शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजारका पत्रु खानेकुराहरुभन्दा घरमै बनाइने खानाहरुले स्वस्थ रहन सकिन्छ

पोषणविद् डा. अरुणा उप्रेतीकाे ‘लकडाउन खाना’बारेका उपयोगी टिप्सहरु
बुधबार, ०३ वैशाख २०७७, १० : ३१
बुधबार, ०३ वैशाख २०७७

लकडाउनको कारण करिब ४ हप्तादेखि नेपाली जनता घरबाहिर निस्कन पाएका छैनन् । आफ्नै काममा व्यस्त भइरहँदा सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिनको लागि नेपालभर लकडाउनको घोषणा गरेको छ । यसले गर्दा अहिले सबैको दैनिकीमा परिर्वतन आएको छ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन घरमै बसेर सजगता अपनाइरहेका र परिश्रम गरी दैनिकी गुजार्ने सर्वसाधारणलाई महाविपत्ति आइलागेको छ ।

यस्तो परिस्थितिमा कस्ता खानेकुरा खाएर आफ्नो दैनिकीलाई सरल र सुरक्षित बनाउने ? शरीरमा भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमताको विकास कसरी गराउने ? जोहो गरी राखेको खाद्यान्न कम हुँदै गएको बेला घरमा भएको खाद्यान्नलाई कसरी सदुपयोग र स्वस्थकर बनाएर खाने ? आदि विषयमा पोषणविद् डा. अरुणा उप्रेतीसँग रातोपाटीले कुराकानी गरेको छ ।

डा. उप्रेतीका अनुसार लकडाउनको समयमा स्वादिष्ट खानाको नाममा धेरैले बजारका पत्रु खाना खाएको पाइन्छ ।  परम्परागत रूप खाँदै आएका खानेकुरा नै बजारका खानेकुराहरुभन्दा धेरै स्वास्थवर्द्धक खाना भएको डाक्टर उप्रेती बताउँछिन् ।

 बजारका पत्रु खानेकुरामा बानी परेका बालबच्चालाई लकडाउनको सदुपयोग गर्दै स्वास्थवर्द्धक खानेकुरा घरमा बनाएर खान बानी पारे भविष्यमा महत्त्वपूर्ण नतिजा आउने   डाक्टर उप्रेती बताउँछिन् ।

आउनुहोस् जानौं, घरमै उपलब्ध परम्परागत खानेकुराहरुबाट पनि कसरी स्वादका साथ साथै पोषण प्राप्त गर्न सकिन्छ, डा. उप्रेतीकै शब्दमा :

अहिले बाध्यतावश घरमै बस्नुपर्ने समय हो । अधिकांश मानिसहरुले शारीरिक तथा मानसिक रूपले सकृय भएर काम नगरेको अवस्था हो । तसर्थ यस समयमा स्वस्थकर खानेकुरा खान जरुरी हुन्छ । चिल्लो पदार्थ, कार्बोहाइड्रेट युक्त खानेकुरा कम खानुपर्छ तर यस्ता खानेकुरा खाँदै नखाने भने होइन । त्यसैले घरभित्र बसिरहँदा मिश्रणयुक्त खानेकुरा खान जरुरी छ । घरकै भान्सामा भएका निम्न खानेकुरा यसरी बनाएर खान सकिन्छ ।

गेडागुडी– गेडागुडी र दलहन प्रोटिनयुक्त खानेकुरा हुन् । करिब ८ घण्टासम्म गेडागुडीलाई पानीमा भिजाइसकेपछि पानी निथारेर राख्नुपर्छ । यसरी भिजाएका गेडागुडी गर्मीयाममा प्रायः दुई दिनमा उम्रिन्छन् । यसरी उम्रिएका गेडागुडीलाई पकाएर झोलिलो बनाएर सेवन गर्न सकिन्छ ।  भट्मासलाई पनि भिजाएर झोलको रूपमा पिउँदा अति उत्तम हुन्छ ।

मिश्रणयुक्त दाल– गेडागुडीबाट बनाइने मिश्रणयुक्त दलहनलाई झोल बनाएर पिएमा शरीरलाई निकै फाइदा गर्छ । भिटामिन तथा  प्रोटिनयुक्त गेडागुडी तथा मिश्रण दाल खाँदा पाचन प्रक्रियालाई बलियो बनाउँछ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा ज्वरो आउने, रुघाखोकी, झाडापखाला लाग्ने, आउँ पर्ने सम्भावना बढी हुन्छ । साथै यस्तो अवस्थामा विभिन्न रोगका किटाणुले सजिलै आक्रमण गर्छ । त्यसैले स्वास्थ्य रहनका लागि सन्तुलित र नियमित रूपमा टुसा उम्रिएका गेडागुडी र मिश्रण दलहन खानुपर्छ ।

दहीमोही– दहीमोही अनिवार्य सेवन गर्नुपर्छ । दहीमा पानी राखेर पिउनाले पाचन प्रक्रियालाई सहज तथा बलियो बनाउँछ । दही र चिउरा मुछेर पनि खान सकिन्छ । यस्तै मकैको च्याँख्ला, भुटेको मकै, भटमास, पानी राखेको दही तथा मोही खाँदा स्वास्थ्यका लागि अति राम्रो हुन्छ ।  यो ज्यादै स्वास्थवद्र्धक खाना हो ।

मासुको झोल– कुखुराको मासुमा पानी राखेर बनाइने झोल पौस्टिकयुक्त हुन्छ । यसको झोल भात, कोदो, मकै, गहुँ, फापरको ढिँडोसँग स्वादिष्ट बनाएर खान सकिन्छ ।

क्वाँटी– क्वाँटी बनाउनका लागि करिब ११ थरीका गेडागुडी मिश्रण गरेर भिजाइन्छ । ती गेडागुडी उमारेर झोल बनाएर खान सकिन्छ । त्यस्तै आलु, तामा र बोडी मिसाएर पकाउन सकिन्छ । विभिन्न प्रकारका तरकारी एकै ठाउँमा मिसाएर ‘जोगी तरकारी’ बनाएर खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । यसको झोल पिउन र चिउरा, भुजासँग पनि खान सकिन्छ ।

अण्डाकरी – अण्डाकरीलाई कडी बनाएर खान सकिन्छ । अण्डाकडीलाई दालको रूपमा प्रयोग गरेर खानासँगै खान सकिन्छ ।

फाँडो– कोदो र गहुँको पिठोमा साग तथा विभिन्न किसिमका हरियो तरकारी, टमाटर, गाँजर मिसाएर फाँडो बनाउन सकिन्छ । फाँडोलाई भात, रोटी, ढिँडोसँग खान सकिन्छ ।

जाउलो– सामान्यतः जाउलो बिरामीले खाने भन्ने गरिए पनि स्वस्थ्य रहनका लागि जसले पनि  खान सकिन्छ । जाउलो बनाउँदा चामल, मिश्रण दाल, हरियो तरकारी तथा सागसब्जी मिसाएर बनाउन सकिन्छ । 

ज्वानो, मेथीको झोल तथा जाउलो– ज्वानो, मेथीले गेडागुडी र दाल झानेर खान सकिन्छ । मेथीको गेडालाई भिजाएर त्यसको अचार साँधेर खान सकिन्छ । मेथी र ज्वानोलाई तरकारी, सागसब्जीमा फुराएर खान सकिन्छ । मेथी र ज्वानोको मात्रै झोल बनाएर खान पनि सकिन्छ । यसरी ज्वानो र मेथी खाएको खण्डमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । 

मस्यौरा र गुन्द्रुक–  विभिन्नथरीका गेडागुडीको  पिठो बनाएर पिँडालु, तरुल आदि मिसाएर मस्यौरा बनाइन्छ । मस्यौराको झोल बनाएर खाँदा पनि राम्रो हुन्छ । गुन्दु्रक र भट्मासमा मिसाएर झोलिलो बनाएर खाँदा झनै स्वस्थकर हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप