मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध र पोखरा विमानस्थल निर्माणमा चिनियाँ कामदार दिनरात फिल्डमा, यसरी हुँदैछ काम

बुधबार, २६ चैत २०७६, ११ : ४७
बुधबार, २६ चैत २०७६

-तेजेन्द्र केसी/ साैगात पोखरेल

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ (कोरोनाभाइरस) का कारण मुुलुुक चैत ११ गतेदेखि लकडाउनमा छ । सरकारले संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै लकडाउन घोषणा गरेको हो । 

लकडाउन नहुँदै ठुला परियोजनाहरुमा खासगरी चीनबाट आउने उपकरण, प्राविधिक र कामदारहरु कोरोना महामारीका कारण आउन नसक्दा कतिपय आयोजनाका निर्माण कार्य प्रभावित भएका छन् ।

लकडाउनका कारण मुलुक ठप्प भए पनि रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ र कास्कीको पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने धमाधम चलिरहेको छ ।

दुबै विमानस्थलको निर्माणमा चिनियाँ कामदार खटिएका छन् । 

भैरहवामा विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि भैरहवामा रहेका कामदारले भने कामलाई निरन्तरता दिइरहेका छन् ।

कोरोनाका कारण शुरुमा चीनले सामाग्री रोकेको थियो भने पछिल्लो समय रसुवा नाका बन्द भएपछि विमानस्थलमा समान नेपाल भित्रिन पाएका छैनन् । चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश गएका २० जना जति प्राविधिक कामदार पनि कोरोनाका कारण चीनमै रोकिएका छन् । अहिले प्राविधिक र कामदार गरी २८ जनाको चिनियाँ टोली विमानस्थल निर्माणमा खटिएको छ । उनीहरु लकडाउनको बेला दिनरात नभनी काम गरिरहेका छन् । यस्तै पोखरामा ३७१ जनाले काम गरिरहेका छन् । 

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुुख प्रवेश अधिकारीले परियोजना क्याम्पभित्रै बस्ने मजुदरहरुले धमाधम काम गरिरहेको रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो कामलाई कोरोना भाइरसले छोएको छैन, २८ जना चिनियाँ कामदारसहित ८० जना कामदारले काम गरिरहेका छन् ।’

सन् २०१५ देखि निर्माण शुरु भएको विमानस्थलमा दैनिक करिब २ सय कामदार खटिएका थिए । अहिले भने क्याम्पभित्र रहेकाले मात्र काम गरिरहेको अधिकारीले जनाए ।

विमानस्थलको पुुरानो धावनमार्गमा लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तारबारको काम चलिरहेको छ ।

प्रशासनको अनुमति 
लकडाउन बेला अन्य गतिविधिमा स्थानीय प्रशासनले कडाई गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका काम सुरक्षित एवं सतर्कताका साथ अघि बढाउने भनेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनको बेलामा पनि काम गर्न अनुमति दिएको हो ।

परियोजना प्रमुख अधिकारीले भने, ‘हामीले प्रमुुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुुखसँग नै समन्वय गरेर काम गरिरहेका हौं । बाहिरबाट सामान ल्याउन गाह्रो छ । आइसकेका सामानहरुको जडान रोकिएको छैन ।’
यस्तो छ लागत 
जति आयोजनाहरु लम्बिदै जान्छन्, त्यति नै लागत बढ्नु स्वाभाविक नै हो । गौतमबुद्ध विमानस्थल निर्माणको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ । यो रकम जग्गा अधिग्रहण बाहेक हो । 

यसमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । आयोजना अन्तर्गत १० मेघावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लगानी लाग्ने अनुमान छ । विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत उत्पादन गर्ने गर्ने गरी काम अगाडि बढाइएको छ ।

अधिकारीका अनुुसार एडिबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको अधिकारीले बताए । उनले भौतिक  पुर्वधारको काम अझै १० प्रतिशत रहेको बताए । जसमा ६ प्रतिशत जति उपकरणका काम र बाँकी ४ प्रतिशत भौतिक पूर्वाधारका काम बाँकी छन् ।

यसरी हुँदैछ विमानस्थलको काम
पोखरामा सन् २०१७ बाट निर्माण सुरु भएको पोखरा बिमानस्थलको काममा लकडाउनको प्रभाब खासै परेको देखिन्न । सन् २०२१ को जुलाइ १० सम्ममा सिएमसीई कम्पनीले नेपाल सरकारलाई विमानस्थलको काम सकेर हस्तान्तरण गर्नुपर्ने छ । 

लामो समय जग्गा अधिकरण गरेर पनि सुरु नभएको बिमानस्थल निर्माणको काम केही बर्ष अघि मात्र सुरु भएको थियो । 

ठेक्का लिएको चिनियाँ कम्पनीले सम्झौता भएको भन्दा छ महिना अगाडि सरकारलाई हस्तान्तरण गर्ने गरि काम गरेको भए पनि कोरोनाको कारण  केही सामानहरु सिमा नाकामा र बन्दरगाहमा रोकिएको हुनाले सम्झौता गरिएको अवधिमा मात्र काम सकिने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । 

मुनाकर्मीका अनुसार लकडाउन पहिले नेपाली र चाइनिज गरेर जम्मा ६ सय जना कामदारले काम गर्ने गरेको  भएपनि लकडाउन पछि भने ३७१ जनाले काम गरिरहेका छन् । मुनाकर्मी भन्छन्–‘ चाइनाबाट कामको प्रकृतिहेरि मेनपावर आउँछन् । अहिले भवन निर्माण र डेकुरेसनको काम भईरहेको छ । हामीसँग सामान स्टक रहँदासम्म विनामस्थल निर्माणको काम रोकिँदैन । हामीले विमानस्थलको एरियलाई लक गरेर काम गरिरहेका छौँ ।’  

चिनियाँ नयाँ बर्ष मनाउन चीन गएका चिनियाँ कामदार कोरोनाको कारण केही समय चीनमा नै रोकिँदा भने काममा केही असर गरेको बताए ।

 चीनमा र नेपालमा गरेर करिव २८ दिन क्वारेन्टाइनमा राखेपछि काममा फर्काईएको सिएमसीइका इन्जिनीयर अभिशेक उलकले बताए । उनका अनुसार अहिले बिमानस्थल निर्माणको काममा २७१ चाइनीज र एक सय नेपाली कामदार रहेका छन् । 

लकडाउनको अवधिमा बिमानस्थललाई लक गरेर भनेपनि कामलाई निरन्तरता दिएको उनले बताए । 

दुवै  विमानस्थलले लकडाउनभन्दा पहिला पनि विभिन्न समस्या भोग्दै आएका थिए । भैरहवामा नाकाबन्दी, भूकम्पजस्ता समस्याले गर्दा तेस्रो पटक आयोजनाको म्याद थप गरिएको थियो । अहिले नदीजन्य पदार्थ (ढुुंगा गिट्टी र बालुुवा), हार्डवेयरका सामान ल्याउन समस्या छ ।

यसैगरी पोखराको हकमा मुअब्जालगायतबारे विवाद कायमै छ । स्थानीय उचित मुअब्जाको माग गर्दै आन्दोलन अझै छाडेका छैनन् । 

अहिलेसम्म गौतमबुद्ध विमानस्थल निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । विमानस्थल निर्माणको काम यसै वर्षको मार्च ३१ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । अझै १० प्रतिशत काम बाँकी छ ।

कोरोना भाइरसको सन्त्रास हटेर वातावरण सामान्य भएपछि पनि काम सक्न कम्तीमा ३ महिना लाग्ने देखिन्छ । पोखराको हकमा योजनाको ५६ प्रतिशत काम सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप