बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘बाँचे त हुँम्ला भेट, मरे के गर्ने ?’

शुक्रबार, ०५ वैशाख २०७७, १६ : ०७
शुक्रबार, ०५ वैशाख २०७७

स्याङ्जा । विश्व ‘कोभिड–१९’ (कोरोनाभाइरस)ले थलिएको छ । कोरोना संक्रमित तथ्याङ्कले झनै त्राही–त्राही बनाएको छ । युद्धको रणभूमिजस्तै बाँच्ने–मर्ने निधो छैन । ‘लकडाउन’ले दैनिकीलाई उकुसमुकुस बनाएको छ । धेरैले मनमा सोच्दा हुन्– ‘बाँचे त हुँम्ला भेट, मरे के गर्ने ?’

यो वाक्य ‘राम्दी पुल तर्ने’ लोकदोहोरी गीतको थेगोको हो । अहिले यो गीत निकै चर्चामा चुलिएको छ । गीतका टुक्काहरु काटेर बनाइएका भिडियो क्लिपहरु सामाजिक सञ्जाल ‘टिकटक’ मा भाइरल बनेका छन् । गीतका टुक्काहरुलाई सम्पादन÷काटेर बनाइएका भिडियोहरु अपलोड गर्ने प्रतिश्पर्धा नै चलेको छ, टिकटकमा । 

पुरुष ९ र महिला ९ गरी १८ वटा टुक्कामा बनेका लाखौँ भिडियो क्लिप अपलोड भएका छन् । पुरुषको टुक्काभन्दा महिलाले गाएका टुक्काका भिडियो बढी अपलोड भएका छन् । अपलोड भएका भिडियो क्लिपमा करोडौँ ‘लाइक’, लाखौँ शेयर र कमेण्ट आएका छन् ।

युट्युबमा करिब पौने दुई लाखले भिडियो हेरिसकेका छन् । युट्युबमा भन्दा ‘टिकटक’ मा अत्याधिक भाइरल बन्न सफल भएको छ । 

गीतलाई दोस्रो पटक लाइभ बाजामा गाइएको हो । करिब एक दशक पहिला दुई टुक्कामा मात्र गीत रेकर्ड भएको थियो । तत्कालीन अवस्थामा गायक नारायण रायमाझी र स्व. गायिका अमृता झेडीले गाएका थिए । तर, गीत छोटो भयो भन्ने प्रतिक्रिया आएपछि पुनः लाइभ रेकर्ड गरिएको हो ।

यसपाली गायक नारायण रायमाझी र गायिका कमला पोखरेलले स्वर भरेका छन् । जसमा पुरुष र महिलाले ९–९ वटा टुक्का गाएका छन् । 
गीतको कथा अर्थात् ‘फ्रेम’
‘लाईदेउ मेरो मायाको टुङ्गो, 
भयो जोवन पातभन्दा हलुको ।’ 

यो थेगोले स्पष्ट बोलेको छ । सर्जक रमेश बिजीले परदेशी प्रेमी र घरदेशी प्रेमिकाको कथालाई गीतमा उतारेका छन् । जोवन र जवानीको पिरलो र पीर प्रेमिकाले प्रेमीसँग व्यक्त गर्छन् । छुट्टीमा घर आएर परदेश फर्किन लाग्दा प्रेमिकाले बाटो छेक्दै, रुँदै कराउँदै आफ्नो माया, प्रेम र जोवनको टुङ्गो लगाउन अनुनयविनय गर्छिन् । 

परदेशी छुट्टीमा आउने, भेटघाट हुने, लान्छु भन्ने, जिस्कने तर चोखो मायालाई बेवास्ता गरेको गुनासो प्रेमिकाले गीतमा पोख्छिन् । आफ्नो जोवन आफुले सम्हालेर राखे पनि बिहे गरिदिन घरको र परको दबाब आएको कुराको पनि जानकारी गर्छिन् प्रेमिका । 
प्रेमीले भन्छन्–
‘यसपालि नि यस्तै भो सानी । 
मन त थियो लाहुरै लैजानी ।’

यो शब्दमा परदेशी प्रेमीको बाध्यता झल्किएको छ । माया–प्रेमलाई विवाहमा रुपान्तरण गरी लाहुर लैजाने कसलाई रहर हुदैन र ! भनिएको छ । परदेशी जीवन, बस्न, खान अनि कमाईको टुङ्गो नभएकाले विवाह गरी परदेश लैजान नसक्ने उनले प्रष्ट्याएका छन् । तर पुनः उनले बाचा गरेर परदेश गएका छन् । 

उनले भनेका छन्–
‘अर्को वर्ष जाँदैन खेर । 
बस्दिनौ र एक वर्ष काटेर ?’

यस्तै–यस्तै प्रश्न गर्दै, प्रेमिकालाई सम्झाउँदै प्रेमी फेरि परदेशिएका छन् । पटकौं–पटकको आग्रहलाई विभिन्न बहना र बाध्यताहरु देखाएर परदेशी प्रेमी लाहुर जान्छन् । 

गीत अनि भाइरलबारे के भन्छन् सर्जकहरु ?

गायक नारायण रायमाझी 
रमेशको सिर्जनामा मौलिकवाद पाइन्छ । यथार्थवादी सर्जक उनको अर्को परिचय हो । पहिलो रेकर्डमा थोरैमात्र शब्द भरे । दर्शक र स्रोताहरुको अत्याधिक रुपमा माग बढ्यो । तर, यो नै अन्तिम होइन । बाजागाजासहित धित मर्नेगरी पुनः तेस्रो पटक रेकर्ड गर्ने हो । 

शब्दहरुले न्याय पाएको छैन । रमेशको मेहनतको मूल्याङ्कन, कदर र सम्मान पनि भएको छैन । पहिला अलि–अलि रस पसेको थियो । अमृता बहिनीको अचानक, अकल्पनीय देवहासन भयो । उनको सम्मानमा पनि पुनः गीत रेकर्ड गरेको हो ।

गीतमा घरको भोगाइ छ । समाजको यथार्थ चित्र उतारेको छ । परदेशीको कथा–ब्यथालाई गहिरो अध्ययनका साथ लेखेको छ । जे आँखाले देख्यो, सिर्जनामा पनि त्यही कोरेको छ । लाहुरेको कथामात्रै होइन, लाहुर गएका सबैको कथा गीतमा उतारेका कारण ‘टिकटक’ लगायत सबैतिर चर्चामा छ ।

‘टिकटक’ को चर्चाले रमेशको सिर्जनालाई केही न्याय र स्व. अमृता बहिनीलाई सम्मान भएको महसुस गरेको छु । दर्शक तथा स्रोताहरुले हाम्रो मेहनतलाई माया गरेको ठान्छु । गीत भाइरल हुनु भनेको हामीलाई नै चुनौती हो । नयाँ–नयाँ गीत–संगीत सिर्जना गर्नका लागि वहाँहरुको माग ठान्छु । कसरी वहाँले गरेको माया, सम्मान, हौसला अनि प्रेरणालाई बचाइराख्न चिन्तित छु । 

सर्जक रमेश बिजी 
गीतको कथामा डुब्ने दर्शक र स्रोताका लागि गीत कोशेढुङ्गा सवित भएको छ । लोकगीत र लोकदोहोरीको कथामा जब दर्शक÷स्रोता डुब्छन्, गीत सकिएको हुन्छ । यसभन्दा पहिला ‘जोवनकर्जा’ मा पनि ल्याएका थियौं । त्यसले चर्चा शिखर चुमेको थियो । 

कतिपय सिर्जनाहरु हराउनु भन्दा पुन  रेकर्ड गरेर कालजयी बनाउनु उपयुक्त हुन्छ । यो गीतलाई पनि त्यही गरेका हौँ । ‘टिकटक’, ‘युट्युब’लगायत सामाजिक सञ्जालमा गीतको जुन वाह–वाही छ, लोकदोहोरीको भविष्य र माया गर्ने प्रशस्तै छन् भन्ने एउटा ज्वलन्त उदारहण हो । कोरोना संक्रमणको बेला जिन्दगीको टुङ्गो नभएको र गीतका टुक्काहरुले पनि त्यही बोलेको हुनाले गीत भाइरल बनेको हो । 

गायिका कमला पोखरेल 
नारायण रायमाझी सर जस्ता मानिसहरु लोकदोहोरीको वाङ्मयमा विरलै भेटिन्छन् । नारायण रायमाझी र रमेश बिजी सरसँग काम गर्न पाउनु सौभाग्य हो । मैले आफुलाई बिल्कुलै भाग्यमानी ठानेकी छु । नारायण सरसँगको भेटले मलाई ‘कमलको फूल’बाट कमला बनाइदिनु भएको छ । सरसँग गाइएको गीतहरुलाई दर्शकले अत्याधिक मन पराइदिनु भएको छ । 

‘राम्दी पुल तर्ने’ गीत ‘टिकटक’ मा अत्याधिक भाइरल बनेको छ । यस्तो सोचेकी पनि थिइनँ । अहिले परिस्थितिले पनि होला । गीतले मलाई धेरै जिम्मेवारी दिएको अनुभव गरेकी छु । म भर्खर–भर्खर यो क्षेत्रमा लागेकी हुँ । लोकदोहोरीको क्षेत्रमा धेरै सिक्न छ । गीत भाइरल हुँदैमा खुसीले गदगद र मात्तिने छुईन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन गुरुङ
मोहन गुरुङ
लेखकबाट थप