शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले फेरिएको सिकाइ : अब मोबाइलमै कक्षाकोठा !

आइतबार, ३० चैत २०७६, १८ : २१
आइतबार, ३० चैत २०७६

महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले लिएको बाध्यकारी ‘लकडाउन’को कदमले सबैको जीवन प्रभावित बनेको छ । यतिबेला सबैजना आ–आफ्नो घर वा डेराको चार दिवारभित्र सिमित बनेका छन् । रोगको चिन्ता त छँदैछ, अभिभावकहरुलाई अर्को चिन्ता पनि थपिएको छ । घरमा बसेर आफ्ना छोराछोरीले पढ्न नै बिर्सने पो हुन् कि ? लकडाउन लम्बिदै गर्दा उनीहरुको भविष्य के हुने हो ?

हुनतः यति बेला सामान्य समयमा पनि विद्यालयहरु बन्द नै हुने गर्थे । वैशाखको पहिलो हप्तादेखि मात्र नेपालमा नयाँ सेसनको शुरुवात हुन्छ । तर, अन्य समयमा छुट्टीको समयमा बालबालिकाहरुले सृजनशील काम गर्न पाउँथे । छुट्टीको सदुपयोग गर्दै मामाघर जाने, घुम्न जाने, चौरमा खेल्न जाने आदि क्रियाकलापहरु गर्न पाउँथै । तर, घरको कोठाभित्र सिमित बन्दा उनीहरु टेलिभिजन, मोबाइल र कम्प्युटरमा गेम खेल्न मात्र सिमित बनेका छन् ।

कक्षा ५ को परीक्षा सकेर कक्षा ६ मा भर्नाको प्रतिक्षामा रहेका अभिनव केसीका बुवा ओम केसीलाई पनि त्यही चिन्ताले हरेक दिन सताउँथ्यो । लकडाउन लम्बिरहे अभिनवको भविष्यमा धक्का लाग्ने त होइन भनेर उनलाई चिन्ताले सताइरहन्थ्यो ।

तर, भनिन्छ नि आवश्यकताले नै उपायहरु जन्मन्छन् । स्कूल जान नपाएर के भयो र अहिले अभिनव घर बसेर नै अध्ययनमा व्यस्त छन् । अनि बुवा ओम त्यो देखेर हर्षित । विद्यालयको सेसन सुरु हुनुभन्दा अघि नै अभिनव अध्ययनरत बृहसपति विद्या सदनले अनलाइन कक्षा सुरु गरेको छ । जसबाट अभिनवले घर बसेर नै शिक्षा हासिल गर्न सकिरहेका छन् ।

‘घरमा बस्दा बच्चाहरुले टिभी हेर्न र मोबाइल चलाउने मात्र गर्छन् । आमा बाबुले भनेको धेरै सुन्दैनन् । अनलाइन कक्षाले लकडाउनमा पनि बच्चाहरुलाई सिकाइको राम्रो माहौल बनाएको छ,’ ओम भन्छन् । निजी विद्यालयहरुलाई महँगो फिस मात्र लिने तर बच्चाको भविष्यमा खासै ध्यान नदिने आरोप लाग्ने गरेकोमा अहिले सञ्चालन गरिएको अनलाइन कक्षाले त्यो आरोपलाई मेट्ने काम गरेको पनि ओमले बताए । अन्य विद्यालयले पनि यस्तै प्रक्रिया अपनाए धेरै अभिभावकको चिन्ता मेटिने उनको भनाइ छ ।

यता, बौद्धकी देवयानी राज्यलक्ष्मी शाह पनि घरमै बसेर अनलाइन कक्षा पढ्न पाउँदा दंग देखिन्थिन् । प्रविधिको प्रयोगबाट घरबाट नै नयाँ कुरा सिक्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । भर्चुअल माध्यमबाट भए पनि साथीभाइहरुसँग भेट्न पाउँदा झनै दंग देखिन्थिन् ।

उता, मन्डिखाटारमा बृहस्पति विद्या सदनका प्रिन्सिपल कुमार थापा पनि आफ्नो ल्यापटप अगाडि बसेर विद्यार्थीहरुलाई पढाउन व्यस्त थिए । शिक्षा क्षेत्रमा पनि कोरोनाभाइरसको दुरगामै असर पर्ने आँकलन गरेर सेसन ब्रेक रहेको अवस्थामा भए पनि शिक्षकहरुलाई अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गर्नका लागि अभ्यस्त गराइरहेको उनले जानकारी दिए ।

‘विद्यार्थीहरुले पनि सिक्ने सिकाउने प्रणालीबाट बाहिर बस्न नपरोस् भनेर हामीले अहिलेदेखि नै अनलाइन कक्षा सञ्चालन गर्न थालेका हौँ,’ थापा भन्छन्, ‘प्रविधिको प्रयोग गरेर अझ बढी सिक्न सकून् भनेर हाम्रो प्रयास हो यो ।’ विद्यार्थीले स्कूलमा गएर, कक्षामा बसेर मात्र पढ्न सक्छन् भन्ने मान्यतालाई बदल्न पनि अहिले कक्षा गरिएको उनले जानकारी दिए ।

शुरुवातमा त यसरी कक्षा सञ्चालन गर्न शिक्षकहरुका लागि पनि कठिन थियो । किनभने यो आवश्यकताले जन्माएको नौलो विषय थियो । शिक्षकहरु स्वयम् पनि यसमा अभ्यस्त थिएनन् । लकडाउन शुरुवात भएसँगै पहिले शिक्षकहरुलाई यसबारे प्रशिक्षण दिइएको थियो । अहिले ‘जुम’ र ‘गुगल क्लासरुम’ मार्फत कक्षा सञ्चालन भइरहेको छ ।

‘हामी अहिले दिनको एउटा वा दुईवटा कक्षा मात्र सञ्चालन गरिरहेका छौँ । वैशाख ७ वा ८ पछि जब पूर्ण रुपमा सेसन सुरुवात हुन्छ, लकडाउनको स्थिति रहिरहे, दिनको अढाईदेखि तीन घण्टा कक्षाहरु सञ्चालन गर्ने योजना बनाएका छौँ । त्यसपछि प्राजेक्ट वर्कहरु दिने र विद्यार्थीहरुले सब्मिट गर्नुपर्ने तयारी गरिरहेका छौँ,’ थापाले रातोपाटीलाई बताए । उनले यसमा अभिभावकबाट पनि राम्रो सहयोग प्राप्त भइरहेको बताए ।

तर, प्रत्यक्षरुपमा विद्यार्थीहरु नहुँदा यसमा केही समस्या पनि आउन सक्ने उनी बताउँछन् । ‘आफै सिक्न चाहने, केही गरौँ भन्ने विद्यार्थीहरुका लागि यो फाइदाजनक हुने हामीले पाएका छौँ । तर, खाली हाजिरी हुनका लागि आउने विद्यार्थीहरुको हकमा भने समस्या हुनसक्छ किनभने हामी त्यहाँ प्रत्यक्षरुपमा हुँदैनौँ । स्क्रिन बन्द गरेपछि उनीहरुले के गर्छन् भन्ने हामीलाई थाहा हुँदैन,’ उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप