शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा अहिलेसम्म ४० जनाको कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

शुक्रबार, २८ चैत २०७६, २२ : २२
शुक्रबार, २८ चैत २०७६

दाङ । दाङमा कोरोना भाइरसको आंशकामा स्वास्थ्य परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका २० जनाको रिपोर्ट नेगेटिभ आएको छ। गत मङ्गलबार ‘स्वाब’ संकलन गरी नमुना परीक्षणका लागि पठाइएकोमा रिपोर्टमा सबै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तथा कोभिड–१९ का फोकल पर्सन कमल चन्दले जानकारी दिए।

उनीहरुको रिपोर्ट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। आइसोलेसनमा रहेका २० जनामध्ये १० जना गौरीफन्टा नाका भएर आएका थिए। उक्त नाका भएर सँगै आएका कैलालीका एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

आइसोलेसनमा रहेका ६ जना दुबईबाट आएका थिए। त्यस्तै एक जना रुपैडिहा नाका, एक जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कार्यालय सहयोगी भर्ना भएका थिए। त्यसैगरी थप एक जना स्थानीय पनि भर्ना भएका थिए।

यसअघि २० जनाको नमुनो मध्य ८ जनाको रिपोर्ट बिहीबार नै आएको थियो। बाँकी १२ जनाको रिपोर्ट शुक्रबार आएको हो। योसँगै दाङबाट कोरोना जाँचका लागि पठाइएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो। यसअघि कोरोना अस्पतालबाट पठाएका १५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट पठाएका पाँच जनाको पनि नतिजा नेगेटिभ आएको थियो। जिल्लामा अहिलेसम्म ४० जनाको स्वाब परिक्षण गरिएको चन्दले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप