केन्द्रीय संस्करण
लकडाउन डायरी

अस्पताल धाउँदै सीईओ !

हामी सामाजका हिस्सा हौँ, विपदमा अग्रसर नभए कहिले हुने ? : जनक शर्मा पौड्याल, सीईओ सनराइज बैङ्क

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

कोराना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन भएसँगै प्रायः मानिस फुर्सदिला देखिए । तर केहीकेहीलाई भने लकडाउनले फुर्सद होइन थाप जिम्मेवारी बोध गरायो ।

जिम्मेवार नागरिकको भूमिकामा देखिए सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्याल । कोरोना महामारीबाट बच्ने सबैभन्दा उत्तम उपाय घरबाहिर ननिस्कनु नै हो तर सबै यसरी बस्दा सङ्क्रमित र सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी अनि सुरक्षामा खटिने सुरक्षाकर्मी जो सङ्क्रमणको उच्च जोखिममा छन् उनीहरुका लागि सुरक्षा उपकरण पुर्याउन अत्यन्त आवश्यक ठानी आफै फिल्डमा उत्रिए पौड्याल ।

सरकारले मेडिकल उपकरणको निर्माण र आयात समयमा नगर्दा चिकित्सा क्षेत्र त्राहिमाम बनेको अवस्था छ । यस्तैमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व बहन गर्दै मेडिकल उपकरण खरिद गरी अस्पताल तथा सुरक्षा निकायलाई सहयोग गरिरहेको छ । त्यसैगरी लकडाउनले मजदुरी गरेर छाक टार्ने परिवार अनि असहायमा परेको असरलाई मध्यनजर गर्दै निजी क्षेत्रले खाद्यान्नलगायत मेडिकल उपकरण सहयोग गर्दै आइरहेको छ । यीमध्ये एक हो सनराइज बैङ्क र बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको दिनचर्या आजभोलि सामाजिक कार्यमा बित्ने गरेको छ ।

विपतको घडीमा सरकारको मुख ताकेर बस्नुभन्दा पनि आफ्नो क्षेत्र र आफूले सकेको सहयोग गर्नुपर्ने धारणा शर्माको छ । त्यसैले उनी आजभोलि बैङ्किङबाहेक अस्पताल तथा स्थानीय तहमा आवश्यक सामग्रीदेखि खाद्यान्नको व्यवस्था गर्नतिर तल्लीन छन् । बचेको समय उनी घरायसी काममा पनि लगाउँछन् ।

पूजापाठबाट सुरु हुन्छ दिन

मेरो हरेक बिहान पूजापाठबाट सुरु हुन्छ । बिहान एकदेखि डेढ घन्टा पूजापाठ गर्छु । अनि दूध, तरकारी अनि फलफूल किन्न प्रायः आफै पसल जान्छु । यो लकडाउनमा पनि बिहानको समयमा पसलहरु खुल्ने भएकाले आफै जान्छु ।

अनि केही समय घर वरिपरिको करेँसाबारीमा बिताउँछु । अलिअलि तरकारी खेती गरेको छु त्यसमा समय दिन्छु । १० बजे कार्यालय जान्छु । कार्यालयमा बसेर गर्नुपर्ने काम सकेर विभिन्न अस्पताल तथा चिकित्सकहरुको अवस्थाबारे बुझ्छु । कहाँ के छ ? अवस्था हेरी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका मेडिकल उपकरण पुर्याउने काममा जुट्ने गरेका छौँ ।

अहिले त अस्पतालहरुले आफै सम्पर्क गरी सामान माग गर्ने गरेको छ । सकेको हामी सहयोग गर्न लागिपरेका छौँ । हामीले वितरण गर्ने पीपीईमा गाउन, चस्मा, मास्क, पन्जा, सेनिटाइजर लगायत छन् ।

२, ३ बजेतिर घर फर्कन्छु । घरमा रहँदा पनि कार्यालयको काम भइ नै रहन्छ । अनलाइनबाटै कार्यालयको काम हुन्छ । भिडियो कन्फेरेन्स अनि फोनबाट छलफल तथा निर्णयहरु भइरहेको हुन्छ । खालि समय टिभी, अनलाइनमा समाचार तथा सूचना हेर्ने गर्छु, सबै अपडेट रहने, घर परिवारसँग बस्ने, खालि समय अध्ययन गर्ने गर्छु ।

यो सरकारको मुख ताकेर बस्ने समय होइन

यतिबेला हात बाँधेर बस्नेभन्दा पनि सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा हामी केन्द्रित छौँ । बैङ्किङ क्षेत्र अत्यावश्यक सेवाभित्र पर्ने भएकाले बैङ्किङबाहेक पनि हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व पनि छन् । त्यसैले हामी सामाजिक कार्यमा धेरथोर योगदान गर्नतिर लागेका छौँ ।

यतिबेलाको खाँचो भनेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नै हो । हामीले विभिन्न अस्पतालहरुलाई पीपीई वितरण गरिरहेका छौँ । नेपालमा पीपीईको माग बढेको छ । भाइरस सङ्क्रमितहरु देखिन थालेसँगै अस्पताल, चिकित्सक तथा कर्मचारीमा त्रास बढेको छ । बिरामीको उपचारका क्रममा चिकित्सकहरुले प्रयोग गर्नुपर्ने पीपीई नै छैन अस्पतालहरुमा ।

नेपाल सरकारले गर्ने कुनै पनि कामको प्रक्रिया नै यति लामो छ नि त्यो राणाकालीन तरिका अझै पनि परिवर्तन हुन सकेको छैन । निजी क्षेत्रले तत्काल निर्णय गरेर आवश्यक सामान झिकाउँछ तर सरकारको प्रक्रियामै अल्झिरहेको हुन्छ । हामीले वितरण गरेका पीपीई कति विदेशबाट आयात गरिएका छन् त कति यही उत्पादित ।

कमिसन अर्को ठूलो महामारी बनेर आयो हाम्रो देशमा । यस्तो विपदको अवस्थामा सरकारी स्तरमै जुन खालका गतिविधि भयो त्यो विश्व समुदायका अगाडि निकै हास्यास्पद छ । यस्तो अवस्थाको फाइदा लुट्न खोज्नु ठूलो अपराध हो । वास्तवमा यस्तो अवस्थामा आत्मा शुद्ध राखेर सेवाको भावले काम गर्नु पर्छ ।

हामीले टेकु, वीर, पाटन, कीर्तिपुर, भक्तपुर अस्पतालमा पीपीई वितरण गरिसकेका छौँ । त्यसैगरी सातै प्रदेशमा पनि पठाएका छौँ ।

राज्यलाई सबैले सहयोग गर्नुपर्छ भने राज्यले जनतालाई बचाउनुपर्छ । जनता रहे न नेपाल रहन्छ । हामी समाजका हिस्सा हौँ, त्यसैले विपदको समयमा अग्रसरता देखाउन सक्नुपर्छ । राज्यको काम हो भन्दै निष्कृय हुनु नागरिकका हैसियतले सुहाउँदैन ।

महामारी फैलिएसँगै बिल गेट्सले भने, ‘पैसाले केही गर्दो रहेनछ’ । त्यसैगरी इटालीमा कोरोनाको महामारी नियन्त्रणबाहिर गएसँगै निरास भएका जनताले सडकमा पैसा फ्याँकी दिए र कसैलाई यो काम आउँछ भने प्रयोग गर्नुस् भने । वास्तवमा मानिसको जीवन पैसाले किन्न त नसक्ने रहेछ भन्ने त यो महामारीले प्रमाणित गरिदिएको छ ।

हरेक दिन कार्यालय पुग्छु, सँगै अस्पताल पनि

म हरेक दिन बिहान १० बजे कार्यालय जान्छु । आफैँले गाडी चलाउँछु, भेटघाट पूरै बन्द गरेको छु । त्यसैले सङ्क्रमणको जोखिम कम छ । कार्यालयमा न्यून कर्मचारी मात्र हुनेहुँदा कोही कसैसँग सम्पर्कमा नै हुँदैन । सबै काम इमेल, फोन तथा भिडियो कलबाट हुन्छ ।

कार्यालयबाट गर्नुपर्ने काम थुप्रिरहेका हुन्छन् त्यसलाई पूरा गर्ने गरेको छु । साथै कतिपय निर्णय कार्यालय पुगेर फाइल हेरेरै गर्नुपर्ने हुन्छ त्यस्तोमा सहज भएको छ । धेरै काम भने अहिले फोनबाट र भिडियो कन्फेरेन्सबाट हुन्छ । घरमा रहँदा पनि धेरै समय कार्यालयको काममै व्यस्त रहन्छु । हामी महत्त्वपूर्ण बैठक भिडियो कन्फेरेन्समै गर्ने गरेका छौँ ।

कार्यालयबाट हामीले मेडिकल उपकरण अनि सुरक्षा उपकरण उपलब्ध गराउँदै अस्पताल अनि विभिन्न निकायहरुलाई वितरण गर्ने कार्यमा जुटेका छौँ । प्रायः कतै न कतै यसको माग भइरहेको हुन्छ । हामी अस्पतालमा होस् या सुरक्षा निकायमा पीपीई सहितको उपकरण वितरणमा जुटेका छौँ । यसका लागि म आफैँ दौडन्छु । सेवा नै धर्म हो भन्ने मान्यता राख्छु म, त्यसैले यस्ता काममा जान पाउँदा खुसी लाग्छ ।

समाजलाई डिजिटाइजेसनमा लैजाने उत्तम समय हो यो ।

लकडाउनको अवधिमा बैङ्कले आफ्नो सेवा दिइरहेको छ । ग्राहकको बैङ्कमा पैसा छ तर औषधि, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु किन्न नपाउने अवस्था आउन दिन हुँदैन भन्नेमा हामी सचेत छौँ । त्यसैले हामीले बैङ्कका शाखाहरु स्थान मिलाएर खोल्ने गरेका छौँ ।

हरेक दिन देशभर आवश्यकताअनुसार ३५ वटासम्म शाखा खोल्ने गरेका छौँ भने कति ग्राहकसँग समन्वय गरेर मात्र खुल्छन् । यो होडबाजीको समय होइन । त्यसैले हाम्रा १३१ शाखाहरुमा आवश्यकताअनुसार समन्वय गरेर मात्र खोल्ने गर्छौं । सकेसम्म शाखामा नआउन हाम्रा ग्राहकलाई अनुरोध छ । आउनै परेमा पनि सावधानीपूर्वक आउनुहोला । हाम्रा कर्मचारी पनि सतर्कताका साथ काम गरिरहेका छौँ ।

हामीले रिस्क लिएरै काम गरिरहेका छौँ तर तपाईंहरु रिस्क नलिनुहोला । सकेसम्म घरबाटै कारोबार गर्नुहोला । केही समस्या भएमा बैङ्क शाखामा सम्पर्क गरी आवश्यकताअनुसारको सेवा लिन सक्ुनहुनेछ । बैङ्कको सम्पत्ति भेनेको बैङ्कका कर्मचारी हुन्, त्यसैले नहडबडाई उच्च सतर्कताका साथ हाम्रा कर्मचारी काममा छन् ।

सम्भव भएसम्म डिजिटल प्रविधिको प्रयोग गर्नुहोला । डिजिटल बैङ्किङ नलिने ग्राहकले अब लिन सक्नुहुन्छ । यो सेवा बैङ्कले उपलब्ध गराइरहेको छ । अनलाइनबाट सबै काम हुन्छ आजभोलि ।

सकेसम्म समाजमा एकअर्कालाई नछोई काम गर्न सकेमा सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ । हरेक नागरिकले यो मेरो, परिवार, समाज अनि देशका लागि हो भन्ने बुझ्नुपर्छ ।

बैङ्कहरुले ग्राहकलाई समस्या नहोस् भनेर विभिन्न सुविधा दिएका छन् । अहिले एक बैङ्कको कारोबार अर्कोमा गर्दा निःशुल्क गरिएको छ । डिजिटल बैङ्किङलाई पनि पूर्ण निःशुल्क गरिएको छ ।

महामारीले बैङ्किङ क्षेत्रलाई नराम्रो असर पार्छ

महामारीबाट अर्थतन्त्रलाई पर्ने असरबारे आँकलन गर्न कठिन छ तर पनि सामान्य रूपमा बुझ्दा यसले संसारको विकासको गतिलाई धेरै पछाडि धकेलिदिएको छ ।

यतिबेला विश्व अर्थतन्त्र ठप्प छ । विश्व बैङ्कले जीडीपी २ प्रतिशतमा झर्ने प्रक्षेपण गरिसकेको छ । हामीले सामान्य रूपमा बुझ्दा पनि जीडीपी ३ प्रतिशतमा झर्ने पक्का छ । हुन त विश्वको अर्थतन्त्र अमेरिकाको अवस्थामा भर पर्छ । अमेरिका कहिले व्युँतिन्छ त्यसमा भर पर्ने देखिन्छ ।

यता नेपालमा यो बजेट छलफलको समय हो । बजेटका शीर्षक बनाएर अगाडि बढाउनुपर्ने अवस्थामा बन्दाबन्दी गर्नुपर्यो । राज्य अझ अर्थमन्त्रालयलाई यसको भार पर्ने देखिन्छ ।

महामारीको असर अन्य क्षेत्रमा जस्तै बैङ्किङ पनि प्रष्ट देखिइसकेको छ । समस्त उद्योग, कलकारखाना, विकास निर्माणका आयोजना सबैमा यसको असर परेको छ । भुक्तानी गर्नुपर्ने र लिनुपर्ने सबै बन्द छन् । रकम कारोबार नहुँदा जगेडा कोष चलाउनुपर्ने अवस्था आउँछ । ठूला आयोजनाहरुको काम पछाडि धकेलिन्छ । यस्तो हुँदा डिफल्ट बढ्ने र प्रोफिट घट्नेछ ।

अब यतिबेला हामी तेस्रो त्रैमासको अन्त्यमा छौँ । कारोबारसँगै भुक्तानीमा असर परेको छ, नाफामा हिट हुने देखिन्छ । दोस्रो त्रैमासमा बैङ्कहरुको जुन ग्रोथ थियो अहिले त्यसमा कमी आउने पक्का छ र चौथो त्रैमास (असार मसान्त)मा ग्रोथ झनै घट्ने छ ।

अहिलेको मुख्य आवश्यकता भनेको मानव जातिको सुरक्षा हो । बाँचियो भने त जितियो नि अनि बिग्रेको, भत्केको बनाउँला । घाटालाई नाफामा लैजाउँला । अहिलेको अवस्थामा बचौँ अनि बचाऔँमा लागौँ ।

अहिलेको समय अर्थतन्त्रलाई कसरी बलियो बनाउनेबारे पनि सोचविचार गर्नुपर्ने देखिन्छ । जस्तो कि आइसोलेटेड वातावरणमा रहेर काम गर्न सकिन्छ । कतिपय हाइड्रोपावरका कामहरु बन्द छन् । जुन ठाउँमा बाहिरका मानिसहरुको आवतजावत गर्नुपर्ने अवश्यकता नै छैन र त्यही रहेर कामलाई निरन्तरता दिन सकिन्थ्यो भने त्यस्तो ठाउँमा काम नरोकी अगाडि बढाउन सकिन्थ्यो ।

आइसोलेटेड वातावरणमा काम हुने उद्योग, कलकारखाना, आयोजनाहरुको पहिचान गरी कामलाई निरन्तरता दिन सकेमा भोलि हुने क्षति न्यूनीकरण हुने थियो । साथै बेरोजगार भएर बस्नुपर्ने पनि थिएन । यसले राज्यलाई पनि सहयोग मिल्ने थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.