पहिलो चरणको राहत सामग्री वितरण गरिसकेका छन् भने कतिपय स्थानीय तहले राहत बाँड्ने तयारी गरिरहेका छन् ।
 
झापामा रहेका स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै विपन्न परिवार रहेको पाइएको छ । बिर्तामोड नगरपालिकामा छ हजार ८०० विपन्न परिवार रहेको बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । त्यस्तै झापा गाउँपालिकामा पाँच हजार विपन्न परिवार रहेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । भद्रपुर नगरपालिका चार हजार २०० परिवार विपन्न रहेको र शिवसताक्षी नगरपालिकामा पनि चार हजार घरपरिवार विपन्न रहेको बताइएको छ ।
 
कोभिड–१९ को सङ्क्रमण फैलन नदिन १४ दिनदेखि लकडाउन भएसँगै अहिले जनप्रतिनिधि स्थानीयको घरघर पुगेर विपन्न परिवारको पहिचान गर्दै उनीहरुलाई राहत वितरण गरिरहेका छन् । आफ्ना पालिकाभित्र बसोबास गर्ने सबै विपन्न परिवारलाई न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने भन्दै सबै स्थानीय तहका जनप्रतिनिधि वडा कार्यालय र टोल विकास संस्थामार्फत विपन्नको पहिचान गर्दै राहत सामग्री घरघरमै पु¥याइरहेका छन् । स्थानीय तह नै पिच्छे आ–आफ्नै मापदण्ड र नियम बनाएर विपन्न वर्ग र मजदुरको पहिचान गर्दै राहत सामग्री वितरण गरिँदैछ । जसमा विभिन्न सङ्घसंस्थाको समेत सहयोग रहेको छ । कतिपय स्थानीय तहले एकद्वार प्रणाली अपनाएर राहत वितरण गरिरहेका छन् । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार ज्याला मजदुरी गरेर गुजारा चलाउनेका लागि अहिले समस्या भएको छ । उनीहरुलाई लक्षित गर्दै नगरले पहिलो चरणमा राहत वितरण गरेको हो । वडाको सिफारिसमा अहिले कनकाई नगरपालिकाले राहत वितरण गरिरहेको छ अध्यक्ष पोखरेलले भने, ‘यो राहतको पहिलो चरण हो, हामीकहाँ भएका विपन्न परिवार अझैं थपघट हुन सक्छन् ।’

हल्दिबारी गाउँपालिकाले भने आफ्नो गाउँपालिकाभित्र तत्काल हातमुख जोड्न नै समस्या भइहाल्ने परिवार नभएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, ‘कोरोना भाइरस सङ्क्रमणको  पहिलो चरण पूरा गरेर दोस्रो चरणमा मात्रै प्रवेश गरेका छौँ, यो तीन चार चरणसम्म जान सक्छ, त्यसका लागि हामी पूर्वतयारीमा जुटेका छौँ । अहिले हामी  जनप्रतिनिधि विपन्न परिवारको बारेमा तथ्याङ्क सङ्कलन गर्दैछौँ’, अध्यक्ष लिङ्देनले भने, ‘दुई सात लकडाउन हुँदा खान नपाएर हल्दिवारी गाउँपालिकामा कोही पनि मरिहाल्ने अवस्था छैन, अ‍ैचोपैचो गाउँघरमा चल्छ, त्यसकारण हामीले अहिले राहत बाँडेका छैनौँ, कोरोनाको सङ्क्रमण अझ फैलिँदै गए र लकडाउन लम्बिए कोही पनि हल्दिवारी गाउँपालिकावासीलाई हामी भोकै राख्दैनौँ ।’ झापाका स्थानीय तहले छुट्टाछुट्टै विपद् व्यवस्थापन कोष खडा गरेका छन् । कोषमार्फत नै विपद् व्यवस्थापनका लागि तयारीसहित राहत वितरणको काम गरिरहेको बताइन्छ ।

 मेची नगरपालिकामा तीन हजार, भद्रपुर नपामा चार हजार २००, बिर्तामोड नपामा छ हजार ८००, अर्जुनधारा नपामा एक हजार ६५०, कनकाई नपामा दुई हजार ७००, शिवसताक्षी नपामा चार हजार, गौरादह नपामा तीन हजार २९, दमक नपामा दुई हजार २५०, झापा गाउँपालिकामा पाँच हजार, बाह्रदशी गापामा दुई हजार ३१८, कचनकवल गापामा तीन हजार ३००, बुद्धशान्ति गापामा एक हजार ७३५, गौरीगञ्ज गापामा तीन हजार ५००, कमल गापामा एक हजार ३८८ कूल ४४ हजार ८७० विपन्न परिवार रहेका छन् भने हल्दिबारी गापामा भने तथ्याङ्क सङ्कलन गरिँदै छ ।
  
विपन्न परिवारका लागि चारदेखि ५० केजीसम्म राहत सामग्री
 
झापाका स्थानीय तहले विपन्न परिवारको संख्या हेरेर न्यूनतम एक सातादेखि एक महिनासम्मका लागि राहत सामग्री उपलब्ध गराएका छन् । प्रतिपरिवार चार केजीदेखि ५० केजीसम्म विपन्न परिवारका लागि राहत सामग्री उपलब्ध गराउँदै आएको पाइएको छ । दमक नगरपालिकाले परिवार हेरेर १० केजीदेखि ५० केजीसम्म राहतका सामग्री उपलब्ध गराउँदै आएको दमक नगरप्रमुख रोमनाथ ओलीले बताए । उनले भने, ‘हामी सबैलाई परिवार सङ्ख्या हेरेर १० केजीदेखि ५० केजीसम्म चामल, सोहीअनुसार दुई केजीसम्म दाल, खानेतेल, नुन, हात धुने साबुन, चिउरालगायतका खाद्य सामग्री वितरण गरिरहेका छौँ । जसका लागि दमक नगरपालिकले  ६७ हजार ६०० केजी चामल खरिद गरेको छ ।’ 

यता बिर्तामोड नगरपालिकाले चारदेखि ३० केजीसम्म चामल वितरण गरिरहेको छ । नगरले एकद्वार प्रणाली अपनाएर प्रतिव्यक्ति चारकेजी चामल बढीमा ३० केजीसम्म, दुई जनाको परिवारलाई आधा केजी दाल, त्यो भन्दा बढी परिवार सङ्ख्या भए एक केजी दाल त्यस्तै एक केजी नुनसमेत प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप