शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हामी नेपाल फर्कन चाहान्छौं, सरकार !

मङ्गलबार, २५ चैत २०७६, २१ : ३३
मङ्गलबार, २५ चैत २०७६

युएई । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा दिएको सन्देशले प्रवासमा रहेका नेपालीहरू झनै चिन्तित देखिन्छन्। नेपालमा मात्रै हैन, विश्वभर कोरोना (कोभिड-१९) को संक्रमण फैलिँदो छ । नेपालमा पनि केरोना विरुद्धको लडाईं जारी छ । हर्ष र संकटका समयमा परिवारसँगै रहने नेपाली संस्कारमाथि यसपटक कोरोना भाइरस संकटको चुनौती बनेको छ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका थिए‍- सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौं। सङ्कटका काला बादल अवश्य हटेर जानेछन् । यो भनेकाे अहिले तत्काल सरकार विदेशबाट फर्कन चाहनेलाई स्वदेश फर्काउने पक्षमा छैन । 

कोरनाको प्रभावका कारण विभिन्न देशले नेपालबाट आफ्ना २ हजार एक सय भन्दा बढी नागरिकलाई उद्धार गरेर लगिसकेका छन् ।नेपालमा रहेका २ सय ६० भन्दा बढी अष्ट्रेलियन नागरिकलाई चैत १९ गते नेपाल एयरलाइन्स मार्फत अष्ट्रेलियाको ब्रिसबेन पुर्यायो। तर ती देशमा रहेका अलपत्र नेपालीहरु भने स्वदेश फर्कन सकेनन्।

देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रको मुख्य खम्बा बनेका नेपाली श्रमिकहरू रहेको खाडी मुलुकलाई पनि कोरोनाले छोडेन। खाडीमा लामो समयदेखि रोजगारीमा रहेका नेपालीहरू कोरनाको चपेटासँगै बेरोजगारको शिकार बनेको छन्। नेपालबाट मुख्यतः साउदी, कतार, युएई, बहराइन, कुवेत, ओमान तथा मलेसियामा २५ लाख भन्दा धेरै नेपालीहरू कार्यरत छन्।

कोरनाको सन्त्राससँगै धेरै नेपालीहरु अहिले स्वदेश फर्किन चाहन्छन् । नेपाल फर्किएर सुरक्षित आफ्ना परिवारसँग बस्न चहान्छन्।विदेशमा रहेका नेपालीहरुमा अहिले नेपाल आउने इच्छा निकै रहेको पाइन्छ।उनीहरुले यो समयमा आफ्नो देशले उद्धार गरेर नेपालमै सरकारको क्वारेन्टाइनमा राखोस् भन्ने चाहन्छन्। 

तर,सरकारले ठूलो संख्यामा रहेका प्रवासी नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन र नेपालमै सरकारी क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको भन्दै आएको छ ।

सरकारले नै विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ। हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री, युएईका युवराज र आज कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् । संवादमा  यहाँ रहेका नेपालीहरूकाबारे कुराकानी गरेका थिए।

यता मलेसिया र अन्य खाडी मुलुकहरूले कामदारसम्बन्धी आ-आफ्नै प्रावधान ल्याएका छन्। युएई सरकारले कोरोना भाइरसको कारण व्यवसायमा क्षति पुगेको भए कामदारलाई बेतलबी बिदा दिन सक्ने र  कामदार नै कटौती गर्न सक्ने नयाँ नियम ल्याएको छ। 

यो सँगै युएईमा रहेको २ लाख ७५ हजार (दूतावास तथ्याङ्क) नेपाली मध्ये केही कार्यरत नेपाली कामदार मारमा परेका छन्। यहाँ यस्तो जोखिमयुक्त अवस्थामा विदेशमा बस्दा समेत तलव नपाइने र विदेसिँदा लिएको ऋण तिर्न नसकिने समस्या हुने डर कामदारहरुमा बढेको छ।

वैदेशिक रोजगारीका लागि युएईमा लामो समय कार्यरत मणि भुर्तेल फेसबुकमा लेख्छन्, न घर जान पाउनु ,नत आफ्नो जागिर नै हुनु , नत आफूलाई सुरक्षित पाउनुले जबसम्म  नागरिकले सही निकास  पाउँदैन तबसम्म घरको न घाटको हुन्छ। अनि यता न उताको हुनुबाहेक अरु केही हुँदैन , ती छटपटिएका मनहरुले आफ्नो  अभिभावक खोजिरहेको हुन्छ । कहिँ कतैबाट पनि केही सहयोग पाउने आशा नहुँदा  अझै बढी मानसिक तनावमा पिरलिएको अवस्था छ। उनी भन्छन्, यसरी आफूलाई कतैबाट पनि सुरक्षित नदेखेपछि , हाम्रा सामाजिक र जिम्मेवारीका  मान्यतामा आफूलाई  उभ्याउन नसक्ने अवस्था आए पछिका घट्ने घटनाहरु हामीले सोचे भन्दा धेरै बाहिरका र नसोचेको अप्रिय घटनाहरु धेरै हुन सक्ने सम्भावना पनि उत्तिकै छ।

अष्ट्रेलिया लगायत युएई सरकारले घुमाउरो रूपमा आफ्नो देश जान चाहने नागरिकहरूलाई आ-आफ्नो सम्बन्धित निकाय वा दूताबाससँग नजिक रहन अनुरोध गरिसकेको अवस्थामा नेपाल सरकार र समन्धित देशको दूतावासले वैदेशिक रोजगारी वा अन्य कामले विदेशमा अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने वातावरण मिलाउनु पर्नै देखिन्छ।

युएईमा रहेका नेपाली व्यवसायी एवं एनआरएन युएईका उपाध्यक्ष पासाङ् रेन्जी शेर्पा लेख्छन्, पचासै लाख भए नि, आफ्नै देश फर्कन चाहाने नेपालीहरुको मौलिक अधिकार हनन गर्ने अधिकार कसैलाई छैन । सारा संसारले आफ्नो नागरिकहरु सुरक्षित आ-आफ्नो मातृभूमि फर्कन चहान्छन् भने आवश्यक सहयोग गरिरहेका छन् भने हामीले चाहिँ सीमा, नाका र विमानस्थल नै बन्द गरेर बसेका छौं ।

यो विषयमा नेपाल सरकारले कुनै रकेट साइन्स लगाउनु पर्ने पनि त होइन। आफ्ना नागरिकहरुको लागि एउटै भएको अन्तर्राष्ट्रिय विमानस्थल खोलिदिने र त्यसमा कोरोना भाइरस टेस्ट गर्ने अत्याधुनिक प्रविधि, संक्रमितहरुको लागि व्यवस्थित क्वारेन्टाइन र गुणस्तरीय उपचारको व्यवस्था मात्र गरिदिए मात्र हुन्छ ( जुन वास्तवमा सरकारको दायित्व पनि हो )  अझ सजिलोको लागि विदेशबाट फर्किन चाहने नेपाली नागरिकलाई बढीमा ७ दिन पुरानो कोभिड-१९ टेस्ट नेगेटिभ भएको सर्टिफिकेट बोकेरै आउ भने पनि हुन्छ ।

टिकट त आफै काटेर आइहाल्छन, सरकारलाई भार नै पर्दैन। उनी फेरि भन्छन् -छुट्टीमा घर फर्कन चाहाने विदेशी कामदारहरुको सहजताको लागि स्थानीय सरकारले सहज वातावरण बनाइदिएको छ । टिकट पनि कम्पनीले नै काटिदिनु पर्ने समेत प्रावधान ल्याएको छ,भने नेपाल सरकारले पनि स्वदेश आउन चाहनेहरुको लागि वातावरण बनाइ दिने हो कि अमेरिका र अस्ट्रेलिया तिरको मात्र समस्या हेर्ने हो ? नेपालमा रहेका विदेशी नागरिक उद्दार गरेर पठायौं भनेर नाक मात्र फुलाउने तर आफ्नै नागरिकलाई बिना खर्च घर आउन नदिने ?

यता युएई सरकारले छुट्टीमा अथवा काम सकेर देश फर्कन चाहने कामदारहरूको हकमा कम्पनी वा रोजगारदाताले नै टिकटको व्यवस्था गर्नुपर्ने बताएको छ। यसले कामदारलाइ केही भनेपनि आर्थिक राहत पुग्ने देखिन्छ। युएईबाट ओम प्रकाश पोखरेल लेख्छन्, तेस्रो मुलुकबाट आउने नेपालीहरु भन्दा भारतबाट आउनेहरुबाट कोरोना प्रकोप निकै डरलाग्दो हुँदैछ सरकार। आफ्नो घर आउन कोही कसैलाई रोक लगाउन मिल्दैन भारत तथा अन्य तेश्रो मुलकबाट नेपाल आउन चाहनेहरुको लागि विशेष व्यवस्थाको सुरुवात गर्न ढिला गर्नु हुँदैन। यदि कोरोनाको रफ्तार यसरी नै बढ्दै जाने हो भने विदेशी रोजागारदाताहरुले प्लेन चार्टर गर्दै काठमाडौ एयरपोर्टसम्म अनि भारत सरकारले नेपाल बोर्डरसम्म झार्दै छाड्ने दिन नआउला भन्न सकिन्न। घुस,कमिसन छाडेर निकट भविष्यमै आउन सक्ने स्थितिको लागि सामनाका लागि तयार होस् सरकार।

युएई  रहेका कतिपय कामदारहरु भिसा सकिएर अवैध हैसियतमा पुगेका छन् । त्यहाँका सरकारहरुले भिसा अवधि लम्ब्याउने बाटो खोले पनि यस्तो डरमर्दो अवस्थामा विदेशमा बसिरहन उनीहरुको मनले मानेको छैन।

युएईबाट सरोज थापा लेख्छन् , कोरोना भाइरस १,२ वर्षसम्म पनि रहला रे अनि कतिपय  भिसा  सकिएर क्यान्सिल जानेहरु पनि छन्, उनीहरुको  लागि के गर्ने? अहिलेलाई ३ महिनाको लागि अटोमेटिक  भिसा रिन्यू हुन्छ भनेको छ। तर ३ महिना पछि के गर्नु ? त्यसमा त नेपाल सरकारले पनि  केही त उपाय  सोच्नु पर्यो नि। युएईमा नेपालमा भन्दा के चाहिँ सुरक्षित छ त ?

कतिपय नेपालीहरूको कम्पनीमा काम नभएकोले आफूसँग भएको केही रकम पनि सकिएकोले झनै समस्यामा परेको बताएका छन्। क्वारेन्टाइनमा बस्दा अनेकाैं मानसिक तनाव हुन्छ। अनि संगत अनुसा नकारात्मक कामहरूमा फसिने डर हुँदै जाने देखिन्छ।  

बुनअन मगर लेख्छन्,यहाँ मानो खाएर बसेर भएन, नेपालको हवाई खुल्ला कि नखुल्ला, बरु १४ दिन क्वारेन्टाइनमै बसुला, नेपाल जान पाए हुन्थ्यो।कतै केही हल्ला सुन्नु भएको छ र साथीहरु,।युएईमा साना व्यवसाय गरिरहेकाहरुको नेपाली ब्याबसायीहरूको कारोबार चौपट हुने अवस्था आएपछि कतिपय नेपाल  फर्किने योजना बनाउन सुरु गरेका छन् । तर, उनीहरु तत्काल नेपाल आउने बाटो बन्द भएकाले तनावमा देखिन्छन् ।

राजू भट्टराई लेख्छन्, म हाम्रो नेपाल सरकारसँग अनुरोध गर्दछु।  युएई र अन्य खाडी मुलुकहरूमा काम गरिरहेका श्रमिकहरूको उद्धारको लागि पहल गर्नुहोस् ।यदि उनीहरू नेपाल फर्कन चाहन्छन् भने। हाम्रो सरकारले यस विषयको लागि राम्रो नीति बनाउनु पर्छ र युएई सरकारसँग सम्भव भएसम्म समन्वय गर्नुपर्नेछ।त्यसैले साथीहरूले सक्दो नेपाल सरकारलाई सहयोग गराैं।

यता नेपाली समाज युएईले पनि युएईमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउन नेपाली दूतावास अबुधावी लगायत नेपाल सरकार प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय समेतलाई निवेदन गरेको छ।

आज मात्रै सर्वोच्चले विदेशमा खान,बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरि नेपाल फर्कन चाहनेलाई समन्धित मुलुकसँग कुटनैतिक माध्यमबाट समन्वय गरि नेपाल ल्याउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। तर सर्वोच्चको आदेश नेपाल सरकारलाई फलामको चिउरा बन्न सक्छ। ताकी विदेशिएका लाखौं नेपालीले यो सुविधा पाउलान् भन्ने आशा झिनो छ। यो जनसागर नेपाल फर्कँदै छ। सरकार अब तयारी अबस्थामा बस्नु पर्छ।

हामी सबै नेपाली आफ्नो देशमा जान तयार छौं । कोरना भाइरस(कोभिड-१९)प्रभाव निरन्तर भैरहने हो भने युएई लगायत खाडी मुलुकमा रहेका नेपाली कामदारहरूको समस्या एउटा दूतावासले मात्र थेक्न सक्दैन।झनै युएई सरकारले बेतलबी र कामदार कटौती गर्न सक्ने नयाँ नियम ल्याएसँगै धेरै नेपालीहरुको रोजीरोटी गुमिसकेको छ।

तसर्थबेलैमा नेपाल सरकार, नेपाली दूतावासले यहाँका सरकारका सम्बन्धित निकायसँग छलफल गरि नेपाल जान चाहने भाइरस(संक्रमण नभएका)नेपालीहरूलाई तुरून्त नेपाल फर्काइ केही समय अवधि(पूर्ण सुरक्षा सावधानिका साथ) सरकारको क्वारेन्टाइनमा राखेर घर फर्काउदा राम्रो हुनेछ।

अन्यथा कोरना भाइरस भन्दा अर्को ठूलो भोक भाइरसको दुर्घटना निम्तिने खतरा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप