केन्द्रीय संस्करण
साना कुरा

सावधान ! भोटराम र लोकराम कोभिड–१९ का मित्र हुनसक्छन्

person explore access_timeचैत २८, २०७६ chat_bubble_outline0
सरल सहयात्री

रातोपाटी

 विश्वसामु कोभिड–१९ ले गम्भीर चुनौती खडा गरेको छ । साथै शक्तिको परिभाषा बदलिदिएको छ । विश्वको करिब १८ ट्रेलियन डलर बराबरको सैन्यखर्च र सुरक्षा व्यवस्थाको खिल्ली उडाइदिएको छ । पृथ्वीलाई ९ पटक ध्वस्त पार्न सक्ने आणविक शक्तिलाई नाकाम पारिदिएको छ । अन्तरिक्ष सेनाको निर्माणमा जुटेको महाशक्ति राष्ट्र अमेरिका एकपछि अर्को पराजयमा आहात बनिरहेको छ ।

कुनै बखत विश्वलाई आफ्नो मुठ्ठीमा राखेर विश्वको राज गर्ने इङ्लयान्डका प्रधानमन्त्रीमाथि कोरोनाको आक्रमण हुँदा उनको सुरक्षा व्यवस्थाले केही गर्न सकेको छैन । सिङ्गै युरोपलाई कब्जामा लिन सक्षम नेपोलियनको देश फ्रान्स र विश्वलाई चुनौती दिने हिटलरको देश जर्मन आहात भएका छन् । चीनले यो युद्धमा पूर्ण सफलता हासिल गर्न नसके पनि प्रतिरक्षा गर्न सफल भएको छ । जेजस्तो होस उत्तर कोरियाले कोरोनालाई आफ्नो देश छिर्नै दिएको छैन । दक्षिण कोरिया र जापान जस्ता देशले तुलनात्मक रूपमा नियन्त्रणको काम गर्न सकेका छन् । तैपनि यस मामलामा सैन्य शक्ति बेकाम भएको छ । 

मान्छेले भोगेका अन्य प्राकृतिक विपत्ति जस्तो बाँच्नेहरुसँग दुःख साट्दै अँगालो हाल्न, पीडितलाई नजिकै गएर सद्भाव व्यक्त गर्न, बियोगमा परेका आफन्तका हात समातेर सान्त्वना दिन मिल्ने आपत होइन रहेछ यो । २१औँ शताब्दीको विज्ञानले कल्पना गरे पनि यो स्तरमा यसअघि आइनपरेको महामारी सामु विश्वका मान्छे लडिरहेका छन् । युद्धमा सेनाका जनरलहरु जसरी आफ्नो विजयका लागि रणनीति कार्यनीति निर्माणमा जुट्छन् । योभन्दा निकै गम्भीर स्तरमा विश्वका वैज्ञानिक जुटेका छन् । एक त्यस्तो हतियार निर्माण गर्न जसले यो अदृश्य रोग विरुद्धको अचुक निशाना लगाउन सकोस् । तर तत्कालै प्रभावकारी प्रत्याक्रमणसहित उपलब्धिको आशा गर्न सकिने अवस्था छैन । जबसम्म उपयुक्त हतियार अर्थात भ्याक्सिन बन्दैन तबसम्म मान्छेले आफूलाई डिफेन्सिभ पोजिसनमा राख्न र व्यक्तिगत अनुशासनलाई पालना गर्नुको विकल्प छैन ।

 तपाईंका लागि  केके न गरेको पौरख देखाउन एउटा मास्क र चार बोरा चामल बोकेर कुदाकुद गर्ने भोटराम र लोकरामलाई हालका लागि छुँदै नछुनुस् र सामाजिक दूरी कायम राखेर आफ्नो रक्षा गर्नुस् । जोकसैले गर्न खोजेको सहयोग आधिकारिक निकायबाट त्यसको परीक्षण भएको हो होइन, यकिन नगरी  छुँदै नछुनुस् । यो तपाईं हाम्रो जिन्दगीको सवाल हो ।

आजसम्म जेजति शक्तिको रूपमा विकास गरिएको छ, ती सब ध्वंश केन्द्रित साधनका विकास हुन् । यदि मान्छेले ध्वांशात्मक विकासको दृष्टिबाट  नसोचेको हुन्थ्यो भने सम्भवतः कोरोना जस्ता मानव संहारक भाइरस नजन्मन पनि सक्थ्यो । मान्छेले पर्यावरणलाई ख्याल राख्ने र प्रकृतिलाई संरक्षण सहितको भौतिक विकास, जो मानवीय हितका निम्ति गर्ने सोच बनाइदिएको भए भौतिक विकासको साथसाथै विश्वका मान्छे करिब सुखी र खुसी दुवै हुनसक्थे । यस्ता सोच धेरैलाई आदर्शवादी परिकल्पना लाग्छ तर वैज्ञानिक समाजवादको विचार हो । मार्क्सवादको मूल वैचारिक सङ्घर्ष ध्वंशात्मक शक्ति निर्माणका विरुद्ध हो ।

यसले पुँजीवादी विचारमाथिको गम्भीर प्रश्न एक पटक विश्वसामु खडा गरेको छ । जेहोस्, आशा राखौँ अबको विश्वका धेरै देशले समग्र मानवीय शिक्षा, स्वास्थ्य र मानव हितका विषयमा आफ्नो बजेट केन्द्रित गर्ला । सैन्य खर्चको तुलनामा विश्व स्वास्थ्यको खर्च करिब एक तिहाइभन्दा थोरै मात्र माथि करिब ८ ट्रिलियन डलर रहेको छ । एलोप्याथिक उपचार पद्धतिको कट्टर आलोचक डा. विश्वरूप चौधरीको तर्कलाई मान्ने हो भने यो खर्चको अत्यधिक हिस्सा मानवीय स्वास्थ्य निर्माणका लागि भएका छैनन् । बरु मानव स्वास्थ्यको चक्रीय प्रणालीलाई बिगारिदिएर निरन्तर औषधि व्यापार गर्ने प्रपञ्चमा यी काम भइरहेका छन् । आफ्नो चर्चित पुस्तक ‘हस्पिटल से जिन्दा कैसे लोंटे’ मा यसबारे सम्पूर्ण तथ्यसहित तर्क प्रस्तुत गरेका छन् अर्थात मानवतामाथि नै उल्टो स्वास्थ्यको नाममा व्यापार भइरहेको छ । 

    संयोगवस नेपालमा हालसम्म कोरोना भाइरस जम्मा ९ जनामा कन्फर्म भएको छ । आशा राखौँ योभन्दा ज्यादा नहोस् । कसैको ज्यान नजाओस् । सरकारको लकडाउन गर्ने निर्णयले ठीक भएको छ । यसले निम्न स्तरका जनतालाई असर पारेको छ । भारतबाट नेपाल प्रवेश गर्न नपाएका जनताहरुको स्थिति दयनीय भएको छ । 

सङ्कटको बेला समस्या परेको ठाउँमा शीघ्र समाधानका उपायको खोजी गर्नुपर्छ र तत्काल कार्यान्वयन गर्नुपर्छ ।  नेपाल जस्तो देशले भ्याक्सिन निर्माण गर्न सक्ने होइन । तर व्यक्तिको कोरोना नमुना परीक्षणलाई तीव्रता दिनुपर्छ ।  यसको परीक्षण सहज र छिट्टो गर्न सक्यौँ भने यसलाई रोकथाम गर्न सकिन्छ । आगामी दुई महिना हाम्रो दैनिकी घरभित्रै सीमित हुनसक्छ । 
विश्वको कोरोना परीक्षणको तथ्याङ्क हेर्दा करिब २० प्रतिशत व्यक्तिमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएका मध्ये करिब ८ प्रतिशतको मृत्यु भएको छ  । यस सन्दर्भमा नेपालमा २ हजार जनाको परीक्षण भइसकेको छैन  । 

साधन स्रोतलाई प्रभावकारी बनाएर यस सङ्कटमाथि लड्नुपर्ने बेलामा प्राइभेट अस्पतालहरु बन्दको अवस्थामा छन् । यसले प्राइभेट अस्पतालको भविष्यमाथि प्रश्न खडा गरिदिएको छ । 
कोरोना परीक्षण किटहरु आयात गर्ने सन्दर्भमा व्यापक लफडा हामीले देखिसकेका छौँ । यद्यपि परिक्षण भएकामध्ये केवल ९ जना अर्थात ०.५ प्रतिशत सङ्क्रमण देखिनु खुसीको कुरा हो । तर अलिकति लापरवाही गर्दा इटली, युरोप, इरान र अमेरिकाको जस्तो भयावह अवस्था आउन सक्छ । भारतको प्रभाव नेपाल लगायत दक्षिण एसियामा नै पर्न सक्छ । 

साधन, स्रोत, सुरक्षा, प्रशासन सहर केन्द्रित भएका कारण लकडाउनको पूर्ण पालना भएको छ । गाउँहरू पर्वको रौनक लागेझैँ भएका छन् । भट्टी पसलको व्यापार बढेको छ । खसी राँगा ढालेर एकत्रित हुने र जुवातास खेलेर समय विताउनेहरुको समूह बढेको छ । गज्जव छ ! यदि गाउँमा यसअघि नै कोभिड प्रवेश भइसकेको रहेछ भने अनपेक्षित खतराको केन्द्र गाउँ बनेको छ ।

यसबाहेक अर्को सङ्क्रमणको खतरा लोकराम र भोटरामका  तर्फबाट छ । लोकको ल समेत नबुझी स्वघोषित लोकप्रियहरुको नाम लोकराम राखेको हुँ । भोटराम भनेका ती हुन जसले निरन्तर जनमत लिएर पनि विगत दशकौँमा संरचनागत सुधार, नीतिगत सुव्यवस्था र सरल प्रशासनको काममा सिन्को भाँचेका छैनन् र केवल यस्तै विपत्तिको पर्खाइमा बसेका हुन्छन् । यिनको मुख्यकाम भनेकै कोही मर्ला र मलामी जाउँला, कोही बिरामी होला र एक किलो स्याउ बोकेर अस्पताल पुगौँला तथा प्राकृतिक विपत्ति आइपर्ला र दुई चार बोरा चामल, त्रिपाल बोकेर गाउँ डुलौँला भन्ने प्रतीक्षामा रहन्छन् ।

सक्ने र मिल्नेभए यिनले विपत्तिका कीरा खल्तीमै बोकेर हिँड्थे र वर्षमा एक पटक जनताको बीचमा छाडिदिएर राहत बाँढ्न कुदिराख्थे । मूलत यी मान्छे अहिले पनि कोरोनाका असली मित्र जस्ता बनेका छन् । यी चार घण्टे मास्क र राहत होइन, कोरोना बोकेर घरघरमा आएका हुन सक्छन् । तपाईंलाई थाहा छ ? यस राहत नामको मास्क र एउटा पीपीई नामको जामा बोकेर तपाइँसम्म आइपुग्दा यिनले कतिजनासँग सेल्फी खिचेर आइसकेका हुन्छन् ? उनीहरु आफ्नो मुखमा एन९५ मास्क र हातमा पन्जा लगाएर तपाईंलाई युज एन्ड थ्रोवाला मास्क बाँडिरहेका छन् । जुन तपाईंलाई बढीमा चार पाँच घण्टाका लागि काम लाग्छ ।

 तपाईंका लागि  केके न गरेको पौरख देखाउन एउटा मास्क र चार बोरा चामल बोकेर कुदाकुद गर्ने भोटराम र लोकरामलाई हालका लागि छुँदै नछुनुस् र सामाजिक दूरी कायम राखेर आफ्नो रक्षा गर्नुस् । जोकसैले गर्न खोजेको सहयोग आधिकारिक निकायबाट त्यसको परीक्षण भएको हो होइन, यकिन नगरी  छुँदै नछुनुस् । यो तपाईं हाम्रो जिन्दगीको सवाल हो । न त सद्भावको को हो न भोट र लोकको नै । बरु कम्तीमा सबैखाले भोटरामलाई एकपटक सोध्नुस्– तपाईंले प्राप्त गरेको जनमतको यतिका वर्षमा आधारभूत स्वास्थ्यसेवा सहजै उपलब्ध गराउन सक्ने स्वास्थ्य निकाय किन बलियो पार्न नसकेको ? र आपत पर्दा राहत दिन सक्ने निकाय किन बलियो नभएको ? यति प्रश्न गर्ने हिम्मत छ ? छैन भने तपाइ‌ँको दरसन्तानसम्म पनि मगन्तेको हो । भोटराम र लोकरामहरु तपाईंका अविछिन्न मालिक हुन् ।
    भलै, यावत बहसहरु गर्दै गरौँला । आउनुस् हामी आआफ्नो ठाउँबाट यो नयाँखाले विश्वयुद्धसँग जुध्न सानो प्रयासमा एकजुट बनौँ ।

१. स्थानीय स्वास्थ्यकर्मीको मनोबल उठाऔँ 

 सरकारको तर्फबाट जेजस्तो साधन स्रोत छ त्योअनुसार हरेक पालिका स्तरमा क्वारेन्टाइन र आइसोलेसन वार्डहरु बनेका छन् । यसलाई जति सकिन्छ व्यवस्थित र केन्द्रीकरण गरौँ । सम्भव भएसम्म उपस्वास्थ्य चौकीहरु जो वडावडामा छन् त्यहाँका स्वास्थ्यकर्मीलाई केकसरी सुरक्षित तरिकाले उपचारमा लगाउन सकिन्छ, नजिक रहेका सिनियर डक्टरहरु मार्फत स्वविश्वास प्राप्त हुने प्रारम्भिक उपचार विधिका बारेमा एलर्ट बनाऔँ । वरपरका सबै सरोकारवाला निकायले साथ दिऔँ । आग्रह पूर्वाग्रह त्यागौँ । 

२. स्थानीय स्तरमा आर्थिक कोष खडा गरौँ 

धेरै गाउँपालिकामा सुरुवात भइसकेका छन् ।  स्थानीय स्तरका जो कोही सङ्घसंस्था तथा व्यक्तिहरु छन् उनीहरुलाई यस कोषमार्फत सहयोग गर्नका लागि अनुरोध गरौँ । यस्ता कोषहरुमा राखिएका आर्थिक यसअघि पीडितकोमा पुग्न वर्षौ लागेका उदाहरण छन् । यसलाई एकदमै व्यावहारिक र सहज बनाऔँ । जो अप्ठ्यारामा परेका छन् तत्काल उद्धार हुने व्यवस्थापन गरौँ । यो एक खाले सङ्कटकाल हो । स्थानीय स्तरमा सङ्कटकाल मोडलकै कार्यविधि निर्माण गरौँ । यो सङ्कटलाई अवसरको रूपमा उपयोग गर्दै आगामी दिनमा आम जनताको स्वास्थ्य सेवालाई निःशुल्क, व्यवस्थित र प्रभावकारी बनाउन नमुना–कोषको रूपमा विकास गरी यसलाई प्रभावकारी पारौँ ।

३. मेडिकल सामग्रीहरु स्टोर गरौँ  

मेडिकल सामग्रीहरु जस्तै पीपीई, मास्क र औषधि गाउँपालिकाको मुख्य स्वास्थ्य केन्द्रमा एक प्रभावकारी संयन्त्र बनाएर स्टोर गरौँ । यो एक लडाइँ हो र स्वास्थ्य सामग्री हाम्रा हतियार हुन् । हतियारको सदुपयोग गर्न नजान्ने टुकडीले कुनै लडाइँ जित्दैन । हतियारको प्रयोग लडाइँ सुरु भएपछि योजनाबद्ध तरिकाले हुन आवश्यक छ । महाभिडन्तको सुरुवात भएपछि सबै नियम पालना नहोला, यद्यपि कुनै नियम बिनाको जथाभावी हतियार पड्काउने सिपाही वा त्यसको कमान्डर भनेको महामूर्ख हो । कुशल होइन । त्यस्ता मूर्खलाई लडाइँको मैदानबाट बेलैमा हटाइएन भने आफ्नो त सत्यानास गर्छगर्छ बाँकीलाई पनि आफूसँगै खाल्डोमा हालेर छाड्छ । यस्ता प्रवृत्ति बेलैमा नियन्त्रण गरौँ । गाउँगाउँमा त घरभित्र बस, सामाजिक दूरी कायम गर भनेर सचेत गर्ने हो । अहिले घरभित्र मास्क बाँड्नु, जथाभावी पीपीई बाँड्नु असल नागरिकको काम होइन । नौटङ्की भोटराम र लोकरामका वाइयात चाहना मात्रै हो । यसकारण मेडिकल सामग्री जति सकिन्छ पालिकाको मुख्य स्वास्थ्य केन्द्रमा केन्द्रीकृत गरौँ । यदि कुनै केन्द्रमा यस महामारीको असर बढी पर्न गयो भने असर हेरेर त्यसको सदुपयोग गरौँ । 

४. खाद्यान्न स्टोर गरौँ

 जसले जेजति सक्छ सक्नेहरुलाई संस्थागत अनुरोध गरौँ । खाद्यान्नलाई कुनै सुरक्षित स्टोर निर्माण गरेर त्यहाँ भण्डारण गरौँ । खाद्यान्न अभाव भएर कोही भोकै नपरोस् । समस्या नपर्नेहरुले एकबोरा चामलमा र्याल नचुहाऔँ । भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएर गएको छ । प्रत्येकको पहिचान र औकात देखाइदिएको छ । काठमाडौँबाट लाखौँको प्राइभेट गाडीमा हजारौँको तेल हालेर राहत (एक बोरा चामल) बोकेर काठमाडौँ फर्केका धेरै उदाहरण छन् । यस्ता निच व्यवहार त्यागौँ । समस्या परेको छ भने अर्कै कुरा तर झोली थाप्ने प्रवृत्ति दरिद्र प्रवृत्ति हो । दरिद्रता अभावले भन्दा धेरै सोँचले पैदा गर्छ । आपत आइलागोस् र चार बोरा चामल बोकेर जनताको मन जित्न कुदौँला भन्ठान्ने लोकराम र घरको भकारी लुकाएर रुमालमा एकमाना चामल थाप्न कुद्ने दुवै समाजका मानसिक दरिद्र हुन् । यिनीहरुदेखि सचेत बनौँ । सहयोग गर्न चाहनेको पनि लिस्ट बनाऔँ । हेरौँ, साँच्चिकै सहयोग गर्न चाहेका रहेछन् भने सेल्फी खिच्न नपाए पनि र आफ्नो फोटो कतै नछापिए पनि आधिकारिक संस्थालाई सहयोग गरिहाल्छन् । नत्र यहीबेला चिनौँ, यी कोही सहयोगी मनका होइनन् बरु जनताका दुःखपीडा बेचेर लोकप्रियता किन्न हिँडेका व्यापारी हुन् । 

५. प्रत्येक टोलमा राजनीतिक पार्टीहरुले अनुशासित स्वयंसेवक बनाऔँ

 पार्टीको तर्फबाट काम गर्ने हो भने मुख्य पार्टीको सङ्गठन सबै गाउँमा छ ।  टोलहरु विभाजन गरेर सानो सङ्ख्यामा नियमअनुसार अनुशासित भएर  काम गर्ने स्वयंसेवक टिम बनाऔँ । अहिले लकडाउन रक्सीले डाउन भएर मस्त परेका धेरै टोल छन् । जुवातासको ठूलै खेलोमेला हुन थालेको छ ।  ती सबै भट्टी पसलहरु बन्द गराउन थालौँ । जुवातासका खालहरु बन्द गराऔँ । गाउँमा प्रवेश गर्ने नयाँ मान्छे को हो ? किन प्रवेश गर्न चाहेको हो ? उसको निगरानी र आवश्यक पर्दा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरौँ । 
५. सम्भावित खतराका लागि एम्बुलेन्स ः सबैतिर एम्बुलेन्स प्राप्त नहुन सक्छ । स्थानीय पार्टी, वडाका जनप्रतिनिधिसहित मिलेर कम्तीमा एउटा गाडीलाई एम्बुलेन्सको काम गर्न सक्ने गरी तयारी अवस्थामा राखौँ ।  
    अन्त्यमा हरेक सङ्कटले हामीलाई सुन्दर समाधान, सद्भाव र भ्रातृत्व प्रदान गरेर जान्छ । कोरोना एक चुनौती भए पनि यसपछि हाम्रो समाजको समग्र मानवीय विकासको गम्भीर परिवर्तनका लागि सम्भावनामा बदल्ने प्रयत्न गरौँ । भौतिक विकासभन्दा मानवीय विकास नै अन्ततः प्रदान रहेछ भन्ने चेत हामी सबैको खुलोस् । शिक्षा, स्वास्थ्य र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आफ्नै ठाउँमा रोजगारी निर्माण गर्नुपर्ने रहेछ, जसका लागि स्थानीय तहका ८० प्रतिशत बजेट यसैमा खर्च गर्नुपर्ने रहेछ भन्ने चेत सबै जनप्रतिनिधिमा जगाउन एक जुट होऔँ । सामाजिक दूरी कायम राखौँ । कोभिड–१९ विरुद्ध विजय गरौँ । 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.