‘सरकारले पनि धोका दिन्छ भन्ने थाहा थिएन’
काठमाडौँ । शुक्रबार र शनिबार काठमाडौँमा अड्किएर बसेकाहरुलाई सरकारले घर जान दिने रे ! नारायणस्थान बस्ने कृष्ण खङ सरकारको निर्णय थाह पाउने बित्तिकै बिहीबार दिउँसो घर फर्कनका लागि टिकट खोजबिन गर्न थाले । लकडाउनका कारण घरबाट निस्कन नदिएको कारण फोनबाटै भए पनि उनी यसबारे बुझ्ने प्रयासमा थिए ।
उनले सप्तरीमा रहेका आफ्ना ठेकेदारलाई सम्पर्क गरेर सहयोग मागे । ठेकेदारले आफूले चिनेको बस व्यवसायीलाई फोन गरेर कृष्णका लागि चारवटा सीट रिजर्व गरिदिए र कृष्णलाई ‘चारवटा टिकट कन्फर्म भयो, तिमीहरु तयार भएर बस । भोलि विहानै बस चढेर घर आउनु ।’
कृष्णसँगै अन्य तीनजना काठमाडौँमा घर बनाउने मिस्त्रीका रुपमा काम गर्छन् । लकडाउनका कारण उनीहरु काठमाडौँमा नै अड्किएका थिए । घर जान पाउने भए पछि उनीहरुको खुसीको सीमा नै थिएन । चारैजना तयारीमा जुटे । झोला मिलाए । कोठाका समानहरु मिलाए । बाटोमा खानका लागि अलिअलि चाउचाउ विस्कुट र पानी पनि किने । घर फर्किने खुसीमा रातभरी उनीहरुलाई निन्द्रा लागेन ।
विहान ५ बजे नै ठकेदारलाई फोन गरेर कुन गाडीमा कहाँ चढ्ने भनि फोन गरेर सोधे । ठेकेदारले बस मालिकलाई सोधेर खबर गर्ने जवाफ दिए ।
एकछिनपछि ठेकेदारले कृष्णलाई फोन गरेर ‘बसवालाले त फोन नै उठाएन’ भनेर जानकारी दिए ।
बल्ल कृष्णले थाहा पाए, सरकारले हिजो गरेको ‘निर्णय’ त डेढ घण्टा नपुग्दै फिर्ता पो भइसकेको रहेछ ।
घरजाने उत्साहमा रहेका सप्तरीका कृष्ण खङसहित चारैजान साथी निराश भए । उनीहरुलाई घरबाट आमाबुवाले फोन गरेर जसरी पनि घर आइज भनि दवाव दिइरहेका छन् । काठमाडौँका सारा मान्छे घर फर्किसके तिमीहरु मात्र त्यहाँ के गरेर बसेको भनेर आमाबुवा पनि रिसाउन थालेको कृष्ण बताउँछन् ।
‘मान्छे हिँडेरै भए पनि घर फर्किसके, काठमाडौँमा किन दुःख गरेर बसेको भनेर आमाबुवाले कराउनुहुन्छ,’ उनी भन्छन्, ‘यता हामीलाई हिँडेर जाने हिम्मत नै छैन ।’
‘घरबाट आउन दबाब मात्र भएको भए सहिन्थ्यो होला । गोजीको सबै पैसा पनि सक्यो, कोठामा अन्न पनि सकियो,’ उनले दुःख बिसाए ।
‘ग्यास सकिएको एक हप्ताभन्दा बढी भइसक्यो । अलिअलि चामल थियो, दाउरामा चामल पकाएर नुनसँग खाएर चार पाँच दिनदेखि बसिरहेका थियौँ,’ उनले भने, ‘हिजोदेखि चामल पनि सकिएको छ । अब के खाने ? छेउका पसलले उधारो दिन पनि बन्द गरिसके,’ पीडा पोख्दै कृष्णले भने, ‘कसो गरी घर पठाइ दिए हुन्थ्यो या कहीँबाट राहत दिए पनि हुन्थ्यो ।’
‘सरकारको निर्णयबाट हामी निकै खुशी थियौँ तर सरकारबाट नै यस्तो धोका हुन्छ भने थाहा थिएन । अब के गरौंँ के नगरौँ भन्ने अलमलमा छौँ,’ उनले भने ।
यो समस्या कृष्ण र उनका साथीको मात्र होइन, सप्तरीकै ललित शर्माको पनि रहेको छ । उनले घर जानका लागि ५० हजारमा गाडी रिजर्व पनि गरिसकेका थिए । एउटा गाडीमा ३० जना अट्ने गरी गाडी रिजर्व गरेर शुक्रवार बिहान चारै बजे घर जानेर भनि पोको पन्तेरा कसेर तयार भएर बसेका थिए । तर बिहीबार साँझ नैउनले फेसबुकबाट थाहा पाए कि शुक्रबार र शनिबार गाडी चल्ने भनिएको निर्णय स्थगित भएको छ ।
सबैजना निराश भए । उनीहरु बसुन्धारामा बस्दै आएका छन् । कोही कार्पेन्टर छन्, कोही पलम्बर त कोही पेन्टर छन् । उनीहरु लकडाउन भएदेखि नै घर जानका लागि प्रयास गरिरहेका छन् । उनीहरुसँग प्रयाप्त पैसा पनि छैन । कमाउने खाने र अलिअलि घर पठाउने भएका हुनाले गोजीमा भएको पैसा पनि खर्च भइसकेको छ ।
ललित शर्माले भने, ‘राहत पनि कसैलाई पुग्ने कसैलाई नपुग्ने गरी दिइरहेका छन् । राहतमा पनि एकरुपता छैन । हाम्रो टीममा दुईचार जनाले पाएका छन् अरुले पाएका नै छैनन् ।’
राहत बाँड्ने ठाउँमा गयो भने राहत दिनुको साटो पहिला अनेक प्रश्न तेर्साउँछन् – कहाँ को हो ? खोइ तिम्रो आइडी ? खोइ नागरिकता ? धेरैसँग त नागरिकता पनि छैन, मजदुरसँग अरु आइडी हुने कुरै हुँदैन । त्यही भएर कतिपय राहत लिनबाट बञ्चित भएको ललितले सुनाए ।
उनले भने, ‘व्यक्तिगतरुपमा मलाई समस्या छैन । तर यहाँ मसँगै काम गर्ने थुप्रैलाई समस्या छ तर सरकारले त्यो कुरा बुझ्दैन । हामी गाडी रिजर्भ गर्छौँ, हाम्रो सबै चेकजाँच गरेर घर पठाइ दिने व्यवस्था सरकारले गरिदियोस् नत्र यहाँ भोकभोकै मरिन्छ ।’
एउटा पास लिनका लागि काठमाडौँमा धेरैसँग विन्ती गरेको दुखेसो पोख्दै उनले भने, ‘टाठा बाठाहरु पास लिएर काठमाडौं ओहोर दोहोर गरिरहेका छन् तर हामी जस्ता मजदुरहरुलाई एउटा पास दिन सकिरहेको छैन ।’
उनकै समूहबाट चारजना चैत २५ गते काठमाडौंबाट राति दुई बजे पैदल हिडेका थिए, उनीहरु बिहीबार साँझ सकुशल घर पुगिसकेका छन् । हिँड्दै जाँदा बीचबीचमा गाडी पनि पाइएका हुनाले यति छिटो उनीहरु घर पुग्न सफल भएका हुन् ।
हिजो गाडी चल्ने निर्णय फिर्ता भएपछि ललितकै टीमबाट राति दुई बजे सातजना सप्तरीका लागि हिँडेका छन् । उनीहरु कहाँसम्म पुगे अहिलेसम्म कुनै सम्पर्क नरहेको ललित बताउँछन् ।
धनुषाका साधुकुमार गोइत र सप्तरीका नरेशकुमार यादवसहित चारजना विद्यार्थी चैत २४ गते राति बल्खुबाट ट्रक चढेर २५ गते पथलैयासम्म पुगेका थिए । पथलैयासम्म पुगेपनि उनीहरुलाई त्यहाँबाट घरसम्म पुग्ने कुनै उपाय थिएन । बाध्य भएर उनीहरु ३० किलोमिटर हिँडे । सर्लाहीको बाग्मतीसम्म पुगेपछि अब के गर्ने भनि चिन्ता लाग्यो ।
त्यसपछि उनीहरुले समाजिक अभियन्ता सरोज रायलाई सम्झे । त्यसपछि सरोज रायले आफ्नो गाडी लिएर उनीहरुलाई लिन बाग्मतीका लागि हिँडे । त्यतिबेलासम्म उनीहरु एउटा प्रहरीको भ्यानमा लालबन्दीसम्म पुगिसकेका थिए । सरोज रायले उनीहरुलाई लालबन्दीबाट लिएर जाँदै गर्दा ढल्केबरमा एउटा ट्रक फेला पर्यो जो राजविराजसम्म गइरहेको थियो । सप्तरीका तीनैजना विद्यार्थीलाई उक्त ट्रकमा पठाइदिए । र, एकजनालाई उनले धनुषासम्म पुर्याए दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे