बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा विदेशबाट आएकाको संख्या १ सय ४४, तर क्वारेन्टाइन सबै खाली

मङ्गलबार, २५ चैत २०७६, १७ : ४८
मङ्गलबार, २५ चैत २०७६

-रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगाका बिभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरु खाली रहेका छन् । जिल्लाको एक नगरपालिकासहित आठ स्थानीय तहमा १ सय ९० वार्ड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको भएपनि प्रायः सबै खाली छन् । यसअघि सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टाइनमा ७ जना, मोलुङ गाउँपालिकास्थित शहिद आदर्श उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा तीन, जिल्ला अस्पताल रुम्जाटारको क्वारेन्टाइनमा एक जनासहित ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेशनमा दुई जनालाई राखिएको थियो । अहिले उनीहरु सबै घर फर्किसकेका छन् । तर जिल्लामा विदेशबाट आएका नागरिकहरुको संख्या भने १ सय ४४ रहेको तथ्याँकमा उल्लेख छ ।

उनीहरुमध्ये दुई हप्ताअघि कतार तथा अन्य तेस्रो मुलुकबाट आएका चिशंखुगढीका दुई र मोलुङ गाउँपालिकाका २ जना गरी चार जनालाई अहिले जिल्ला अस्पताल रुम्जटारको आइसोलेशनमा राखिएको छ । बाँकी अन्य नागरिकहरु होम क्वारेन्टाइनमा रहेको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए । स्थानीय तहले केही दिनअघि संकलन गरेको विवरणअनुसार सिद्धिचरण नगरपालिकामा १० महिलासहित ३८ जना नागरिकहरु बाहिरी मुलुकबाट आएका छन् । चिशंखुगढी गाउँपालिकामा पाँच जना, सुनकोशी गाउँपालिकामा ४ महिलासहित १७ जना र लिखु गाउँपालिकामा पाँच जना बाहिरी मुलुकबाट आएको पाइएको छ । त्यस्तै, मानेभज्याङ गाउँपालिकामा १३ महिलासहित ४८ जना, मोलुङ गाउँपालिमा १ महिलासहित १७ जना, चम्पादेवीमा पाँच जना र खिजिदेम्बा गाउँपालिकामा एक महिलासहित ९ जना नागरिकहरु बाहिरी देशबाट आएको तथ्याँकमा उल्लेख छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा हालसम्म निर्माण  गरिएकामध्ये सिद्धिचरण नगरपालिकामा २५, चिशंखुगढीमा १०, सुनकोशीमा ५२ र लिखु गाउँपालिकामा आठ वार्ड क्षमताको क्वारेन्टाइन निर्माण भएका छन् । त्यस्तै मानेभज्याङ गाउँपालिकामा २१, मोलुङमा १५, चम्पादेवीमा १० र खिजिदेम्बा गाउँपालिकामा ४९ वार्ड क्षमताको क्वारेन्टाइन निर्माण भएको जिल्ला कमान्ड पोष्ट ओखलढुंगाले जनाएको छ । तर हाल सम्ममा जिल्लामा १३ जनालाई मात्र क्वारेन्टाइनमा राखेर छाडिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप