बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना उपचार निर्देशिका : कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पतालमा पठाउन नपाउने

सोमबार, ०१ वैशाख २०७७, १९ : ४२
सोमबार, ०१ वैशाख २०७७

कोभिड–१९ सँगै अन्य स्वास्थ्य सेवा कहाँबाट लिने भनेर सर्वसाधारण अन्योलमा परिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अन्तरिम निर्देशिका जारी गरेको छ । जनस्वास्थ्य सेवा ऐन ०७५ को दफा ६४ को अधिकारलाई प्रयोग गर्दै स्वास्थ्य मन्त्रालयले कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका बनाएको हो ।

कोभिड–१९ को महामारी देखाउदै केही निजी तथा सरकारी अस्पतालहरुले स्वास्थ्यमा सामान्य तथा गम्भीर समस्या देखापरेका बिरामीलाई लिन अस्वीकार गरेको अवस्थामा जनस्वास्थ्यमा परिरहेको नकारात्मक प्रभावलाई रोक्नका लागि अन्तरिम निर्देशिका ल्याएको हो ।

अब कुनै पनि अस्पतालले आफ्नो अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको लागि आएका बिरामीलाई कोभिड पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पतालमा पठाउन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । अस्पतालबाट बिरामीलाई  रिफर गर्न परेमा एचइओसीको स्वीकृति लिएर मात्रै प्रेषण गर्नुपर्नेछ ।

यस्तै कोभिड पोजिटिभ बिरामी भर्ना गरेको दिनदेखि मात्र तोकिएका अस्पतालहरु कोभिड अस्पतालको रुपमा परिणत हुने छन् ।  सरकारी तथा गरैरसकारी स्वास्थ्य संस्थाले अनावश्यक भीडलाई नियन्त्रणमा लिएर नियमितरुपमा सेवा सञ्चालन गर्न नीतिगत कार्यदिशमा निर्देशन दिइएको छ ।   कोभिड–१९ बाहेकका सबै स्वास्थ्य सेवा आकिस्मक तथा गम्भीर सेवा, अत्यावश्यक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवालाई  अस्पतालहरुले निरन्तरता दिनसमेत अन्तरिम निर्देशिका उल्लेख गरिएको छ ।

कोभिड–१९ को पहिचान र उपचार

कोभिड–१९ को पहिचान तथा उपचार व्यवस्थापनको लागि सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक अस्पतालले आवश्यक परामर्श दिने भएका छन् । आंशका गरिएका बिरामीलाई नजिकको कोभिड क्लिनिक वा तोकिएको कोभिड अस्पतालमा सम्भव भएसम्म एम्बुलेन्समार्फत् प¥याउन निर्देशिकामा भनिएको छ ।

यस्तै प्रादेशिक अस्पताल र कोभिड क्लिनिक सञ्चालन गर्ने सरकारी वा गैरसरकारी अस्पतालले आइसोलेशन, नमुना संकलन तथा प्रेषण गर्नुपर्ने हुन्छ । स्क्रीनिङ गरेका शंकास्पद बिरामीलाई आइसोलेशनमा राखेर उपचार गर्ने, नमुना संकलन गरी नजिकैको प्रयोगशालामा पठाउनुपर्ने उल्लेख गरिएको छ ।

लेबल १ कोभिड अस्पतालले सामान्य केश व्यवस्थापन आफै गर्नुपर्छ । यस्तै बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने उल्लेख गरिएको छ ।

लेबल २ कोभिड अस्पतालले भने मध्यम जटिल र अति जटिल केश व्यवस्थापन गर्नुपर्ने अन्तरिम निर्देशिकामा उल्लेख गरिएको छ । बाहिरबाट प्रेषण  भएर आएका र अस्पतालमै पहिचान भएका मध्यम र जटिल साथै अति जटिल केशहरु हाइडिपेन्डेन्सी  र आइसीयु केयर भएका तोकिएका कोभिड अस्पतालले उपचार गर्नुपर्छ ।

कोभिड–१९ को लागि जनशक्ति परिचालन

कोभिड–१९ को पहिचान नियन्त्रण तथा रोकथाम र उपचारको लागि स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी, जिल्लास्थित प्रादेशिक अस्पताहरुले हाल कार्यरत स्वास्थ्य जनशक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ ।

तोकिएका कोभिड अस्पतालहरुले दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र जनशक्तिको आवश्यक परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सममन्वय गरेर व्यवस्थापन गर्न अन्तरिम निर्देशिकामा उल्लेख गरिएको छ ।

यस्तै जनशक्ति नपुगभएको खण्डमा सरकारले छात्रवृत्तिमा स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सक, नर्स अन्य स्वस्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । सरकारले थप जनशक्तिको आवश्यकता परेको खण्डमा द्रुत प्रक्रियाबाट समेत परिचालन गर्ने भएको छ । यस समयमा स्वास्थ्य अभियान तथा क्याम्पहरु संचालन नगर्न समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा निकालिएको निर्देशिकामा उल्लेख गरिएको छ ।

कोभिड अस्पतालबाहेक निजी गैरसकरकारी, सामुदायिक, मेडिकल कलेज तथा प्रतिष्ठान अस्ततालहरुले कोभिड अस्पतालबाट आएका अन्य बिरामीको सःशुल्क उपचार गर्न  भनिएको छ  । सेवाग्राहीसँग शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको निर्देशनअनुसार स्वास्थ्य बिमाले सोधभर्ना गर्ने दररेट भन्दा बढी लिन नपाउने समेत उल्लेख गरिएको छ ।

मन्त्रालयले कोभिड क्लिनिक अस्पतालहरु १ सय ११ वटा सञ्चालन  गर्ने उल्लेख गरेको छ भने कोभिड अस्पताल लेवल १ को उपचार गर्नका लागि १३ वटा अस्पताल तोकेको छ । यस्तै लेवल २ अस्पताल १२ वटा तोकेको छ ।  लेवल ३ कोभिड अस्पताल ३ वटा गरी २८ वटा कोभिड अस्पताल तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप