शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के कोरोनासँग लड्न सर्वपक्षीय संयन्त्र नै चाहिन्छ ?

शुक्रबार, २८ चैत २०७६, १४ : ४३
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाभाइरस (कोभिड–१९’ रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार इमेज च्यानलसँग कुरा गर्दै प्रचण्डले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी संयन्त्रमात्र पर्याप्त नहुने भन्दै सर्वपक्षीय संयन्त्रको आवश्यकता औंल्याएका हुन् ।

प्रचण्डको यस्तो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा एक खालको बहस सिर्जना भएको छ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिमात्र अहिलेको सन्दर्भमा पर्याप्त नदेखिएको हो त ? प्रचण्डको अभिव्यक्तिपछि स्वाभाविक रुपमा प्रश्न खडा भएको छ ।

त्यसो त, कोरोना संक्रमणविरुद्धको युद्धमा स्वास्थ्यकर्मीहरु नै अग्रमोर्चामा होमिनुपर्ने बाध्यता छ । रोग पहिचान, संक्रमितको उचित उपचारमा स्वास्थ्यकर्मीबाहेकको भूमिका रहँदैन ।

सरकारले संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीका सामान उपलब्ध गराउनेदेखि लिएर औषधि उपचारको प्रवन्ध मिलाउने, संक्रमण फैलिन नदिन ‘लकडाउन’ लगायतका सामाजिक दूरी कायम गराउने निर्णय गरेकै छ ।

यो अवस्थामा सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले भनेझैँ सर्वपक्षीय संयन्त्र किन आवश्यक प-यो भन्नेबारे जिज्ञासा उत्पन्न हुनु स्वाभाविक पनि हो । कतिपयले प्रचण्डको अभिव्यक्तिलाई सरकारका काम कारवाहीप्रतिको असन्तोषका रुपमा व्याख्या गरेका छन् । तर विज्ञहरु तथा राजनीतिककर्मी भने सर्वपक्षीय संयन्त्र निर्माण गर्दा संक्रमण फैलिनबाट रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न सकिने बताउँछन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन सर्वपक्षीय संयन्त्र निर्माण भएर देशव्यापी परिचालन गर्न सके कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहज वातावरण बन्न सक्ने बताउँछन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सरकारले गर्ने काम आफ्नो ठाउँमा छ, चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्ने काम आफ्नो ठाउँमा छ, प्रत्येक नागरिकले यो संक्रमण फैलिन नदिन तथा रोकथामका लागि निर्वाह गर्नुपर्ने दायित्वलाई प्रभावकारी तुल्याउन भने सर्वपक्षीय संयन्त्रले भूमिका निर्वाह गर्न सक्छ ।’

‘लकडाउन’ पालना गर्ने÷गराउने, यो अवधिमा समस्यामा परेका मानिसको पहिचान तथा उनीहरुको समस्या समाधान गर्नेदेखि लिएर जनचेतनाको अभावमा कहीँ कतै आम नागरिकबाट लापरवाही भइरहेको छ भने त्यस्तो अवस्थामा सर्वपक्षीय संयन्त्रमार्फत जनचेतना जगाउने भूमिका प्रभावकारी रुपमा निर्वाह हुन सक्ने उनको भनाइ छ ।

‘कुनै ठाउँमा म आफैँ गएर मानिसलाई यसो नगर्नुस् भन्दा मेरो कुरा प्रभावकारी नहुन सक्छ,’ उनले भने, ‘राज्यका अन्य संयन्त्रले भनेका कुरालाई मानिसले नटेर्न सक्छन् वा अविश्वास गर्न सक्छन् तर यस्तो संयन्त्र सबै स्थानीय तहमा बनेको खण्डमा गाउँठाउँकै मानिसले भनेको कुरालाई सर्वसाधारणले राम्ररी बुझ्न सक्छन् ।’

उदाहरण दिँदै उनले भने– हाम्रो समाज राजनीतिक रुपमा बाँडिएको छ, त्यसैले कोहीले ‘ए’ भन्ने मान्छेको कुरामात्र विश्वास गर्ला, कोहीले ‘बी’ भन्ने मान्छेको कुरा मात्र विश्वास गर्ला । सर्वपक्षीय संयन्त्र नै परिचालन हुने हो भने त्यसले सिङ्गो गाउँलाई नै समुचित नेतृत्व गर्दै कोरोना संक्रमणका जोखिम न्यूनीकरण गर्ने तथा संक्रमण रोकथाम र नियन्त्रणमा भूमिका निर्वाह गर्न सक्छ ।

आफूले पहिलादेखि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरुको भूमिका बढी प्रभावकारी हुने औंल्याएको समेत उनले स्मरण गराए । उनले भने, ‘स्थानीय तहमात्र भन्नाले त्यहाँ पनि राजनीतिक सोच र विभेदले काम गर्ला, त्यसैले सर्वपक्षीय संयन्त्र भयो भने त्यहाँ सवै प्रकारका वर्ग र विचारको प्रतिनिधित्व हुने भएकाले त्यसको पालना गर्ने दायरा पनि फराकिलो हुन सक्छ ।’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारका हरेक प्रयासमा सघाउन आफ्नो पार्टी तयार रहेको बताउँछन् ।

उनले सरकारबाट विधिवत रुपमा निर्णय भएर सर्वपक्षीय संयन्त्र बनाउने कुरा आएमा आफूहरुका लागि स्वीकार्य नै हुने बताए । तर संयन्त्र बन्नु अघि नै यो वा त्यो भनेर बहस गर्न आफूहरुले आवश्यक नदेखेको उनले बताए ।

‘सरकारले निर्णय गरेछ भने हामीले त्यसमा मत व्यक्त गर्ने हो,’ रातोपाटीसँग उनले भने, ‘अहिले नै यसबारे किन बहस गरौँ ? कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गर्ने प्रयासमा हामी सघाउन तयार छौँ ।’

यद्यपि सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको प्रयास सन्तोषजनक भने नभएको उनको भनाइ थियो । ‘जुनखालको तयारी हुनुपर्ने थियो, सरकारबाट त्यो भएको देखिएन,’ उनले भने, ‘भनिन्छ नि, स्याल मार्न जाने हो भने बाघ मार्ने सामानसहितको तयारी गरेर निस्किनु पर्छ तर सरकारले बाघ मार्नु छ, स्याल मार्ने सामान बोकेर हिँडेको देखिन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङ्देन पनि सर्वपक्षीय संयन्त्र बनाएर अघि बढेमा प्रभावकारी हुन सक्ने बताउँछन् ।

स्थानीय तह र प्रदेश तहमा यस प्रकारको अभ्यास भइरहे पनि केन्द्रमा समेत यस्तो संयन्त्र बनेमा सरकारलाई आवश्यक सुझाव दिने, सहयोग उपलब्ध गराउने फोरम तयार हुन सक्ने उनको भनाइ थियो ।

‘सरकारी समिति छँदैछ, त्यसले सरकारका निर्णय कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘सर्वपक्षीय समिति बनाइएको अवस्थामा त्यसले आवश्यक निर्णय लिनका लागि सरकारलाई सिफारिस गर्ने हो, यो भनेको सरकारकै लागि सहयोगी हुन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप