बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशः ‘कोरोनाविरुद्ध एक भएर लडौं’

सोमबार, ०१ वैशाख २०७७, १० : १४
सोमबार, ०१ वैशाख २०७७

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले एकीकृत रुपमा अगाडि बढ्दा कोरोना भाइरसलाई सजिलैसँग परास्त गर्न सकिने बताएका छन् ।

नयाँ वर्ष २०७७ को शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले भन्नेका छन्, ‘नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोटले कोरोनाविरुद्धको संघर्षमा एकीकृत रुपमा अघि बढाउन हामी सफल हुने विश्वास लिएको छु ।’

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको संघर्षमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन तीन सातादेखि मुलुक लकडाउनमा जारी रहेकाले लकडाउनभित्रै नयाँ उत्साह र उमङ्गका साथ घरमै बसेर नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।

‘सरकारले मुलुकलाई लकडाउनमा राख्ने निर्णय बेलैमा गरेकाले समुदायमा संक्रमण बढेको छैन । संक्रमित १२ जनामध्ये एक जनाबाहेक सबै बाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिएको छ’, मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशमा भनिएको छ, ‘कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ । यो महामारी विरुद्धको संघर्षमा देखिएको राजनैतिक समझदारीले काममा जुटिरहेकाको मनोबल बढाएको छ ।’

कोभिड १९ विरुद्धको संघर्षमा चिकित्सकसहितका स्वास्थ्यकर्मी नै अग्रमोर्चाका योद्धा रहेको भन्दै मुख्यमन्त्रीले उनीहरुको मिहिनेत र उच्च मनोबललाई आफूले उच्च सम्मान व्यक्त गरेको बताएका छन् ।

। ‘अहिलेसम्म हामी सुरक्षित छौं । तर, जोखिमबाट मुक्त छैनौं । कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छौं’, मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ, ‘कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा काम गर्न मेरो अध्यक्षतामा गठन भएको सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ ।’

कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको भन्दै मुख्यमन्त्री पोखरेलले रुपन्देहीको बुटवल र भैरहवा, दाङको बेलझुण्डी र बाँकेको खजुरामा आइसियुसहितको कोरोनाविशेष अस्पताल तयार गरेको बताएका  भैरहवामा छन् ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी कोरोनाभाइरसको परिक्षण गर्न थालिएको भन्दै पोखरेलले छिट्टै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने बताएका छन् ।

उच्च सतर्कता र सावधानीका कारण अहिलेसम्म प्रदेश ५ मा कोरोना संक्रमित बिरामी नभेटिएको भन्दै मुख्यमन्त्री पोखरेलले भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन चुस्त बनाइएको र प्रदेश ५ सँग सीमा जोडिएका प्रदेशसँगको सीमा नाकामा पनि कडाई गरिएको बताएका छन् ।

लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको प्रदेश सरकारले बुझेको भन्दै मुख्यमन्त्री पोखरेलले यो कठिन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था नआउने बताएका छन् । ‘स्थानीय तहले पहिलो चरणमा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको आवश्यक प्रबन्ध गर्ने व्यवस्था मिलाइएको छ । यो समय खेती स्याहार्ने र लगाउने समय हो । खेती स्याहार्ने र लगाउने काम सामाजिक दुरी कायम गरी गर्न सकिन्छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोष स्थापना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यो कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको बताएका छन् । ‘विभिन्न व्यक्ति र संस्थाले कोषमा योगदान गरिरहनु भएको छ । प्रदेश सरकारले कोषमा १० करोड जम्मा गरेको छ । म यो संकटको बेला कोषमा योगदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै कोषमा योगदानगर्न विभिन्न संघ संस्था, व्यवसायी, पेशाकर्मी र आमजनसमुदायमाहार्दिक अपील गर्दछु’, मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ । ‘नयाँवर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप