शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन सहेरै यसरी अत्यावश्यक सेवा दिँदैछन् मोटर कम्पनीहरु

शुक्रबार, २८ चैत २०७६, ०९ : ४६
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरिएको आज १८ औँ दिन हो । सरकारले सामान्य अवस्थामा सवारी साधन चल्न नदिएकोले अहिले सडक सुनसान प्रायः छन् । तर अत्यावश्यक र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति गर्नैपर्ने आवश्यकता छ ।

सरकारले अहिले खाद्य सामाग्री, तरकारी, दुध, फोहोर, एम्बुलेन्स जस्ता सवारीलाई बिनारोकतोक गुड्न दिइरहेको छ । डाक्टर तथा नर्स र कुटनीतिक नियोगका सवारीलाई पासबिनै र विभिन्न सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाका सवारीलाई पासका आधारमा चल्न दिइरहेको छ ।

निरन्तर सेवा सञ्चालन गर्दै आएका सवारी कुनै मर्मत बिना सञ्चालन भएको पनि १८ दिन भइसक्यो । सामाजिक दूरी कायम गरेर बस्न सरकारले आग्रह गरेपछिदेखि नै सर्भिस सेन्टरहरुले बिक्रीपछिको सेवाको ‘भोल्युम’ घटाउन थालेका थिए । तर, अत्यावश्यक सेवा सञ्चालनका क्रममा सवारी साधनको स्वाथ्यबारे गाडी कम्पनीहरुले के कस्तो सेवा दिइरहेका छन् त ?

photo : google images

सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटरकर्पले अहिले सवारी मर्मतको आकस्मिकता हेरेर मर्मत सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका प्रवन्ध निर्देशक करणकुमार चौधरीले आफूहरुकहाँ आउने मर्मतसम्बन्धी सबै सूचनालाई आवश्यकता र अनिवार्यताको आधारमा समस्या समाधान गर्ने प्रयास गरिरहेको जानकारी दिए ।

सुजुकी नेपालमा सबैभन्दा बढी प्रयोग हुने प्यासेञ्जर भेहिकल कम्पनी हो । एम्बुलेन्स, हस्पिटल, सुरक्षा निकाय लगायतमा प्रयोग हुने सवारी साधनमा सुजुकीको हिस्सा ठूलो छ । यस्तो अवस्थामा त्यस्ता सवारी सञ्चालनका लागि अत्यावश्यक सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको चौधरीले जानकारी दिए ।

‘हामीले अहिलेसम्म पनि केही त्यस्ता आपतकालीन सेवा दिइसकेका छौँ, केही दिनअघि मात्रै एउटा मस्टुमरको दुईओटै टायर पञ्चर भएछ, हामीले तत्कालै मेकानिकलाई बोलाएर उहाँको समस्या समाधान गर्यौं । अर्को एकजना डक्टरको केस पनि आएको थियो, त्यसलाई पनि हामीले तत्कालै मर्मत गरेर पठाइदियौँ, हामीले देशभरीका सबै सर्भिस सेन्टरका मेकानिकलाई तयारी अवस्थामा बस्न भनेका छौं’ चौधरीले भने ।

उता, ठूला ढुवानी साधनको सबैभन्दा ठूलो आयातकर्ता सिप्रदी ट्रेडिङ प्रा.लि.ले पनि अत्यावश्यक सवारी साधन बिग्रिएको हकमा बिग्रिएकै ठाउँमा गएर मर्मत गरिदिने व्यवस्था मिलाएको छ ।

photo : autolife nepal

सिप्रदीले ट्रेडिङले देशभर विभिन्न २५ वटा स्थानबाट ‘अन द स्पट’ सेवा दिन सक्नेगरी आफ्नो संयन्त्र परिचालन गरको जनाएको छ । ‘हामीले देशका विभिन्न २५ स्थानका लागि नम्बर उपलब्ध गराएका छौँ । हाम्रो टोलफ्री नम्बर पनि छ । त्यसमा फोन गरेर आफ्नो समस्या टिपाउनुभयो भने हामीले तुरुन्त रेस्पोन्स गर्ने र सम्बन्धित ठाउँमै गएर अत्यावश्यक सवारी साधनहरु मर्मत गरिदिने गरेका छौं’ सिप्रदी ट्रेडिङ प्रा.लि.का कर्पोरेट कम्युनिकेशन विभाग प्रमुख रुपम श्रेष्ठले भने । नियमित रुपमा मर्मत र सर्भिसिङ गर्नुपर्ने सवारी साधनका लागि लकडाउन अवधिमा समय सकिए पनि त्यसलाई थप गरिएको समेत जानकारी दिए ।

प्यासेञ्जर भेहिकलकै अर्को ठूलो कम्पनी हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भने मर्मतसम्बन्धी केसहरु धेरै नआएको जनाएको छ । कम्पनीका सेल्स म्यानेजर अवसीस ओझाले अहिलेसम्म डाक्टरहरुले प्रयोग गर्ने सवारीको १÷२ वटा केस मात्रै आएको भन्दै त्यसलाई आवश्यकताको आधारमा समाधान गरेर पठाएको जानकारी दिए ।

photo : facebook

‘अहिले गाडी नै नचलेपछि ग्राहकहरु सेवाको लागि आउनुभएको छैन, तर डाक्टरहरुको १÷२ वटा समस्यालाई आवश्यकताको आधारमा सम्बोधन गरेर हामीले पठाएका छौँ,’ ओझाले भने– ‘भोलि आवश्यकता पर्यो भने त्यस्तो सेवा दिन हामी तयारी अवस्थामा नै छौं ।’

यीबाहेक अन्य सवारी कम्पनीहरुले पनि आआफ्नो ढंगबाट आकस्मिक सेवाहरु दिनेगरी आफ्नो टीम खटाएर राखिएको जनाएका छन् ।

पास उपलब्ध छैन

तर अत्यावश्यक ढुवानीका सवारीसाधन मर्मत गर्नुपर्ने यी कम्पनीहरुलाई जिल्ला प्रशासन कार्यालयले सवारी पासको व्यवस्था भने गरेको छैन । गाडी मर्मत अत्यावश्यक सेवामा नपरेपछि उनीहरुलाई अहिलेसम्म कुनैपनि प्रकारको पास उपलब्ध नगराइएको हो । न त त्यस्तो अवस्थामा उनीहरुलाई सर्भिस सेन्टर खोल्ने अनुमति नै दिइएको छ । यसले गर्दा कतिपय पुराना सवारी हुनेहरुले अत्यावश्यक अवस्था भए पनि सवारी साधन चलाउन हिच्किचाइरहेको अवस्था छ ।

सीजी मोटरकर्पमा प्रबन्ध निर्देशक चौधरीले मान्छेको स्वास्थ्य प्रमुख भएको अवस्थामा सवारीको स्वास्थ्यको लागि आफूहरुले पास पाउनुपर्छ भन्न नसकिरहेको बताए । ‘यहाँ मान्छेको स्वास्थ्यको कुरा चलिरहेको बेला भेहिकलको स्वास्थ्यको बारेमा कसले ध्यान दिनसक्छ भन्ने कुरा पनि आउँला’ त्यसैले अहिलेलाई हामीले सवारी पास माग्न सकिरहेका छैनौँ ।

पुराना सवारीहरु चल्न मान्दैनन्

अत्यावश्यक ढुवानीका साधनहरु निर्वाध रुपमा चल्न दिने सरकारी निर्णयका बाबजुद अहिले कतिपय सवारी साधनहरु त्यतिकै थन्किएर बसेका छन् । सर्भिस सेन्टर र वर्कशपहरु सबै बन्द भएको अवस्थामा बाटोमै गाडी बिग्रिएर बिजोग हुने डरले उनीहरुले गाडी सञ्चालन नै रोकेका हुन् ।

‘रोग लाग्छ कि भन्ने चिन्ता त हामीलाई नि छ, तर परिवार पाल्नकै लागि पनि गाडी चलाउँ भन्यो, गाडी राम्रो छैन । बाटोमा बिग्रियो भने झनै ठूलो बिजोग हुन्छ, अब लकडाउन नखुलेसम्म नचलाउने भनेर गाडी थन्क्यइदिएको छु’ चितवन घर भई विराटनगरदेखि काठमाडौँसम्म अत्यावश्यक सामान ढुवानी गर्दै आएका भीम आचार्यले भने । उनी अहिले आफ्नै घरमा छन्, गाडी त्यतिकै थन्किएको छ ।

सरकारले घोषणा गरेको लकडाउन कति दिनसम्म लम्बिने हो अहिलेसम्म पत्तो छैन । ११ गतेदेखि सुरु भएको लकडाउन अहिलेसम्म ३ गतेसम्म कायम रहने जनाइएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यसमा थप हुनसक्न संकेत गरिसकेका छन् । उनले अबको १५ दिन चुनौतीपूर्ण भएको भन्दै अर्को साता पनि लकडाउन थप्ने स्पष्ट संकेत गरेका हुन् ।

यस्तो अवस्थामा अत्यावश्यक सेवाको लागि गुड्ने सवारीको मर्मतका लागि न्यूनतम मात्रामै भए पनि पास दिए यसले निकै सहज हुने सवारी बिक्रेता तथा बिक्रीपछिको सेवा दिने कम्पनीको भनाई छ । तर, उनीहरु त्यसबारे मुख खोल्न सकिरहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप