बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा खर्च गर्न काँग्रेस नेताहरुको आग्रह

बिहीबार, २७ चैत २०७६, २० : ४५
बिहीबार, २७ चैत २०७६

नेपाली काँग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब्याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा अपिल जारी गरेका हुन् ।

उनीहरुले कोरोना भाइरसको रोकथाम र उपचारका लागि लडकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने भन्ने विषयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउने उल्लेख गर्दै अपिलमा स्वास्थ्यकर्मीलगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । 

यसैगरी सड्कटको समयमा खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्नेमा युवा नेताले सरकारको ध्यानाकर्षण गराए ।

अपिलमा दैनिक ज्याला मजदूरी गर्ने, आर्थिकरुपमा विपन्न र ज्येष्ठ नागरिकका लागि यथोचित राहतको व्यवस्था गर्न, संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरी आवश्यक सहयोग गर्न आग्रह गरिएको छ ।

किसान र पशुचौपायाका बारेमा उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिइ उपयुक्त कदम चाल्नुपर्नेतर्फ युवा नेताले सरकारको ध्यानाकर्षण गराए ।

विपद्का बेला सरकारी नेतृत्वले जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुपर्ने र सङ्कटको मौका छोपी भ्रष्टाचारका घटना भइरहेको आरोप लागेकाले त्यसलाई दण्डीत गर्न काँग्रेसका युवा केन्द्रीय सदस्यको माग छ ।

उहाँहरुले परीक्षणको दायरा र गति बढाउनुपर्ने तथा परीक्षण केन्द्र अविलम्ब थपिनुपर्ने, साथै कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको पहिचानका लागि आवश्यकपर्ने परिक्षणका लागि चाहिने परीक्षण किट, पिपिईलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको आवश्यक बन्दोबस्त गर्न सुझाव दिए । 

विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउने व्यवस्था मिलाइनुपर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने र आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन काँग्रेसका युवा नेताको अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप