बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१०० दिन जसले विश्वलाई बदल्यो

स्वतन्त्रताको परिभाषा फेरियो, मानवजातिलाई नयाँ पाठ
बिहीबार, २७ चैत २०७६, ०९ : ५१
बिहीबार, २७ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको १०० दिन पूरा भएको छ । आजभन्दा १०१ दिन पहिले चीनको उहान शहरबाट कोरोनाभाइरस फैलन सुरु भएको थियो । चीनमा अहिले अवस्था सामान्य भइरहेको छ । त्यहाँको शहर जगमगाइरहेको छ । तर, पछिल्लो एक सय दिनले दुनियाँको सधैँको लागि बदलिदिएको छ ।

यो १०० दिन विश्वको लागि, तपाइँ हाम्रो लागि सबैभन्दा कठिन दिन भएको छ । यसले तपाइँ हाम्रो जीवन बदलिदिएको छ । हामीले सायद कल्पना पनि गरेका थिएनौँ, हामीले यो अवस्था समेत भोग्नुपर्छ ।

कोरोना भाइरसको संक्रमणको टाइमलाइन

अघिल्लो वर्ष ३१ डिसेम्बरका दिन चीनको उहान शहरमा संक्रमणको मामला अघि आएको थियो । त्यसको दोस्रो दिन अर्थात् १ जनवरी २०२० मा उहानको ‘सी फुड मार्केट’ बन्द गरिएको थियो । मानिन्छ, यही बजार कोरोना भाइरसको उद्गमस्थल हो । यहाँ कै कुनै जनावरबाट यो भाइरस फैलन सुरु भएको विश्वास गरिन्छ । तर, यसमा पनि अनुसन्धानकर्ताहरु विभाजित छन् ।

९ जनवरीको दिन यो भाइरसको पहिलोपटक पहिचान भयो । त्यसको एक रातअघि ऊहान एक ६१ वर्षीय व्यक्तिले ज्यान गुमाएका थिए । यो नयाँ प्रकारको कारोनाभाइरस रहेको थाहा भयो । यसअघि, दुई कोरोनाभाइरस सार्स र मर्स महामारीको रुपमा फैलिसकेको थियो । यो एउटा नयाँ प्रकारको भाइरस थियो जसको कुनै भ्याक्सिन र औषधि थिए ।

१३ जनवरीमा चीनबाहिर पहिलोपटक यो संक्रमण देखियो । चीनबाहिर थाइल्यान्डमा पहिलोपटक उक्त संक्रमण देखिएको थियो । चीनको ऊहानबाट आएकी ६१ वर्षीय महिलामा यस्तो संक्रमण देखिएको थियो ।

२० जनवरीमा मात्रै यो थाहा भयो, यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत सरिरहेको छ । त्योवेलासम्म चीन र विश्व स्वास्थ्य संगठनले यस्तो सम्भावना इन्कार गरिरहेको थियो ।

त्यसको ४ दिनपछि अर्थात् २४ जनवरीको दिन यो भाइरस युरोप प्रवेश गर्यो । नयाँ वर्ष मनाउन चिनियाँ नागरिकहरु युरोपका विभिन्न शहर गएका कारण यो संक्रमण युरोपमा छिट्टै सुरु भएको थियो । तर सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीजरल्याण्डको डाभोसस्थित एउटा सम्मेलनमा भने, ‘कोरोना भाइरसबाट अमेरिका खतरामुक्त छ ।’

त्योबेला उनी विश्वमा के भइरहेको छ भन्नेबारे बेखबर रहे । सायद उनैलाई थाहा थिएन, अमेरिका यो भाइरसको यति ठूलो शिकार बन्नेछ । अहिले अमेरिका विश्वको सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ जहाँ १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ लाख नाघेको छ ।

यो भाइरस संक्रमणपछि अमेरिका विश्व शक्तिराष्ट्रको पहिलो नम्बरबाट हट्नसक्ने अनुमान समेत गरिएको छ । यो भाइरसले अमेरिकाको पूरा छवि तोडिदिएको छ ।

भाइरस देखिएको ठीक एक महिनापछि अर्थात् जनवरी ३१ का दिन बेलायत युरोपियन युनियनबाट जुन दिन अलग भयो, सोही दिन यो भाइरसले विश्वभर तेज गतिमा संक्रमण बढाइरहेको छ भन्ने प्रमाणित भयो ।

३६ औं दिन चीनभन्दा बाहिर यो भाइरसका कारण पहिलो मृत्यु भयो । त्योबेला फिलिपिन्सको एउटा अस्पतालमा उहानकै नागरिकको मृत्यु भएको थियो ।

५० औं दिन यो दक्षिण कोरियामा पनि देखियो । त्यो दिन दक्षिण कोरियामा एकजना महिलामा जनामा त्यस्तो संक्रमणको लक्षण देखिएको थियो । भनिन्छ, यिनै महिलाले दक्षिण कोरियामा हजारौंमा यसको संक्रमण निम्त्याएको थियो । ती महिलाले एउटा प्रार्थनासभामा भाग लिएकी थिइन् । र हजारौंलाई यो रोग सारेकी थिइन् ।

५६ औं दिनसम्म यो भाइरसबाट विश्वमा संक्रमित हुनेको संख्या ८० हजार भन्दा बढी भइसकेको थियो । ६६ दिनसम्म इटाली यो भाइरसबाट ज्यादै खराब अवस्थामा पुगिसकेको थियो । यहाँ दिनदिनै सयौं संख्यामा मानिसहरुको मृत्यु हुन थाल्यो । त्योबेलासम्म पनि नेपाल लगायत मुलुकले यसमा आफ्नो कुनै खतरा नभएको दाबी गरिरहेका थिए ।

७१ औं दिन विश्व स्वास्थ्य संगठनले यो रोगलाई महामारी घोषणा गरिदियो । त्यो दिनसम्म पनि हामी निश्चिन्त भएर बसिरहेका थियौं । ७७ औं दिनसम्म विश्व्भरी नै जनजीवन अस्तव्यस्त हुन सुरु भयो । इटालीमा त्यो बेलासम्म औसत साढे ४ सयको दरमा मृत्यु हुन थालिसमेको थियो ।

८४ औं दिन नेपालले लकडाउन घोषणा गरेको छ जसको आज १७ औं दिन चलिरहेको छ । नेपालले लकडाउन गरेको भोलिपल्ट भारतले २१ दिनका लागि देश नै लकडाउनको घोषणा गरिदियो । यति ठूलो र यति ठूलो जनसंख्या भएको देशलाई सरकारले नै पूर्णरुपमा बन्द गरेको यो पहिलोपटक थियो । सयौं दिनसम्म आइपुग्दा विश्वभरका ४ अर्ब मानिहरु हामीजस्तै लकडाउन भोगिरहेका छन् । जबकी भाइरसको उद्गमस्थल मानिएको ऊहान शहरलाई चीनले लकडाउनमुक्त गरेको छ । उहान खेलेको छ तर विश्व अहिले बन्द अवस्थामा छ । चीनमा जनजीवन सामान्य बन्दैछ । उद्योग कलकारखाना खुल्न सुरु भएका छन् । फाब्र्सको तथ्यांक अनुसार विश्वका सबै अर्बपतिले यो अवधिमा आफ्नो सम्पत्ति गुमाउँदा चिनियाँ अर्बपतिको मात्रै सम्पत्ति बढेको छ ।

कोरोनाभाइरसले के सिकायो ?

पहिलो कुरा, पछिल्लो १०० दिनमा मानिसलाई आफ्नो जीवनको महत्त्वबारे ज्ञान भयो । हामी जुन हिँडडुलमा आफ्नो जीवन खर्च गरिरहेका थियौँ, जीवन बचाउनको लागि पुराना रहनसहन छोडिरहेका छन् ।

हाम्रो देशमा यसअघि स्वतन्त्रताको नाममा ठूलाठूला नारा लाग्थ्यो । स्वतन्त्रता मागेर होइन खोसेर लिनुपर्छ भनिन्थ्यो । हिँड्ने, बोल्ने, खाने, लगाउने जस्ता विषयमा स्वतन्त्रताको बहस हामीले निकै गर्यौं । हामीले अहिले सम्झिरहेका छौँ, आफ्नो घरबाट बाहिर निस्कनुको स्वतन्त्रता कति हुँदो रहेछ । आफ्नो साथीसँग, आफन्तसँग मिल्नुको महत्व पनि हामीले बुझेका छौँ । बाहिर गएर खाना खानु, सपिङ गर्न पाउनु कति ठूलो स्वतन्त्रता रहेछ भनेर पनि हामीले बुझेका छौँ ।

भाइसरले सिकाएको अर्को पाठ भनेको समानताको हो । विश्वमा मान्छे जतिसुकै धनी होस् वा गरिब होस् । शहरमा बसोस् कि गाउँमा बसोस् । जुनै वर्णको होस् वा जातको होस्, मृत्युको आँखामा सबै बराबर नै हुन्छ । कारण यही हुनसक्छ विश्वमा देशका राजा, प्रधानमन्त्री, अर्बपति, खेलाडी, सेलीब्रेटीदेखि दुनियाँलाई यो संक्रमणले गाँजेको छ ।

तेस्रो कुरा, हामीले अत्यावश्यक वस्तु के हो भनेर पहिलोपटक हामीले महशुस गरेका छौँ । इन्टरनेट वा टेलिफोन वा सञ्चारमाध्यमलाई छाड्ने हो भने अरु कार्यमा हामी कति सीमित भयौँ भन्ने यसले देखाउँछ । सपिङ नगए पनि हुँदो रहेछ, बाहिर खाना नखाए पनि हुँदो रहेछ ।

अहिले विवाह, ब्रतबन्ध थोरै मान्छेबाट पनि गर्न सकिँदो रहेछ भन्ने पनि महशुस भएको छ । जन्मदिन र वार्षिकोत्सव नमनाउँदा पनि हुँदोरहेछ भन्ने थाहा भएको छ । दाहसंस्कारमा जान पनि मान्छेहरु हिच्किचाउन थालेका छन् । बच्चाको जन्मदिन अब कुनै उत्सव रहेन । कसले कत्रो पार्टी गर्छ, कति गिफ्ट दिन्छ, अब सवाल भएन । बाबुआमाहरु यसैमा खुसी हुनुपर्ने दिन आएको छ कि आफ्ना बच्चाहरु अहिलेसम्म स्वस्थ छन् ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रकृतिले अहिले पुरानो स्वरुप देखाउन थालेको छ । मान्छेहरु लकडाउनमा जाँदा प्रकृति खुलिरहेको देखिन्छ । प्रदुषण कम भएको छ । भिजिबिलिटी बढेको छ । सयौँ कोष टाढाको पहाड पनि देखिनसक्ने भएको छ । आकाश सफा छ, नदी सफा बनेको छ । वायुप्रदुषण र ध्वनीप्रदुषण अहिले निकै कम भएको छ ।

यो पृथ्वीमा मान्छेको दोहन रोकिएको छ । पृथ्वीमा मान्छेको जति अधिकार छ, अन्य जनावरको पनि उनी नै हुने रहेछ भन्ने महशुस पनि अहिले भएको छ । यो महामारीले हामीलाई सायद प्रकृतिको सम्मान गर्न सिकाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप