शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथामका प्रयासबारे मुख्यमन्त्री पोखरेलद्वारा भिडियो संवाद

बुधबार, २६ चैत २०७६, २० : १४
बुधबार, २६ चैत २०७६

दाङ । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आज सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसँग एकीकृत भिडियो संवाद गरेका छन् ।

उनले नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साह, रुपन्देहीको समरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्ला र दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरसँग संवाद गरी कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे जानकारी लिए ।

एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो ।  स्थानीय तहका प्रमुखले अहिलेसम्म गरेका कामबारे जानकारी गराउँदै भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको बताए ।

दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन उहाँहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । 

स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे । दैनिक ज्यालादारी गरेर खाने मजदूर र विपन्न समुदायलाई खाद्यान्नलगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने तथा आवश्यक सहयोग प्रदेशले गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसियुसहितको उपचारको व्यवस्था गरेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले समाजमा त्रासको वातावरणलाई चिरेर अघि बढ्न आग्रह गरे ।

क्वारेन्टाइनमा बसेकालाई ¥यापिड टेस्टिङ गरेपछि मात्रै पठाउने र केही दिनमै ¥यापिड टेस्ट हुने उनले बताए । त्यसैगरी ज्वरो आएका र आइसोलेसनमा रहेकालाई स्वाब परीक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रबन्ध मिलाइएको, सशस्त्र प्रहरीको सङ्ख्या बढाइएको र स्थानीय तहले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरे । भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको तथा केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकाले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न उनले आग्रह गरे ।

अहिले खेती स्याहार्ने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्रीले स्थानीय तहका प्रमुखलाई आग्रह गरे । मुख्यमन्त्रीले दाताले सिधैँ राहत वितरण गर्ने कार्यमा रोक लगाउन निर्देशन दिँदै राहत वितरणको आवश्यक समन्वय स्थानीय तहले गर्ने र वडामार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने बताए ।

कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट सम्भव भएको बताउँदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरे । अरु प्रदेशबाट आउने नाकामा कडाइ गरी अघि बढ्नुपर्ने उनले बताए । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिँदा जोखिमबाट जोगिन सकिने भएकाले स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले बताए ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा केही दिनअघि भएको आगलागीबाट प्रभावित परिवारलाई प्रदेशबाट दिइने आवश्यक राहतका लागि प्रक्रिया छिटो टुङ्गोमा पु¥याउन मुख्यमन्त्रीले अध्यक्षलाई आग्रह गरे । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्री पोखरेलले गर्नुभएको यो पाचौं भिडियो संवाद हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप