शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना जोखिमसँग जुध्दैछ बागलुङ

बिहीबार, २७ चैत २०७६, १२ : ५२
बिहीबार, २७ चैत २०७६

–रामबहादुर थापा/तारानाथ आचार्य
बागलुङ । नेपालमा कोभिड–१९ को पाँचौँ सङ्क्रमित भेटिएको बुधबार १३ दिन पुग्यो । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया ती युवती जिल्लाको भने पहिलो सङ्क्रमित हुन् ।दुर्भाग्य, युवतीमा सङ्क्रमण देखिएको छ दिनपछि सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भयो । जुन नेपालको छैठौँ कोराना भाइरस सङ्क्रमणको घटना हो ।

एक साताको अन्तरमा भेटिएको यो सङ्क्रमण भने आयातित हो । बेल्जियमबाट दोहाहुँदै कतार एयरको क्यूआर ६५२ मा नेपाल आएका दुवैमा कोभिड–१९ को सङ्क्रमण फेला परेको हो । सोही विमानमा आएकी काठमाडौँकी युवतीमा कोरोना देखिएपछि बागलुङकी युवती र महिलामा कोरोना जाँच गरिएको थियो ।

भाग्यवस सङ्क्रमितसँगै एउटै विमानमा यात्रा गरेका बागलुङका अन्य दुई पुरुषमा भने कोराना भाइरस देखिएन । यतिमात्र होइन, सङ्क्रमित युवती र महिलाका परिवार तथा आफन्तमासमेत कोरोना भाइरस परीक्षण ‘नेगेटिभ’ आयो । जिल्लामा हालसम्म सम्भावित १८ जनामा कोरोना भाइरस जाँच गरिएकामा दुई जनामा मात्र सङ्क्रमण भेटिएको छ । बुधबार पनि थप १० जनाको ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाइएको छ । न्यून परीक्षणकाबीच समुदायमा सङ्क्रमण फैलिने जोखिमबाट भने बागलुङ मुक्त छैन । सङ्क्रमित व्यक्तिका परिवार र भौतिक सम्पर्कमा आएका व्यक्तिमा कोरोना परीक्षण ‘नेगेटिभ’ आउनुलाई भने सुखद् मानिएको छ ।

यसबीचमा सरकारले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी बागलुङमा दु्रत जाँच (¥यापिड टेस्ट) गर्ने निर्णय गरेको छ । यस्तो जाँचबाट समुदायमा सङ्क्रमणको अवस्था पत्ता लाग्ने विश्वास गरिएको छ । सरकारको यो निर्णय भएको पाँचौ दिन बुधबार स्वास्थ्य मन्त्रालयबाट प्राविधिक टोली आइपुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बुधबार साँझ आवश्यक उपकरणसहित प्राविधिक टोली बागलुङ आइपुगेको र बिहीबार बिहान यसबारेमा स्वास्थ्यकर्मीहरुलाई तालीम पनि दिइसकिएको जानकारी दिए । ‘जिल्लाका स्वास्थ्यकर्मीहरुसँग अभिमुखीकरण बिहीबार बिहान सकिएको र यससँगै दुई जनाको जाँच पनि शुरु भएको छ’, उनले भने ।

पहिलो चरणमा सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका गरी करिब एक हजारमा कोरोना भाइरस परीक्षण हुने जनाइएको छ । ‘किट’को माध्यमबाट छोटो समयमा धेरै व्यक्तिको जाँच गर्न सकिने प्रमुख गुरौको भनाई छ । अब यो प्रविधिको माध्यमबाट सरकारको निर्णय बमोजिम र्यापिड जाँचको काम अघि बढ्ने उनले जानकारी दिए ।

दु्रत जाँचका क्रममा परीक्षण ‘पोजेटिभ’ आएमा थप पुष्टिको लागि सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने छ । चैत लागेपछि विदेशबाट झण्डै ९ सय जना जिल्ला भित्रिएका छन् । तीमध्ये न्यून सङ्ख्यामा मात्र ‘क्वारेन्टाइन’मा बसेका छन् । अधिकांश भने घरमै छन् । तर स्थानीय प्रतिनिधि तथा स्वास्थ्यर्मीहरुले यसरी घरैमा बसेकालाई पनि एकान्तबासमा बस्न र आफ्ना परिवार तथा समुदायमा भौतिक रुपमा नजिक नभइदिएर सावधानी अपनाउन अनुरोध गरिरहेका छन् ।  

यस्तो छ अस्पतालको तयारी

सरकारले सदरमुकाममा रहेको धवलागिरि अञ्चल अस्पताललाई कोभिड–१९ को उपचार हुने अस्पतालका रुपमा किटान गरेको छ । जिल्लाका दुई सङ्क्रमित यही अस्पतालममा उपचाररत छन् । कोरोनाको कहर शुरु भएपछि वर्षौँसम्म अलपत्र परेको सघन उपचार कक्ष (आइसीयू) निर्माणको कामले गति लिएको छ ।

कोरोना भाइरसका कारण जटिल अवस्थामा पुगेका बिरामीलाई ‘आईसियू’मा राखेर उपचार गर्नुपर्ने हुन्छ । कोरोना सङ्क्रमितलाई नै उपचार गर्नुपर्ने अवस्था आएपछि अस्पतालमा ‘आइसियू’ सञ्चालनका लागि मन्त्रालय र सम्बन्धित निकाय पनि दबावमा परेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले ‘आइसीयू’का लागि चाहिने उपकरण र सामग्री खरिदका लागि मङ्गलबार बोलपत्र आह्वान गरिएको बताए । ‘प्रकृया अगाडि बढीसक्यो, अब संरचना निर्माणलगायतको काम तत्कालै शुरु हुन्छ’, उनले भने, ‘यथाशक्य छिटो सेवा शुरु गर्छौँ ।’

सरकारले उक्त कामका लागि रु. एक करोड बजेट छुट््याइएको अध्यक्ष रानाले बताए । गण्डकी प्रदेश सरकारले पनि ‘भेण्टिलेटर’ लगायतका स्वास्थ्य उपकरण र सामग्री अस्पताललाई उपलब्ध गराएको छ । अस्पतालका प्रमुख चिकित्सक शैलैन्द्र बि पोखरेलले अस्पतालमा हाल चार वटा ‘आइसोलेटेड बेड’ रहेको जानकारी दिए ।

तीमध्ये दुईमा कोभिड–१९ का बिरामी उपचाररत छन् । अवस्था हेरेर ‘आइसोलेटेड बेड’ थप्ने योजनामा अस्पताल छ । प्रमुख चिकित्सक पोखरेलले ‘आइसीयू’ सेवादिन दक्ष जनशक्तिको खाँचो औँल्याए । अस्पताल व्यवस्थापन समितिले दक्ष जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएको छ ।

कोरोना सङ्क्रमितको जाँच र उपचारमा खटिने स्वास्थ्यकर्मीले यथेष्ठ तालीम र सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । धवलागिरि अञ्चल अस्पताल कोभिड–१९ का बिरामी उपचार गर्ने तेस्रो अस्पताल हो । यसबाहेक काठमाडौँको टेकु र धनगढीको सेती प्रादेशिक अस्पतालमा उक्त रोगका बिरामी उपचाररत छन् ।

विदेशबाट आएका निगरानीमा

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सङ्कट व्यवस्थापन समितिका संयोजक गौलोचन सैँजूले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षसँग समन्वय र सहकार्य भइरहेको बताए । उनले ‘लकडाउन’ पालनादेखि सचेतनाका कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे ।

‘शुरुका दिनमा भन्दा नागरिकहरु पनि सचेत भएको अवस्था छ, लकडाउनलाई थप कडा तुल्याएका छौँ’, प्रजिअ सैँजूले भने । देशभरमै पहिचान भएका नौमध्ये दुई सङ्क्रमित बागलुङमै भेटिएपछि उच्च सतर्कता र निगरानी बढाइएको उनको भनाइ छ ।

उनले अस्पताल र स्वास्थ्यकर्मीले कोरोना विरुद्धको लडाईँमा अग्रभागमा रहेर खेलेको भूमिकाको प्रसंशासमेत गरे । सुरक्षा प्रबन्ध र अन्य समन्वयकारी काममा स्थानीय प्रशासन सँधै साथ रहेको उनको भनाई छ । ‘जिल्ला कमाण्ड पोष्ट’कोसमेत नेतृत्व सम्हाल्नुभएका सैँजूले विदेशबाट जिल्ला भित्रिएका सबैलाई निगरानीमा राखिएको बताए ।

‘अहिलेसम्मको तथ्याङ्क अनुसार विदेशबाट जिल्ला भित्रिने ७ सय ७८ जना रहेको पाइएको छ, उहाँहरु सबैलाई घरमै एकान्तवास (होम क्वारेन्टाइन) मा बस्न अनुरोध गरेका छौँ’, प्रजिअ सैँजूले भने । उनका अनुसार विदेशबाट आएका कतिपय व्यक्ति स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइनमा बसेका सबैको नियमित रुपमा स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सुझाव दिने काम भइरहेको जिल्ला सङ्कटन व्यवस्थापन समितिले जनाएको छ । कोरोना फैलिएका देशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसकिएपछि निगरानी भने गरिएको समितिको जिकिर छ । विदेशबाट आएका जो कोहीमा पनि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिए तत्काल जाँच गर्ने गरिएको छ ।

सङ्क्रमितको अवस्था सामान्य
धवलागिरि अञ्चल अस्पतालमा उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पैँसट्ठी वर्षीया सङ्क्रमित महिलालाई पुरानै दम र उच्च रक्तचापको औषधि दिइएको र  नयाँ समस्या केही पनि नरहेको चिकित्सकहरुको भनाई छ । 
अर्की १९ वर्षकी युवतीमा पनि अहिले कुनै लक्षण देखिएको छैन । दुवै सङ्क्रमितले छिट्टै निको भएर घर फर्कने विश्वास लिएका छन् । युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि कोरोना भाइरसको रिपोर्ट भने ‘पोजेटिभ’ देखिएको छ । लगातार दुई पटकको परीक्षणमा ‘नेगेटिभ’ देखिएमा मात्र सङ्क्रमितलाई घर पठाइने चिकित्सिकले बताएका छन् ।

‘तरकारी, दूध घरमै मगाउनुस्’
    
कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जिल्लामा ‘लकडाउन’ थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कडाइ गरिएको हो । अघिल्ला दिनहरुको तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । पछिल्ला तीन दिनमा ‘लकडाउन’ अटेर गरी बजारमा हिँडडुल गर्ने करिब एक सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएकालाई सम्झाइ बुझाइ गरेर छाडिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन सबैमा आग्रह गरेको छ ।
‘दैनिक उपभोग्य वस्तुपनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ’, प्रहरी उपरीक्षक भट्टले भने, ‘लकडाउनको पालना गराउन हाम्रो तर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लङ्घन भए थप कडाइ गर्छौँ ।’

कतार एयरवेजबाटै आएका दुई महिला बागलुङमा सङ्क्रमित भेटिए । उनीहरुसँगै आएका अर्का युवाको पनि पहिचान भयो यही जिल्लामा । अर्को कुरा अरु जिल्लाको तुलनामा बागलुङका धेरै नागरिक वैदेशिक रोजगारीमा छन् । त्यसैले विदेशबाट जिल्लामा धेरै भित्रिए होलान् भन्ने पर्यो र यसका कारण जिल्लामा कोरोनाका सङ्क्रमणको त्रास नै बढ्यो । तर अहिले अवस्था सामान्य भएको छ । सङ्क्रमितहरुको अवस्था सामान्य छ भने अरु थपिएका छैनन् । तर पनि बागलुङ जोखिमसँग भने जुध्दै नै छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप