बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरवार : कैदीहरूको निकुञ्ज

बिहीबार, ०४ वैशाख २०७७, २२ : २६
बिहीबार, ०४ वैशाख २०७७

 

यो जिन्दगीको भीरमा
किन फुल्दैनन्
मेरा खुसीका भीरफूलहरू
र त्यो पहाड जिस्क्याइरहन्छ मलाई ?
कहाँ बगेर जाँदो हो
पसिनाको यति ठुलो मर्स्याङ्दी नदी
र जीवनको डालीमा बसेर
काकाकुल बासिरहेछ - एउटा भोको समय ?
.........................

भन त च्याङ्बादाइ !
आफूभन्दा बूढो चस्मा लाएर
जिन्दगीको अक्कर
एक्लै हिँडिरहेको निरक्षर बटुवाले
दृष्टि-लम्बाइको परिधिभित्र जीवनको लक्ष्य देख्छ कि भ्रम ?
..........................

मेरो खर्पनले तौलिएर
वर्षौदेखि थुप्रिरहेको यो ओजन
फगत बालुवा हो कि - यही देशको सिमाहीन माया ?
लिहीमाथि पिटिइरहेको तातो फलाम
धम्मरधनको पीडा हो कि
यो देशको अनुहार मेटिएको राष्ट्रियता ?
हलगोरु नारेर
अहिलेसम्म मैले जोतिरहेको
गैह्रीखेत हो कि - यो देशको अनिश्चित भविश्य ?
र यो नाम्लोको वरियोमा भुण्डिएर
आत्महत्या गरिरहेको सपना
सपनाकै त्यान्द्रो हो कि - एडम स्मिथको अर्थशास्त्र ?
......................

भन त कटुवालदाइ !
पोखरीको हरियो पानीमाथि बसेर
शास्त्रीय सुत्रहरू
तमासले घोकिरहेको भ्यागुत्तोलाई
भौतिकशास्त्रको दर्शन पढ्न लगाइयो भने
उसले सिद्धान्तको सिर्जनशीलता बुझ्छ कि जडता ?
.....................

किन गरिदैछ बन्द - श्रमको ढोका
र खाडीमा उँट चराइरहेछन् - सपनासुन्य गोठालाहरू ?
कहाँबाट काटिदैछ - कुलेसो
र रित्तिरहेछ - मानवशास्त्रको गहिरो तलाऊ ?
कसरी छिर्दैछन् धमिराहरू
र बर्षेनी पैह्रो झरिरहेछ  - बजेटको अग्लो पहाडमा ?
कसले बनाउँदैछ
विचारको हँसिया यसरी भुत्ते
र फैँलिरहेछ वनमारा - यो राष्ट्रिय निकुञ्जभरि ?
.......................

भन त चुनु !
चिया पसलमा बसेर
क्रान्तिगीत गाइरहेको सुगा देखेपछि
समरको बारुद टकटक्याएर
भर्खरै गुँढ छिरेका
वनचरीहरूमा अपनत्व उर्लेर आउँछ कि घृणा ?
......................

अदालतको ढोकामा उभिएर
मृत्युको भीख मागिरहेको - बूढो कैदी हो कि यो देश ?
झण्डाको पछाडी लुकेर
यो रोगी अर्थतन्त्रको बिस्कुनमाथि
सदियौँदेखि,
यसरी फ्याउरी नचाइरहेको
नजिकको छिमेकी हो कि - सकुनीजस्तै सिंहदरवार ?
किन मेटिन्छन्
देख्न नभ्याउँदै हाम्रा सपनाहरू
र मरुभुमी ओर्लिन्छ
हरेकचोटि करोडौं मनका आँगनहरूमा ?
...................

भन त सान्कान्छी !
भाउन्ने बेथाले थलिएर
स्वाद गुमाएका रोगी थकाली बाले
नुन चटाइदिँदा - नुनिलो भन्छन् कि गुलियो ?
....................

मनको मुहान फुटेर
छातीको कुलेसो हुँदै बगिरहेको कालिगण्डकी
कुनै माफिया ठेकेदारको
झोलाको खोला हो कि - समाजशास्त्रको आँसु ?
सिङ्गो युग निदाएर
भर्खरै ब्युँझिएको अघोरीले
ज्ञानको आदिम स्रोत मै हूँ भनेझैँ
म दिवालिया खोरमा थुनिन चहान्न, हजुर !
......................

पँखेटा नभएको किवीचरीले
उड्ने सपना देखेझैँ
म जिन्दगीसँग ठट्टा गर्न जान्दिन, हजुर !
भन्नोस् न सरकार, भन्नोस्
मूल्यसुची टाँसिएको,
नेश्नल ट्रेडिङको बोर्ड कहाँनेर छ ?
म यो नागरिकता बिक्री गर्न चाहन्छु !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा