बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना रोकथाम, सुरक्षा र सहयोगका लागि नेपाल रेडक्रसको आपतकालीन सेवा

मङ्गलबार, ०२ वैशाख २०७७, १४ : ०५
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सवै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् ।

देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट  ३  हजार ४ सय ८९ कम्मल, २ हजार २ सय तारपोलिन र टेन्ट, १ हजार १ सय ४२ बाल्टी र जग, ५ हजार १ सय साबुन, १ हजार ५ सय ३ वटा म्याट्रेस, २ सय ५३ तन्ना, १ हजार २ सय झुल, लगायतको सामग्री सहयोग उपलव्ध गराइएको छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरेको छ । 

नेपाल रेडक्रसका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भने, ‘नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसँग किटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । समस्याको सुरु हुने वित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाइयो । सोही अनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको छ ।’

१ लाख ४२ हजार युवा स्वयंसेवकहरु सक्रिय 

समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण,  एफ एम रेडियोमार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन्। 

अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् । यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

५ लाख अठारहजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ ।  अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९ सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरेको छ । 

भावी कार्यक्रमबारे नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भने, ‘क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको छ । सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुनेछन् ।’

रेडक्रसले स्रोतको उपलव्धता अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको बताएको छ । नेरेसोले निःशुल्क हटलाइन११३० सञ्चालन गरिएको छ जसमा लकडाउन पछि १७५ कलको सम्बोधन गरिएको छ । त्यस्तै मनोबैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ ।

विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन तर्फपनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको छ ।  कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेशनबाट प्रसारित भैसकेका छन् ।

युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयंसेवा समूहलाई सक्रिय बनाइएको रेडक्रसले बताएको छ र यो “NRCS Social Media Volunteers on COVID-19” मा ७५० वढी स्वयंसेवकहरु आवद्ध भैसकेका छन् ।

व्यक्तिगत सुरक्षाको प्रबन्ध

अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हव अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैवीच थप सजगता अपनाउन केन्द्रीय कार्यालयमा लगायत सवै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरेको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन् । ३४२ परिवारलाई सरसफाई किट उपलव्ध गराएको छ ।

देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्स चालकहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एकलाख एकसय मास्क र पन्जा वितरण गरिएको छ । जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दुर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई शुरक्षा सम्बन्धी दुर शिक्षाबाट जानकारी दिएको छ । काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सवै संस्थाका एम्बुलेन्सको conpartment नेरेसोको अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको छ ।

शव व्यवस्थापनमा सहयोग
नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराएको छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा  तथा नेपाली सेनालाई  ५० वटा व्याग दिएको छ । पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराएको छ ।

जिल्लाहरुको विशेष सहयोग
भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक एक लाख सहयोग उपलव्ध गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप