शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीका लागि स्थानीय तहबाट पनि छुट्टै भत्ता !

शुक्रबार, २८ चैत २०७६, १२ : १७
शुक्रबार, २८ चैत २०७६

सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष सेवा सुविधा दिने व्यवस्था मिलाए पनि दैलेखको एक स्थानीय तहले तीबाहेक छुट्टै भत्ता दिने भएको छ । दैलेखको दुल्लु नगरपालिकाले आफ्ना कार्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई छुट्टै प्रोत्साहन भत्ता दिने भएको हो । 

    स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र यो महामारी रोकथाम र नियन्त्रण गर्न उनीहरूको ठूलो योगदान हुने हुँदा उनीहरुका लागि छुट्टै भत्ताको व्यवस्थापन गरिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । “निर्णयानुसार मेडिकल अधिकृतलाई रु तीन हजार, स्वास्थ्य कर्मचारीलाई रु दुई हजार र श्रेणीविहीन कर्मचारीलाई रु एक हजार ५०० प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराइने छ”, उनले भने  ।

    नगरपालिकाले स्थापना गरेको रु ६३ लाखको विपद् कोषबाट थप प्रोत्साहन भत्ता दिने ११ स्थानीय तहमध्ये दैलेखको यो पहिलो हो । तेह्र वडा रहेको यो पालिकामा दुई चिकित्सकसहित ११९ स्वास्थ्यकर्मी रहेका छन् । स्थानीय तहले यो विशेष सेवा दिनु एकदमै आवश्यक रहेको  र स्वास्थ्यकर्मी पनि उत्साहित भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिए ।

यता कोरोना भाइरसको आशङ्कामा दैलेखबाट ५८ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।
 
    दैलेखबाट स्वाब परीक्षणका लागि आठविस नगरपालिकाबाट २५, चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट १७, दुल्लू नगरपालिकाबाट छ, नौमुले गाउँपालिकाबाट नौ, नारायण नगरपालिकाबाट एक गरी ५८ जनाको स्वाब पठाइएको स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । 

    आठविस नगरपालिकाबाट बिहीबार २५ जनाको स्वाब प्रदेश अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख डा पन्तले बताए । यस्तैगरी यसअघि पठाइएको नौमुले गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, नारायण नगरपालिका र दुल्लू नगरपालिकाबाट पठाइएको ३३ जनाको स्वाबको रिर्पोट आउन बाँकी रहेको डा पन्तले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप