बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो

बिहीबार, २७ चैत २०७६, २० : २०
बिहीबार, २७ चैत २०७६

डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ । 

आज बिहान हेलिकप्टरमार्फत स्वाब सङ्कलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याइएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी हुँदै काठमाडौँ पठाइएको हो । डडेल्धुराका तीन स्थानबाट स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरामा भारतलगायत अन्य मुलुकबाट आएका १९० जनाको स्वाब सङ्कलन गरिएको उहाँले बताउनुभयो । 
    
भारतलगायत अन्य मुलुकबाट भित्रिने स्थानीयको सङ्ख्या तीन हजार बढी छ । तर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा भने १०७ जना बसेका छन् ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ मा रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, भित्रिमधेश जोगबुडास्थित पर्शुराम नगरपालिका–१२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पस र पर्शुराम नगरपालिका–७ सादनीको शिवशङ्कर माविमा बनाइएका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए  ।
    
अमरगढी नगरपालिका, अजयमेरु, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाको जिल्ला सदरमुकामको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमूना सङ्कलन कार्य जारी रहेको छ ।

स्वाब सङ्कलनका लागि केन्द्रबाट १९० थान भिटिएम हेलिकप्टरमार्फत डडेल्धुरा पु¥याइएपछि सङ्कलन कार्य शुरु भएको थियो । सङ्कलित नमूना आज नै धनगढी हुँदै काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप