शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलका कर्मचारीलाई सुरक्षा उपकरण हस्तान्तरण

मङ्गलबार, २५ चैत २०७६, २० : २१
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको त्रिभुवन विमानस्थलमा कार्यरत कर्मचारीको सुरक्षाका लागि सहयोग गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनले विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई आवश्यक मास्क, स्यानिटाइजर, लिक्विड ह्यान्डवास, साबुन, सर्जिकल मास्क लगायत व्यक्तिगत सुरक्षा उपकरणहरु हस्तान्तरण गरेको हो । 

विमानस्थलमा कार्यतालिका अनुसार काममा आउने प्रत्येक कर्मचारीलाई त्यस्ता सुरक्षाका सामानहरु उनीहरुको कार्यसमयमै हस्तान्तरण गरिएको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष ज्ञानेन्द्र भूलले जानकारी दिए । 

युनियनले प्राधिकरणबाट युनियनका लागि छुट्याइएको बजेटबाट त्यस्तो खर्चको व्यवस्था गरेको जनाएको छ । लकडाउनको समयमा पनि विमानस्थलका करिब २०० जना कर्मचारीहरु नियमित रुपमा काम गर्दै आएका छन् ।

उनीहरुका लागि कुल २०० वटा मास्क, २५० वटा स्यानिटाइजर, २५० वटा डिटोल ह्यान्डवास, २०० वटा साबुन तथा करिब ५०० वटा सर्जिकल मास्क वितरण गरिएको हो । उक्त सामानको मूल्य करिब साढे २ लाख जति पर्छ जुन ट्रेड युनियनलाई प्राधिकरणले छुट्याएको बजेको करिब एक चौथाई हो । 

अहिले नियमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भए पनि एम्बुलेन्स फ्लाइट, चार्टर्ड फ्लाइट जस्ता अत्यावश्यक उडानका लागि विमानस्थल जुनसुकै बेला पनि खुला राख्नुपर्र्ने भएका कारण विमानस्थलका कर्मचारीहरुलाई बिदा दिइएको छैन ।

 त्यहाँ सिफ्टका हिसाबले काममा लगाइएको छ । विमानस्थल जस्तो संवेदनशील ठाउँमा हुनसक्ने संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न भन्दै विमानस्थल प्रशासनले उपलब्ध गराएका सुरक्षा उपकरणका अतिरिक्त युनियनले उक्त सामान हस्तान्तरण गरेको हो ।

युनियनले ट्राफिक प्रहरीसँगको सहकार्यमा विमानस्थलमा त्यसरी नियमित रुपमा आउनुपर्ने कर्मचारीलाई परिचयपत्रकै आधारमा कार्यालय आवतजावत गर्न दिने व्यवस्था समेत मिलाएको छ ।

सरकारले देशमा लकडाउन घोषणा गरेपछि १५ दिनमा २९ वटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भइसकेका छन् । यसमध्ये अहिलेसम्म ९ वटा अन्तर्राष्ट्रिय उडान र २० वटा आन्तरिक उडान गरिएको छ ।

अहिले देशभरका ३६ वटा विमानस्थल अहिले सञ्चालनमा रहेकोमा त्रिभुवन विमानस्थलका अतिरिक्त पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगर जस्ता विमानस्थलहरु खुला छन् भने अन्य विमानस्थलहरु छोटो सूचनाका आधारमा खोल्न सक्नेगरी कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप