शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानिस घरभित्र बसेपछि भोकभोकै मर्न थाले गाईबस्तु

बिहीबार, २७ चैत २०७६, १४ : १४
बिहीबार, २७ चैत २०७६

–धुर्वसागर शर्मा 
गलेश्वर । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन् ।

बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि गाईगोरू रोग र भोकले मर्न थालेका हुन् । बेनीको हाँडेभिर, खुलामञ्च, हुलाकचोक लगायतका सडकमा छाडा अवस्थामा रहेका एक दर्जनभन्दा बढि गाईबस्तु खानेकुरा नपाएपछि दुई सातादेखि भोकभोकै छन् । तीमध्ये तीनवटा पशु मरिसकेका छन् भने अन्य पशुहरुपनि खानाको अभावमा छटपटाइरहेको अवस्थामा पुगेका स्थानीयवासीले बताएका छन् ।  

मङ्गलबार एउटा गाई मृत अवस्थामा भेटियो । मृत गाईको छेउमै भर्खरको बाच्छो दुध खोजिरहेको थियो । मृत गाईलाई स्काभेटरले पुर्दै गर्दा बेनीबजारको हुलाकचोकमा पनि एउटा गोरु भोकले छटपटाइरहेको अवस्थामा सडकमै पल्टिएको थियो । बुधबार पनि बेनीको खुलामञ्च नजिकै अर्को एउटा गाई पनि खान नपाएर मरेको अवस्थामा भेटियो । गाईगोरु मात्रै होइन, यतिबेला बेनी बजारका सडकमा दुई सातादेखि खाना नपाएका पशुचौपायाको बिजोग छ ।

विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमले बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थामा देखिन्छन् ।

बेनीबजार तथा आसपासका चोकगल्लीमा भेटिने पशुचौपाया लामो समयदेखि भोकभोकै छन् । १५ दिनसम्म भोकभोकै रहेका पशुचौपाया मर्न थालेपछि उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । एकसातासम्म लम्बिएको लकडाउनको अवधिमा थप क्षति हुनसक्ने भन्दै पशुचौपायालाई कम्तिमा दुईपटक खुवाउनुपर्ने केन्द्रले जनाएको छ । बजार क्षेत्रमा गाईसँगै कुकुर समेत धेरै भएकाले भोकै कुकुरले आक्रमण समेत गर्न सक्नेतर्फ सर्तक हुनुपर्ने केन्द्रका प्राविधिकको भनाइ छ ।

एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढ्दै ग्एको छ । रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले छाडा पशुचौपायालाई दाना खुवाउन शुरू गरेको छ । छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थालाई मध्यनजर गरी बेनीका केही यूवाले लकडाउनको समयमा भोकभोकै रहेका पशुचौपायालाई दानापानीको व्यवस्था गरेका हुन् । लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बेनीबजारमा रहेका छाडा पशुचौपायालाई खोजी–खोजी दाना खुवाउने कार्य शुरु भएको बताए । ‘मानिसको जिउने अधिकारजस्तै अन्य पशुपक्षीको पनि छ’, उनले भने, ‘नबोल्ने पशुपक्षी र प्राणीलाई समेत संरक्षण गर्नुपर्छ ।’ 

म्याग्दीबाट ३७ मजदुरको उद्धार 
तीन साता लामो लकडाउनका कारण अलपत्र परेका ३७  मजदूरलाई म्याग्दीका विभिन्न ठाउँबाट उद्धार गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको तीनसाता लामो लकडाउनका कारण विभिन्न जिल्लाबाट आएर म्याग्दीमा सञ्चालित विभिन्न आयोजनामा काम गर्ने ३७ मजदूर भोकभोकै रहेका र हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेका सूचनाका आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरका अनुसार बुधबार बेनी नगरपालिका-६ गुफा हुँदै मालिकाधुरीको बाटो प्रयोग गरी गृहजिल्ला दाङतर्फ जान लागेको १४ र बेनी दरवाङहुँदै रोल्पातर्फ हिँडेका २३  मजदूरलाई उद्धार गरी सम्बन्धित आयोजनाका ठेकेदारलाई जिम्मा लगाइएको छ । उनले भने, ‘आफ्नो आयोजना स्थलमा रहेका मजदूरलाई अलपत्र पार्नेलाई कारवाही शुरु गरेका छौं, एक ठाउँबाट अर्को ठाउँमा नजान मजदूरहरुलाई समेत सचेत बनाएका छौं ।’

निर्माणाधिन बेनी अस्पतालको भवनमा काम गर्ने मजदूरहरु बेनी दरवाङ सडक खण्डको प्रयोग गरी रोल्पा जान हिडेको अवस्थामा उनीहरुलाई बेनी नगरपालिका—४ सिंगाबाट उद्धार गरिएको प्रनाउ कुवँरले बताए । उनीहरु एक हप्ता पैदल हिडेर घरसम्म पुग्ने योजना बनाइ हिडेका थिए । 

अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान बन्द गरिएको थाहा पाएपनि आफूहरुलाई भोकभोकै बस्नुपर्ने अवस्था आएकाले बस्तीभन्दा टाढा जङ्गलको बाटो प्रयोग गरी घरतर्फ जान लागेको मजदूरहरुले बताएका छन् ।

स्वास्थ्य सहायता कक्ष स्थापना

म्याग्दीमा गाउँपालिकाका प्रवेश स्थलमा स्वास्थ्य सहायता कक्ष स्थापना भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले सदरमुकाम बेनीहुँदै आफ्नो गाउँपालिका प्रवेश हुने स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका हुन् ।

बुधबारदेखि सञ्चालनमा आएका ती स्वास्थ्य सहायता कक्षमा गाउँपालिका प्रवेश गर्दा चालक, सहचालक र यात्रुहरुलाई ईन्फारेट थर्मोमिटर गनलगायत अन्य स्वास्थ्य सामग्रीबाट ज्वरो तथा अन्य रोगको परीक्षण गर्ने व्यवस्था मिलाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोकथाम तथा गाउँपालिकामा भित्रन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको उनले बताए । 
    
त्यस्तै अन्नपूर्ण गाउँपालिकाको मुख्य प्रवेशद्वार तिप्ल्याङमा पनि  रघुगङ्गा गाउँपालिकाको सहकार्यमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताए । उनले तिप्ल्याङ अन्नपूर्ण गाउँपालिकासंगै मुस्ताङ्ग जिल्ला समेतको प्रवेशद्वार भएकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहायता कक्षले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप