बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाटन अस्पतालमा निरन्तर ओपीडी सेवा

निर्देशक शर्मा भन्छन्–‘कारोनाको नाममा अरु विरामीले दुःख पाउनु हुँदैन’(भिडियो)
बिहीबार, २७ चैत २०७६, १० : ४५
बिहीबार, २७ चैत २०७६

ललितपुर सुनाकोठीकी नानीमैँया मर्हजन बुधबार पाटन अस्पताल पुगेकी थिइन् । पेटको समस्याले समस्या लिएर अस्पताल पुगेकी उनलाई कोरोनाको त्रासले डाक्टरले उपचार नगर्ने हुन् कि भन्ने डर थियो । तर ओपीडीमा टिकट काटेर उनले स्वास्थ्य जाँच गराउन पाइन् ।

सिनामङ्गलका रामप्रसाद त्वनावासुको ४६ दिन पहिले पथ्थरीको अप्रेशन गरिएको थियो । उनको पिसाव नलीमा राखिएको पाइप निकाल्नु पर्ने थियो । उनी अस्पताल आउँदा ओपीडी खुलिरहेको थियो । समयमा उपचार पाएर घर फर्किने तर्खरमा रहेका उनले डाक्टर र नर्सले राम्रो सेवा दिइरहेको बताए ।

सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न लकडाउन जारी गरेपछि अधिकांश निजी तथा सरकारी अस्पतालले ओपीडी सेवा हटाएका छन् । तर ललितपुरको पाटन अस्पतालमा भने पहिले झै निरन्तर यो सेवा जारी छ । टाढाबाट हिँडेर वा एम्बुलेन्समा आएका बिरामीले सेवा पाइरहेका छन् । ललितपुरको गिम्दीबाट खुट्टाको घाउको उपचार गर्न आएकी सिता मगरले पनि छिट्टै उपचार पाएको बताइन् ।

निरन्तर ओपिडी, २ हजार जनामा २ सय बिरामी

कोरोनाको त्रास बढेपनि पाटन अस्पातालले ओपीडी सेवा बन्द नगरेका कारण सामान्य रोगका विरामीले पनि उपचार पाएका छन् । अस्पतालमा उपचारमा आएका कुनैपनि बिरामीलाई नफर्काएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले रातोपाटीलाई जानकारी दिए ।

यद्यपी धेरै भीडभाड नगर्ने नीति अनुसार अस्पतालका केही कर्मचारीलाई भने विदामा राखिएको शर्माले बताए ।

उनले भने–‘ओपीडिदेखि प्रशासनका केही कर्मचारीलाई उनीहरुले पाउने बिदा कतौटी हुने गरी बिदामा राखिएको छ । अहिले चाहिने मात्र जनशक्ति खटाइरहेका छन् । इमरजेन्सी, नर्सिङ, मेडिसिन लगायतका अत्यावश्यक कर्मचारीहरुलाई भने बिदा दिइएको छैन उनीहरु निरन्तर काममा खटिइरहेका छन् ।’

यसअघि ओपिडिमा २ हजार हाराहारीसम्म बिरामी आउने गरेकोमा अहिले २ सयसम्म विरामी उपचारका लागि जाने गरेका छन् ।

विरामीको स्वास्थ्य परिक्षणका लागि एक्सरे लगायतका सम्पूर्ण ल्याब सञ्चालनमा रहेको छ । उनले भने, ‘कोही विरामी अस्पताल आइसकेपछि हामी उपचार गरेर पठाउँछौँ । हामीले ओपिडि सेवा बन्द गरेनौँ, केही कम मात्र ग¥र्यौँ । भीड कम गर्ने भनेपछि हामीले स्टाफलाई पनि कम ग-यौँ । केही कर्मचारीलाई छुट्टी पनि दियौँ । लकडाउन भएपछि विरामीको संख्या घट्ने पनि भइहाल्यो । आएका विरामीलाई हामीले सेवा दिएका छौँ फर्काएका छैनौँ ।’

ज्वरो आएको विरामीलाई छुट्टै क्लिनिक

कोरोनाभाइरसको त्रास पछि राजधानीका निजी अस्पतालले हत्तपत्त विरामीको उपचार गर्न मानिरहेका छैनन् । अझ ज्वरो आएको विरामीलाई त उनीहरुले अस्पतालको गेटभित्रै छिर्न नदिने र सरकारी अस्पताल पठाउने गरेका छन् । कतिपय सरकारी अस्पतालले पनि ज्वरोका विरामीलाई उपचार गर्न नचाहेको कुराहरु पनि सार्वजनिक भएका छन् ।

पाटन अस्पतालले भने ज्वरो आएका विरामीका लागि छुट्टै क्लिनिक सञ्चालन गरिरहेको छ । पहिलेदेखि नै अस्पतालले ज्वरो क्लिनिक चलाउदै आएपनि अहिले छुट्टै क्लिनिकको रुपमा सञ्चालनमा ल्याएको छ ।

ज्वरो आएको विरामीमा कोरोनाको शंका लाग्यो भने छुट्टै राखेर उपचार गर्ने र सामान्य ज्वरो हो भने विरामीलाई घर पठाउने गरेको शर्माले जानकारी दिए ।

दैनिक बढीमा १५ जनासम्म अस्पतालमा ज्वरोको विरामी आउने गरेका छन् ।

यस्तो छ पाटन अस्पतालमा कोरोना उपचारको पूर्वतयारी

पाटन अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अहिले ७० बेड तयार पारिएको छ । साथै संक्रमण बढेमा अस्पतालको प्रसूति वार्डबाहेक पूरै अस्पताललाई कोरोना उपचारका लागि प्रयोग गर्ने अस्पतालको योजना रहेको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले रातोपाटीलाई जानकारी दिए ।

चीनमा कोरोना भाइरसको सूरु भएपछि पाटन अस्पतालले ५ वटा आइसोलेशन बेड छुट्टयाएको थियो । यूरोपमा पनि संक्रमण फैलिएपछि सचेत हुनुपर्छ भनेर विभिन्न चरणका योजना बनाएको निर्देशक शर्माले बताए ।

अस्पतालले पहिलो योजनाका रुपमा ५ वटा बेड राखेको थियो । प्रकोप बढ्दै गएपछि दोश्रो योजनाअन्र्तगत छुट्टै ६ बेडको ज्वरो क्लिनिक शुरु गरेको थियो ।

यस्तै कोरोनासंक्रमण भेटिएमा उपचारका लागि १५ वटा छुट्टै वेड स्थापना गरिएको थियो । यस्तै २१ वटा आइसीयू बेड तयार गरिएको छ । कोरोनाको संस्कास्पद विरामी आउन आउन थाले भने कूल ७० बेड छुट्टाएको निर्देशक शर्माले जानकारी दिए ।

यदी कोरोनाको प्रकोप बढ्यो भने अस्पालमा रहेको प्रसूति ब्लकबाहेक पूरै अस्पताल संक्रमितको उपचारमा प्रयोग गर्ने तयारी रहेको शर्माले बताए ।

पीपीई, स्यानिटाइजर आफैले उत्पादन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव भइरहेका बेला पाटन अस्पतालले आफैले पीपीई र स्यानीटाइजर बनाइरहेको छ ।

निर्देशक शर्माले रातोपाटीसँग भने–‘अस्पताल आफैले पनि पीपीई बनाइएको छ । सम्भवत आफै पीपीई बनाउने अस्पतालमा हामी नै पहिलो छौँ होला । करिब २ अगाडिदेखि हामीले पीपीई बनाउन सुरु ग¥यौँ । हाम्रो आफ्नै पहलमा दिनको पाँच सात वटा जति बन्ने गरेको छ । त्यसमध्ये केही खर्च पनि भएको छ । अहिलेसम्म २ सय वटा बनायौँ अझै बनाउँदै छौँ ।’

भाइरसको संक्रमण फैलियो भने धेरै पीपीई चाहिने भएकोले अस्पताल पीपीई बनाउन आफै सक्रिय भएको हो ।

उनले भने–‘भोलिको दिनमा कति चाहिएला भनेर यकिन गर्नै गाह्रो छ । बिरामीको मात्रा बढ्यो, कर्मचारीको मात्रा बढाउनुप¥यो भने पीपीई धेरै नै खर्च हुन्छ । भोलि कति चाहिएला भनेर अनुमान गर्न सकिँदैन, पर्याप्त मात्रामा चाहिने देखिन्छ ।’

अस्पतालले आफ्नो लागि पुग्ने गरी स्यानिटाइजर पनि बनाइरहेको छ । यस्तै अस्पतालले सर्जिकल मास्कलाई वचत गर्ने काम पनि गरेको छ ।

निर्देशक शर्माले भने–‘कोभिडका लागि चाहिन्छ भन्ने हिसावले पनि सर्जिकल मास्क बचत गरेर त्यसको ठाउँमा कपडाबाट बनाएको मास्क प्रयोग गरेका छौँ । सुरुमा हामी आफैले सुतीको कपडाबाट मास्क बनायौँ । त्यसपछि सेनीटाइजर र पीपीई बनाइरहेका छौँ ।’

अस्पताललाई मास्क र पीपीईको अझै आवश्यकता भएपनि सेनीटाइजर भने किन्न नपर्ने शर्माले बताए । स्वास्थ्य सेवा विभागले २ हजार संख्यामा मास्क दिएपनि अझै किन्न खोजिरहेको उनले बताए ।

पाटन अस्पतालमा कोरोनाको शंकामा उपचार गर्ने मध्ये २९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने २ जनाको रिर्पोट आउन बाँकी छ ।

अहिले पीपीई धेरै खर्च हुने भएकोले ३ सिफ्टमा काम गर्ने स्वास्थ्यकर्मीलाई २ सिफ्टमा सारेर काम गरिएको छ ।

बाथरुम जाँदा, खाना खान जाँदा पीपीई परिवर्तन गर्नुपर्ने नियम भएकोले ड्युटी सुरु गर्नु अगाडि नै केही खाएर जान भनेको उनले बताए ।

कोरोनाबारे धेरै पनि आत्तिनु हुँदैन

कतिपय मान्छे अरु कामले अस्पताल छिर्न पनि डराइएको डा. शर्माले बताए । उनले भने–‘कसैले केही चिज दान गर्न खोज्यो भने पनि अस्पताल नछिरौँ कि भन्ने पाएका छौँ । मान्छे यसरी समेत त्रसित भइरहेका बेला हाम्रा स्वास्थ्यकर्मी साथीहरुले बिरामीको नजिक भएर उपचार गर्नुपर्ने हुन्छ । त्यसैले बढी मात्रामा त्रसित स्वभाविक रुपमा हुन्छन् । तर सबै रोगीलाई कोरोना नै हो कि भनेर त्रसित हुनु पनि हुँदैन ।’

उनले हरेक दिन संसारमा लाखौँ मानिसहरु विभिन्न रोगबाट मरिरहने बताउदै हिजोका दिनमा पनि अरु रोगबाट यसरी नै मान्छेहरु मरिरहेका हुन्थे भन्ने कुरालाई अहिले कोरोनाको प्रकोप फैलियो भन्दैमा त्यो कुरा चाहिँ बिर्सनु नहुने बताए ।

उनले भने–‘कोरोनाको संक्रमण फैलियो भन्दैमा फेरि अरु रोगका विरामीले पनि दुःख पाउनु हुँदैन । कोरोना भनेर मात्र हुँदैन, अरु रोग त हिजो पनि थियो आज पनि छ भोलि पनि हुनेछ । ती रोग लागेका मानिहरुले पनि उपचार पाउनुपर्छ ।’

उनले प्रत्येक विरामी भएको मान्छेलाई कोरोना नै हो भन्ने र कुनै कारणबाट मरेकोलाई पनि कोरोनाका कारण म¥यो भन्नु पनि राम्रो नभएको उल्लेख गरे ।

उनले भने–‘कोरोनाका कारणले अरु विरामीहरुले उपचार नपाएको भन्ने कुरा पनि सुन्नमा आएको छ यो चाही राम्रो हैन । अरु रोग हिजो पनि लाग्थे ती रोगले विरामी पनि मरिरहेका हुन्थे, त्यही रोग आज पनि छ, त्यही रोगले अरु विरामी पनि मर्न सक्छन् । सबै चिजको दोष चाहीँ कोरोनालाई दिनुहुँदैन ।’

अहिले ज्वरो आउँदा पनि कोरोना हो कि भनेर मान्छे डराइरहेका छन् । उनीहरुलाई डाक्टर शर्माले सुझाव दिए–‘अहिले कसैलाई ज्वरो आएको छ, डराएर घरमा बस्नुभएको छ भने उपचार गर्न आउनुस् । कोरोना भएको छ भने पनि नडराउनुस्, कोरोना संक्रमण भएका सबैजना मर्ने पनि हैन । शंका लाग्यो भने बेलैमा जचाँउदा त्यो आफ्नो लागि, परिवार समाजका लागि, देशका लागि र सिँगै विश्वका लागि हीतकर हुनेछ ।’

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप