शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा पहिलो दिन १४ को परीक्षण

शुक्रबार, २८ चैत २०७६, १२ : १५
शुक्रबार, २८ चैत २०७६

–खेमराज गौतम

बागलुङ । बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि शुरु भएको दु्रत परीक्षण (र्‍यापिड  टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ । बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्‍यापिड टेष्ट किट  र अन्य सामग्रीसहित बागलुङ आएको थियो । सामग्रीसहित बागलुङ आएका स्वास्थ्य सेवा विभागका वरिष्ठ  मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेले बिहीबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग धवलागिरि अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण गरेर बागलुङमा र्‍यापिड  टेष्ट किटबाट कोरोना परीक्षणको शुरुवात गरेका थिए ।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले उच्च जोखिममा रहेको बागलुङमा र्‍यापिड  टेष्ट शुरु गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराइएको जानकारी दिए । पौडेलका अनुसार एक हजार जनाको दु्रत परीक्षण र्‍यापिड टेष्ट गर्ने किट, दुई थान अत्याधुनिक भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्वियुपमेन्ट (पिपीइ) र एक हजार थान मास्क सामग्रीसमेत महाशाखाको तर्फबाट ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

टोलीले बिहीबार अञ्चल अस्पतालमा कार्यरत तीन ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परीक्षण गरिएको थियो । अस्पतालका ल्याब टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लीप्रसाद आचार्यको र्‍यापिड टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको शुरुआत गरिएको हो । नमूनाको रुपमा परीक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको थियो ।  किटको सहायताबाट कोरोना परीक्षण गर्दा १५ मिनटमै कोरोनाको नतिजा आउने छ । 

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा गठन भएको कमाण्ड पोष्टको बैठकले चैत २७ गतेदेखि २०७७ वैशाख १ गतेसम्म ८९३ जनाको कोरोना परीक्षण गर्ने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । 
 
हाल बागलुङमा दुई कोरोना भाइरसका सङ्क्रमित छन् । उनीहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद गरी ८९३ जनाको कोरोना परीक्षण गर्दैछ ।

दैलोमै राहत 
बागलुङ नगरपालिका–८ सिगानाकी ६५ वर्षीया ठुलीकान्छी नेपाली वडा कार्यालयमार्फत घरमै राहतस्वरुप चामल, दाल, नुन, तेल र साबुन पाउँदा दङ्ग परे । उनले भने, ‘घरमै यसरी राहत आउला भन्ने लागेकै थिएन’, बुढेसकाल लागिसकेकी नेपालीले वडा कार्यालयले राहत दिने सूचना पाए पनि एक घण्टा पैदलमार्फत रहात लिन वडामा पुग्न नसक्ने अवस्थामा रहेका थिए । वडा कार्यालयले विपन्न तथा ज्याला मजदुरी गर्नेहरुका लागि लकडाउनका कारण हातमुख जोर्न निकै सकस भएको भन्दै बागलुङ जिल्लाका स्थानीय तहले धमाधम राहत वितरण गर्न थालेका छन् । 

लकडाउनबाट प्रभावित विपन्न परिवारलाई वडा कार्यालय सिगानाले नगरपालिका र वडा कार्यालयको संयुक्त कोरोना नियन्त्रण तथा राहत कोषको  रकमबाट हालसम्म सिगानाका नेपालीजस्ता ८५ विपन्नको घरमै राहत पु¥याएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए । 

बागलुङ नगरपालिकाकाले कोरोना नियन्त्रण तथा राहतका लागि रु ५० लाखको कोष स्थापना गरेर पायक पर्ने स्थान तथा घरमै राहत वितरण गरेको छ । नगरप्रमुख जनकराज पौडेलका अनुसार नगरपालिकाका १४ वडामा हालसम्म एक हजार ५७० विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप