केन्द्रीय संस्करण

त्यसपछि उनले श्रीमान्को नम्बर डिलिट गरिन्...

person explore access_timeबैशाख ७, २०७७ chat_bubble_outline0

‘काममा जान पाए दुई चार पैसा आउथ्यो । बिहान–बेलुका छाक टार्ने जोहो भै हाल्थ्यो ।’ लकडाउन बढ्दै गएपछि अहिले प्रेमला बुढा मगरलाई बिहान–बेलुकाको छाक कसरी टार्ने पीर पर्न थालेको छ । अरु बेला झिसमिसेमै काममा निस्किने प्रेमला देश लकडाउन भएपछि घरभित्रै सिमित छिन् । यसको मार उनको पूरै परिवारलाई परेको छ ।

पोखरा महानगरपालिका–१२ शितलादेवि नहर छेवैको छाप्रोमा पुग्दा प्रेमला युट्युब हेर्दै व्यस्त थिइन् । लकडाउनले काम धन्दा बन्द भएपछि अहिले यो नै उनको दैनिकीको हिस्सा बनेको छ ।

रोल्पाको जेलवाङ छोडेर प्रेमला पोखरा आएको पनि अहिले १५ वर्ष भइसक्यो । यो अवधिमा उनी जम्माजम्मी एकचोटी मात्रै रोल्पा गएकी छिन् । जाने मन भए पनि जान पाउँदिनन् । ‘जान मन लागेर के गर्ने ? घर जाँदा आउँदा पैसा धेरै खर्च हुन्छ,’ प्रेमला दुखेसो पोखिन्, ‘त्यो पैसाले त यहाँ छोराछोरीलाई खुवाउन पुग्छ ।’

०००

प्रेमलाले जन्मे, हुर्केको गाउँ त्यसै छाडेकी होइनन् । श्रीमानले काखका लालाबाला छोडेर अर्की श्रीमति च्यापेर सहर हिँडे । गाउँमा उनको आड– भरोसै हरायो । जसको लागि भनेर जन्म दिने बा–आमा छोडेर आएकी थिइन्, ऊ नै नभएपछि त्यो घरमा बस्नुको के अर्थ ? कान्छी श्रीमति लिएर श्रीमान् पोखरा पुगेका छन् भन्ने थाहा पाएपछि उनी पनि पोखरा हानिइन् ।

पोखरा त आइन् । तर, श्रीमान्ले के हेर्थे ? जेठीभन्दा कान्छिकै माया बढी हुने भयो । ‘म बुढी भएर होला । तुरुनी खोज्दै हिँडेको,’ उनले भनिन् ।

श्रीमान्लाई फर्काउँछु भनेर रोल्पादेखि पोखरासम्म त आइन् । तर, श्रीमान्ले उल्टै रोल्पा जानेभन्दा बरु मर्ने धम्की पो दिए । बरु, यतै ज्यामी काम गरौँ, सँगै बसौँ, छोराछोरीलाई यतै पढाउँला भनेर फकाउन थाले । जे भए पनि काखमा अढाई वर्षकी छोरी च्यापेर आएकी प्रेमलाको आड भरोसा भनेको उनै थिए । उनले भनेको नमानेर पनि धरै थिएन । श्रीमान्ले भने अनुसार नै पोखराम बस्न राजी भइन् । सहरमा बस्ने भएपछि छाक टार्ने जोहो त गर्नै प¥यो । उनी ज्यामी काममा लागिन् ।

०००

सँगै बसौँला, दुःख–सुख बाँडौला भन्ने श्रीमान् फेरि तर्केर हिन्न थाले । केही वर्ष सँगै बसे पनि अहिले उनको अत्तोपत्तो नै छैन । ‘अहिले त कता गयो खै, म¥यो कि जिउँदै छ ?’ आक्रोशसहित उनी भन्छिन् । बेलाबेलामा छोराछोरीलाई त फोन गर्छन् रे उनका श्रीमान् । तर, उनले फोन ग¥यो भने वास्तै नै नगर्ने । ‘केही दिनअघि ४–४ चोटी फोन गरेको उठाएन्, नम्बर–सम्बर डिलिट गर्दिएँ,’ उनले भनिन् ।

रोल्पादेखि पोखरा झर्दा नेपाली भाषा बोल्न पनि जानेकी थिइनन् उनले । पोखरा आएपछि त उनलाई सामान्य कुराकानी गर्न पनि गाह्रो थियो । उनले बोलेको अरुले नबुझ्ने, उनले बुझे पनि उत्तर फर्काउन नसक्ने ।

उनका एक छोरा र दुई छोरी छन् । कान्छी छोरी, एसइई दिने तयारी गर्दै छिन् । छोरा प्लस टु पढ्दा पढ्दै छोडेर उनकै काममा सघाउन थालेको छ ।   तर, लकडाउन थपिँदै जान थालेपछि उनको चिन्ता बढ्दै छ । जम्मा गरेर राखेको अलिअलि पैसा पनि अहिले त सकिन थालेको छ । छिमेकमा सानोतिनो काम गरेर तरकारी खाने पैसाको जोहो त मिलि रहेको छ । तर, लकडाउन लम्बिदै गए के खाने ? उनलाई यहीँ चिन्ताले पिरोल्छ ।

काममा जान पाए दिनको ६ सय ५० रुपैयाँ आम्दानी हुन्छ । काममा नगए त त्यो पनि आउँदैन । अन्तिममा हामीले सोध्यौ, काम छैन भनेर सबै जना हिँडेरै भए पनि घर गइरहेका छन् । तपाईंलाई जाने मन छैन ?

जवाफमा उनले भनिन्, ‘घर गएर के गर्ने हो ? घर गयो भने त स्कुलमा थुनेर राख्ने भन्छ । स्कुलमा थनेर राख्यो भने के गर्ने ?’

यता, दैनिक ज्यालादारी गरेर छाँक टार्ने परिवारको लागि पोखरा महानगरले राहतका कार्यक्रम ल्याएको छ । केही समयअघि २५ केजी चामल र केही खाद्यान्न सामग्री महानगरले राहतमा बाँडेको थियो । त्यो राहतको सामग्रीले पनि केही सहज भएको उनले बताइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.