शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर दुईको मृत्यु

बुधबार, ०३ वैशाख २०७७, ११ : ४८
बुधबार, ०३ वैशाख २०७७

दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । 

घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

घटनामा अन्य पाँच जना घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको छ । यस्तै व्याँस गाउँपालिका–५  धौलाकोटमा चट्या लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ । 

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
 
सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप