बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन सम्बद्ध मजदूरको चिन्ता, पर्यटक नआए के खाने ?

सोमबार, ०१ वैशाख २०७७, २० : १५
सोमबार, ०१ वैशाख २०७७

विगत १० वर्षदेखि पथप्रर्दशकको काम गर्दै आउनुभएकी इन्द्रकला राई यतिबेला चिन्तित छन्, कोरोना सङ्क्रमणको विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा आएको उथलपुथलले अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता उनमा थपिएको छ ।

सोलुखम्बु मातेदूधकोशी गाउँपालिका–५ की राई विगत १० वर्षदेखि पोखरामा थ्री सिस्टर्स टे«किङबाट पथप्रदर्शकका रुपमा काम गर्दै आएका छन् । 

राई भन्छन्, “लकडाउन केही समयपछि जसोतसो खुल्ला तर तत्काल पर्यटक आउने सम्भावना देखिँदैन, विश्वभरि देखिएको कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा झनै धेरै प्रभाव पर्ने देखिन्छ, अबको विकल्प के होला सोचिराखेकी छु ।” 

पर्यटक आउने याममा काम गरेर त्यसैबाट जीविकोपार्जन गर्दै आएकामा अहिले यामको मुखमा कोभिड–१९ का कारण समस्यामा परेको उनको भनाइ छ । त्यस्तै विगत १३ वर्षदेखि पथप्रदर्शकका रुपमा काम गर्दै आउनुभएका विपिनराज सापकोटा पनि वर्तमान सङ्कटले पेशा नै धरापमा परेको बताउछन् । 

“हाम्रो पेशा प्रत्यक्ष पर्यटकसँग जोडिएको छ, पर्यटक आएनन् भने हाम्रो रोजीरोटी नै चल्दैन, अहिलेको अवस्थाले लामै समय पर्यटन क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ ।” 

सापकोटाले   विकल्प खोजिएन भने भोकै बस्नुपर्ने दिन आउन सक्ने बताए । उनले मासिक ७० देखि ८० हजार कमाउने र वर्षमा छ महिनामात्र सिजन हुने बताए । 

पोखरामा मात्रै करीब एक हजार हाराहारीमा पदयात्रा सम्बद्ध पर्यटक मजदूर सम्बद्ध संस्था युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले जानकारी दिए ।

“सिजन कुरेर बसेका पदयात्रा सम्बद्ध मजदूरहरु यतिबेला निकै चिन्तित अवस्थामा हुनुहन्छ , जनवरीबाटै कोरोनाको प्रभावले पर्यटक आउने क्रम घटिसकेको थियो । लकडाउनले ठ्याप्पै पा¥यो ।”

केसीले वैकल्पिक पेशा नखोज्ने हो भने, अब पर्यटन क्षेत्रमा कार्यरत मजदूर बाँच्न गाह्रो हुने बताए।  

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका सचिव जीवन सापकोटाले अहिले पर्यटन क्षेत्र सम्बद्ध मजदूरलाई मजदूर कल्याकारी कोषमा जम्मा भएको रकमबाट राहत दिनुपर्ने बताउछन् ।

“राज्यले लागू गरेका टिम्समा (ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिष्टम) नेपाल पर्यटन बोर्ड र टानबीच सम्झौता भएर मजदूर कल्याणकारी कोषका लागि १० प्रतिशत छुट्याएको छ, तर त्यसको आजसम्म हिसाबकिताब बोर्डले देखाएको छैन । अहिलेको कठिन अवस्थामा त्यो रकम पर्यटक मजदूरलाई प्रदान गर्नु उपयुक्त हुन्छ ।” 
    
उनले तालीम प्राप्त गाइड पोर्टरहरुले यदि विकल्प खोज्न थाले भने आउने दिनमा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति अभाव हुने बताए  । 

उनले लकडाउन खुलेपछि पर्यटक मजदूरलाई नयाँ–नयाँ गन्तव्य पहिचानका लागि प्रोत्साहित गरेर पर्यटन क्षेत्रमा थप सम्भावनाको खोजीका लागि केही समय उपयोग गर्न सके मजदूरको रोजीरोटी पनि चल्ने र कोषको रकम पनि सही सदुपयोग हुने  धारणा राखे । 

यसैगरी पोखरामा कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनले छाक टार्न समस्यामा परेका पदयात्रा पर्यटन सम्बद्ध मजदूरलाई  पोखरा महानगरपालिका–६ ले राहत वितरण गरेको छ । 

देशका विभिन्न जिल्लाबाट पोखरामा आएर  पथप्रर्दशक र भरियाका रुपमा कार्यरत मजदूरलाई राहत वितरण गरिएको युनिट्रापका अध्यक्ष विजय केसीले जानकारी दिनुभयो । उहाँले लकडाउनले सबै कुरा ठप्प भएकाले निकै कठिन अवस्थामा रहेका पर्यटन सम्बद्ध ८५ मजदूरलाई महानगरबाट आधा प्याकेजको राहत प्रदान गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप