शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज : सिपाही विद्रोह गर्ने मंगल पाण्डेलाई फाँसी

बुधबार, २६ चैत २०७६, ०८ : २२
बुधबार, २६ चैत २०७६

इस्ट इन्डिया कम्पनीविरुद्ध विद्रोह गर्ने सिपाही मंगल पाण्डेलाई आजैका दिन सन् १८५७ मा फाँसी दिइएको थियो । पाण्डे ३४ औँ ‘बंगाल नेटिभ इन्फ्यान्ट्री’ मा सिपाही थिए ।

उनले सैनिक अधिकारीमाथि नै गोली हानेका थिए । विद्रोहको सुरुवात बन्दूकका विषयमा देखिएको विवाद थियो । एनफिल्ड नामक नयाँ राईफल आएको थियो, तर बन्दूक भर्ने प्रक्रिया पुरानै थियो । जसअनुसार कार्टिजलाई दाँतले काटेर खोल्ने र त्यसभित्र रहेको बारुदलाई बन्दूकको नलीमा भर्नुपर्ने थियो ।

गाई र सुुगुँरको बासोसमेत प्रयोग गरेर नयाँ कार्टिज बनाइएको हल्ला फैलिसकेको थियो । यस्तो कार्टिजले हिन्दू र मुसलमानको धार्मिक भावनामाथि प्रहार गरेको भन्दै सिपाहीहरु असन्तुष्ट थिए । तीनवटा रेजिमेन्टमा सिपाहीले कार्टिज प्रयोग नगर्नेे निर्णय गरे, उनीहरुले मुगल सम्राट बहादुर शाह जफर (तत्कालीन समय नाम मात्रैका) ले भारतको नेतृत्व लिनुपर्ने भन्दै विद्रोह गरे ।

यहीं क्रममा अंग्रेज अफिसर लेफ्टिनेन्ट बागमाथि पाण्डेले २९ मार्च १८५७ मा पश्चिम बंगालको ब्यारेकपुर छाउनीमा गोली हाने । यसपछि तत्काल पाण्डेलाई पक्राउ गर्न जनरलहरुले दिएको आदेश कार्यान्वयन गर्न  रेजिमेन्टका एक व्यक्तिबाहेक बाँकी कोही सिपाही तयार भएनन् ।

६ अप्रिलमा ब्रिटिस सेनाले पाण्डेलाई कोर्ट मार्शल ग-यो, ८ अप्रिलमा सैन्य अनुशासन तोडेको र हत्या गरेको अभियोगमा फाँसी दियो । उनलाई पक्राउ गर्न अस्वीकार गर्ने रेजिमेन्टका सबै सिपाहीलाई बर्खास्त गरियो । रेजिमेन्टको समाप्ती र सिपाहीलाई बाहिर निकाल्ने यो निर्णयले भारतमा विद्रोह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको इतिहासकारहरु बताउँछन् । असन्तुष्ट सैनिकहरु अंग्रेजसँग बदला लिने मनस्थितीमा पुगे । अप्रिल महिनामै आगरा, इलाहावाद, अम्बालालगायत शहरमा आगलागीका घटना घटे ।

यस विद्रोहको आगो देशको एक कुनाबाट अर्को कुनामा तत्कालै फैलियो । अन्य रेजिमेन्टमा पनि सैनिकहरुले विद्रोह गरे । त्यसपछि विद्रोह दबाउन गोर्खा र शिख सैनिकहरुको भर्ती बढाइयो । यस विद्रोहको प्रतिक्रियास्वरुप ब्रिटिस संसद्ले इस्ट इन्डिया कम्पनी खारेज गर्ने नयाँ पारित ग¥यो ।  भारतलाई सोझै ब्रिटिस संसद्ले शासन गर्ने ‘क्राउन कोलोनी’ बनाइयो । यसपछि महारानी भिक्टोरियाले आफुविरुद्ध जनतालाई उत्रन नदिन ‘डिभाईड एन्ड रुल’ नीति लागु गरिन् । तर, विद्रोह रोकिएन । १ सय वर्षपछि सन् १९४७ मा भारत स्वतन्त्र भयो ।

अन्य घटनाक्रम

– सन् १९२९ मा भारतीय सहिद भगत सिंह र बटुकेश्वर दत्तले ब्रिटिस इन्डियाको केन्द्रीय एसेम्बलीअगाडि बम फ्याँके । उनीहरु त्यहीबाट पक्राउ परे ।

– फिलिपिन्सको बाटान जापानी सेनाको नियन्त्रणमा आएपछि १९४२ मा आजैका दिन बाटानको युद्ध समाप्त, जापानी सेनाका मेजर जनरल कामेईचिरो नागानोसामु अमेरिका र फिलिपिनो फौजद्वारा आत्मसमर्पण ।

– युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्रता पाएको मेसिडोनिया आजैका दिन सन् १९९३ मा संयुक्त राष्ट्रसंघको सदस्य बन्यो ।

–  डार्फर क्षेत्रमा लामो द्वन्द्वपछि २००४ मा आजैका दिन सुडानी सरकार र दुई विद्रोहीबीच युद्धविराम सम्झौता ।

– ८ अप्रिल २०१३ मा इस्लामिक स्टेट अफ ईराक (आईएसआई) का नेता अबु ओमर अल बग्दादीद्धारा आईएसआई र अल नुस्राफ्रन्टले एक भएर सिरिया गृहयुद्ध लड्ने घोषणा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप