मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच विद्यालयलाई सेवा दलको अनुमति

शनिबार, १७ भदौ २०७४, ०९ : ४३
शनिबार, १७ भदौ २०७४

झापा - यहाँका पाँच सामुदायिक तथा निजी विद्यालयले राष्ट्रिय सेवा दलको अनुमति पाएपछि कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई तालीम दिन थालेका छन् । 

काँकडभिट्टा मावि, बलभद्र जनता मावि, लिटल फ्लावर्स बोर्डिङ स्कुल, वीरेन्द्र नमूना मावि र शहीद धर्मभक्त मावि केर्खाले अनुमति पाएपछि ७९ दिने तालीम सञ्चालन गर्न लागिएको हो । 

नेपाल सरकारको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष विद्यार्थीको व्यक्तित्व विकास गराउँदै युवामा नेतृत्व विकास गराउने लक्ष्यका साथ तालीम आयोजना गरिँदै आएको छ जसमा शिक्षा मन्त्रालयले विद्यालयसँग सहकार्य गर्ने गरेको छ भने रक्षा मन्त्रालयको मातहतमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । 

गत साउन २२ गतेदेखि अनुमति पाएका विद्यालयमा औपचारिक रुपमा शुरु गरिएको तालीममा प्रत्येक विद्यालयका कक्षा ८ र ९ का १८– १८ छात्रा सहभागी छन् । तालीममा प्राविधिक सहयोग कालीबहादुर गण चारआलीबाट प्राप्त भएको छ । 

तालीमबाट विद्यार्थीलाई अनुशासन, राष्ट्रिय एकताको भावनाको जागृति तथा सामाजिक क्षेत्रमा काम गर्न सक्ने सक्षम नागरिक निर्माण गर्न सकिने काँकडभिट्टा माविका प्रअ तुलसीप्रसाद निरौलाले बताए । 

तालीम लिएपछि उनीहरुलाई २१ दिनका लागि शिविरमा सहभागी गराइने प्रशिक्षक श्याम कर्माचार्यले बताए । 

शिविरमा हरेक जिल्लाका विद्यार्थीले नृत्य, गायन, कवाज, पिटी, दौडलगायतमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी देशभरबाट उत्कृष्ट हुने विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप